Comments Add Comment

कोरोना रोकथाममा सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो

२० वैशाख, काठमाडौं । नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ ।

सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भुटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा कोरोना सङ्क्रमणका कारणले मानिसको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैगरी पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोभिड– १९ ले मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सार्क राष्ट्रमा कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपाल रहेको बताए ।

कोरोनाका कारणले एक जनाको मृत्यु भए पनि माल्दिभ्समा परीक्षणको दायरा बढी छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ । यस्तै भूटानमा प्रति १० लाखमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा गरिएको छ ।

‘जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा रहेको छ’, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, ‘तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।’

नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा परीक्षण गरिएको छ ।

दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालमा गत माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।

अहिले नेपालमा १६ स्थानमा पीसीआर मेसिन मार्फत कोरोना परीक्षण गरिएको छ भने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ७७ वटै जिल्लामा परीक्षण गरिएको छ । नेपालमा पीसीआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ ।

कोरोना भाइरसका कारण विश्वमा अहिले ३२ लाख ३३ हजार १९९ व्यक्ति सङ्क्रमित भएका छन् भने दुई लाख २७ हजार ४८९ जनाको मृत्यु भएको छ ।  सहप्रवक्ता डा अधिकारीले परीक्षणको दायरा बढाउन पीसीआर मेसिन अझै दुई/तीन ठाउँमा जोडिन थालिएको बताए ।

नेपालमा काठमाडौँ, धादिङ, उदयपुर, झापा, बारा, पर्सा, सर्लाही, रौतहट, रुपन्देही, चितवन, बागलुङ, कैलाली, कञ्चनपुर, बाँके र भोजपुर गरी १५ जिल्लामा ५९ जनामा कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।

तीमध्ये अहिले विराटनगरमा ३१, वीरगञ्जमा आठ, चितवनमा एक, धनगढी एक, नेपालगञ्जमा एक र रुपन्देहीमा एक जनाको उपचार भइरहेको छ । अहिले वागमती, गण्डकी र कर्णाली प्रदेशमा कोभिड– १९ का सक्रिय बिरामी रहेका छैनन् ।

यहाँ ८१ वर्षीया र ६५ वर्षीया महिला कोभिड– १९ को सङ्क्रमणबाट पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका छन् । मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा खेम कार्कीले सरकारको सक्रियताका कारणले कोभिड– १९ रोकथाम गर्न सकिएको बताए ।

उनले नेपालमा जटिल बिरामी नदेखिनु, कम्युनिटी ट्रान्समिसन हुन नदिनु र समयमा नै उपचारको व्यवस्था गर्नाका कारणले सार्कका अन्य देशको तुलनामा कोभिड– १९ नियन्त्रण गर्न राम्रो भूमिका निभाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment