२० वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान हर्सेल गिब्सले कोरोना भाइरस (कोभिड १९) संक्रमण विरुद्धको अभियानमा सहयोग गर्नका लागि आफ्नो लक्की ब्याट लिलामीमा राखेका छन् ।
ओडीआईमा इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पछ्याउँदै जीत हात पारेको खेलमा प्रयोग गरेको ब्याट गिब्सले लिलामीमा राखेका हुन् । गिब्सले ट्वीटरमारफत ब्याट लिलामी गर्न लागेको जानकारी गराएका हुन् । ‘त्यो खेलमा प्रयोग भएको ब्याट कोभिड १९ विरुद्धको लड्न फण्ड उठाउनको लागि अक्सनमा राख्दै छु। मैले अहिलेसम्म त्यो ब्याट राखेको थिएँ ।’
सन् २००६ मा जोहानेसवर्गमा भएको अष्ट्रेलिया विरुद्धको पाँच खेलको सिरिजको अन्तिम खेलमा गिब्सले १७५ रन बनाएपछि दक्षिण अफ्रिका १ विकेटले विजयी भएको थियो ।
अष्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १ बल मात्र बाँकी हुँदा ९ विकेट गुमाएर ४३८ रन बनाउँदै खेल जितेको थियो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै कप्तान रिक्की पोन्टिङको १६४ रन सहयोगमा ४ विकेटको गुमाएर ४३४ रन बनाएको थियो।
गिब्सले १११ बलमा २७ चौका र ७ छक्काको सहयोगमा १७५ रन बनाएका थिए । गिब्सले दोस्रो विकेटका लागि कप्तान ग्रीम स्मिथसँग १८७ रनको साझेदारी गरेका थिए भने एबीडे भिलियर्ससँग मिलेर तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । खेलमा गिब्स र पोन्टिङ दुवै म्यान अफ दि म्याच बनेका थिए ।
प्रतिक्रिया 4