Comments Add Comment

कोरोना संकटमा कसरी अर्बपति बने एरिक युआन ?

२० वैशाख, काठमाडौं । केही साता अगाडिसम्म यो नाम धेरै कमले सुनेका थिए । हुनसक्छ, अहिले पनि कतिपयले सुनेका छैनन् ।

तर, लकडाउनको समयमा तपाईंको धेरै मानिससँग उनकै कारण कुराकानी भएको हुनसक्छ । यही भिडियो कन्फ्रेन्सिङ कम्पनी ‘जुम’का संस्थापक एरिक युआन पहिलो पटक अमेरिकी म्यागजिन फोब्र्सको अर्बपतिको सूचीमा पर्न सफल भएका छन् ।

फोर्बसका अनुसार चीनको शानडोङ प्रान्तका युआनको सम्पत्ति ७.८ अर्ब डलर रहेको अनुमान गरिएको छ ।

चीनमा इन्जिनियरिङको अध्ययन गरेका उनले चार वर्ष जापानमा जागिर खाएका थिए । त्यसपछि उनी अमेरिका जान चाहे ।

१९९० को दशकमा उनी क्यालिफोर्नियामा टेक्नोलोजी कम्पनीमा संलग्न हुन चाहन्थे । तर, अमेरिकामा बस्न र काम गर्ने अनुमति पाउनुअघि उनको आठ पटक भिसा एप्लिकेसन रद्ध भएको थियो । उनी १९९७ मा २७ वर्षको उमेरमा अमेरिकाको सिलिकन भ्याली पुगे । त्यहीँ टेक्नोलोजी कम्पनी ‘वेबएक्स’मा प्रोग्रामरका रुपमा उनको यात्रा सुरु भयो ।

दशकपछि वेबएक्सलाई अर्को ठूलो कम्पनी ‘सिस्को सिस्टम्स’ले किन्यो । त्यहाँ युआन इन्जिनियरिङ डिपार्टमेन्टको प्रमुख भए ।

सन् २०११ मा उनले सिस्कोका अधिकारीहरूलाई भिडियो कन्फ्रेन्सिङ एप बनाउने आइडिया दिए । जसमा डेस्कटप र ट्याबलेटबाट मात्र होइन, मोबाइल फोनबाट पनि एक्सेस गर्न सकियोस् ।

‘मिडियम’लाई दिएको एक अन्तर्वार्तामा एरिकले भनेका छन्, ‘जब पहिलो पटक जुमको कल्पना गरेँ, त्यसबेला म चीनमा एक विश्वविद्यालयको विद्यार्थी थिएँ । प्रेमिकालाई भेट्न मलाई दश घण्टाको ट्रेन यात्रा गर्नुपर्ने थियो । उनी अहिले मेरी पत्नी हुन् ।’

‘मलाई यस्तो यात्रा गर्न मन थिएन । म सोच्थे कि कुनै यस्तो तरिका होस्, जसको माध्यमबाट विनायात्रा गलफ्रेण्डलाई भेट्न सकुँ । यो त्यही सपना थियो, जसलाई जुम बन्यो ।’

तर, प्रोजेक्टका लागि पैसा जुटाउन सहज थिएन । सिस्को छाडेपछि लगानीकर्ता खोज्नतिर लागे । धेरैले अब यो व्यवसायमा नयाँ खेलाडीलाई स्थान नभएको जवाफ दिए ।

फाइनान्सियल टाइम्सका अनुसार एरिकले आफ्नो साथी र परिवारका सदस्यहरूसँग पैसा मागे । ‘यदि तपाईंले कुनै विजनेस सुरु गर्दै हुनुहुन्छ भने यसका लागि टाइमिङ महत्वपूर्ण हुन्छ । स्मार्टफोन र क्लाउड स्टोरेज कम्पनीको विस्तारले जुमजस्ता प्रोजेक्टका लागि अनुकूल परिस्थिति बनाएका थिए’ उनले फाइनान्सियल टाइम्सलाई भनेका छन् ।

उनका अनुसार सो काममा उनकी पत्नी पनि विश्वस्त थिइन्न । तर, आफूले यो लामो र कठिन यात्रा भएको बुझेको र त्यतिबेला कोसिस नगरेकोमा अहिले पश्चाताप हुने कुरा श्रीमतीलाई उद्धृत गर्दै एरिकले सुनाए ।

गत वर्ष अप्रिलमा अमेरिकी सेयर कारोबारमा सूचीकृत हुनुअघिसम्म पनि जुमको कारोबार खासै बढेको थिएन । सेयर कारोबारमा सूचीकृत भएपछि क्लाउड सफ्टवेयर समूहमा जुम सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीमध्ये एक बन्यो । सेप्टेम्बरमा जब यो समूह संकटमा थियो, त्यसबेला जुमको अवस्था राम्रै थियो । डिसेम्बरसम्म पनि अवस्था सबै सामान्य थियो ।

त्यसपछि भने घटनाक्रमले अप्रत्यासित रुप लियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी देखियो । विश्वको वित्तीय बजार डुबिरहेको थियो, जुमको सेयर १४ प्रतिशतसम्म बढिरह्यो । डिसेम्बरमा जुममा दैनिक एक करोड प्रयोगकर्ता आए । मार्चसम्म यो संख्या बढेर २० करोड पुग्यो । अप्रिलमा बढेर ३० करोड भएको छ ।

बजारको अनुमान छ कि पछिल्लो तीन महिनामा युरिक युआनको सम्पत्ति ४ अर्ब डलर बढेको छ । किनकि विश्वका अधिकांश देश लकडाउनमा छ र मानिसहरूलाई एकअर्काबीच कुराकानी गर्न एउटा प्लेटफार्म चाहिएको थियो ।

हुन त बिजनेश मिटिङ वा कुराकानीका लागि माइक्रोसफ्ट स्काइप र गुगल ह्याङआउट जस्ता प्लेटफार्म पनि बजारमा थिए । तर, यो सबै हुँदाहुँदै जुमको बोलवाला रह्यो ।

एसिक युआनले यो कसरी सम्भव बनाए ? प्रविधि क्षेत्रका जानकारहरूका अनुसार जुमको सफलताको पछाडि सबैभन्दा मुख्य कारण प्रयोग गर्न सजिलो हुनु नै हो । यसमा युजर रजिस्टर गर्न पर्दैन । एक कल कन्फ्रेन्समा ४० मिनेटसम्म १०० जनासम्म जोडिन सक्छन् र यो निःशुल्क छ । यद्यपि यसको डेटा सुरक्षा र प्राइभेसीबारे प्रश्न उठिरहेको छ ।

स्रोत : बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment