Comments Add Comment

‘अनलाइन शिक्षाको पूर्वाधार विकासमा जोड देऊ’

२१ वैशाख, काठमाडौं । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कोरोना भाइरस संक्रमणको बेला नेपालको शिक्षामा कम्प्युटर शिक्षकको भूमिकाबारे अन्तरक्रिया आयोजना गरेको छ ।

अन्तर्क्रियामा सहभागीले अनलाइन शिक्षा अपिरहार्य भएको भन्दै सबैको पहुँचमा पुर्‍याउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

अनलाइन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं विपद विज्ञ डा. गंगालाल तुलाधरले विपदको यस घडीमा शैक्षिक गतिविधिहरु सन्चालन गर्न गाह्रो हुने भए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरी अघि बढ्नुपर्ने बताए । त्यसको कार्यान्वयन तथा पूर्वाधार बिकासको लागि कम्प्युटर प्राध्यापकहरु तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले डिजिटल लर्निङ नै अबको विकल्प भएको र त्यसको सफल कार्यान्वयनको लागि कम्प्युटर प्राध्यापकहरु तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गरे । अनलाइन शिक्षा बन्द नै गर्ने पोखरा महानगरपालिकाको कदम गलत भएको भन्दै थापाले आवश्यक पूर्वाधार विकास गरी ई-लर्निङलाई सबैको पँहुचमा पुर्याउनुपर्ने बताए ।

नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले खुल्ला विश्वविद्यालयमा भैरहेको अभ्यासबारे जानकारी दिँदै ई-लर्निङको सफल कार्यान्वयनका लागि यो अनुभव प्रस्थानविन्दु हुने बताए ।

वरिष्ठ शिक्षाविद एवं काठमाडौं विश्वविद्यालयका पूर्व डिन प्रा. डा. मनप्रसाद वाग्लेले तयारी नपुगेकाले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काइसौं शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने बताए ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ् अध्ययन संस्थानका प्रा. डा. सुवर्ण शाक्यले ई-लर्निङको कुरा सन् २००६ देखि नै उठे पनि सफल कार्यान्वयन नभएको चर्चा गर्दै शिक्षा मात्र नभएर राज्यले प्रदान गर्ने सम्पूर्ण सेवाहरु अनलाइनमैत्री हुनुपर्ने बताए । अब पनि संबेदनशील भएर पूर्वाधार विकासमा नलाग्ने हो भने भविष्यमा अझ ठूलो समस्या आउन सक्ने उनले बताए ।

अन्तरक्रियामा वरिष्ठ जनस्वास्थ्यविद एवं युनिभर्सिटी अफ हदर्सफिल्ड, बेलायतका प्रा. डा. पदम सिम्खडाले आवश्यक पूर्वाधार भएकाले नै बेलायतमा विद्यालय र विश्वविद्यालयमा शैक्षिक गतिविधि जारी रहेको सुनाउँदै नेपालमा पूर्वाधार छैन, डिजिटल डिभाइड छ भनेर चुप लागेर बस्न नहुने बताए ।

डेजी स्कूल पर्सा, चितवनका प्राचार्य प्रेमराज रिमालले नेपालको सामाजिक-आर्थिक अवस्थाको चर्चा गर्दै सूचना प्रविधि शिक्षालाई राहतको भरमा आधा पेट खाएर जीवन जिइरहेका निम्न वर्गीय परिवारसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment