Comments Add Comment

कोरोनामुक्त युवक पुनः अस्वस्थ, उपचार गर्न वीरगञ्ज ल्याइयो

२१ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।

नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।

यो पनि पढ्नुहोस थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

स्वास्थ्यमा मस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए ।

बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।

युवकले आफूलाई अचानक अस्पतालबाट टोली गएर वीरगञ्ज ल्याएको बताए । ‘पहिला घर पठाए अहिले अचानक घरमा आएर सम्झाएर ल्याए, किन अस्पताल ल्याइएको हो केही बुझिरहेको छैन,’ उनले भने ।

कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण आफूमा नदेखिएको तर पनि डेढ महिनादेखि दुःख पाइरहेको उनको भनाइ छ । ‘कोरोना संक्रमितलाई ज्वरो आउँछ, स्वास प्रश्वासमा समस्या आउँछ भन्छन्,’ उनले भने, ‘तर मलाई डेढ महिनादेखि न खोकी छ, न सर्दी ज्वरो छ ।’

ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment