Comments Add Comment

कोरोना भाइरसको फ्लुसँगको तुलना किन गलत छ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि विश्वका धेरै ठाउँमा लकडाउन वा अन्य सामाजिक प्रतिबन्धको घोषणा गरिएको छ । स्वास्थ्य विशेषज्ञहरू कोरोना भाइरस नियन्त्रणको लागि सामाजिक प्रतिबन्ध लगाउनुपर्ने पक्षमा छन् । तर, केहीले भने यसको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।

सामान्य फ्लुका कारण ज्यान जानेको संख्या कोरोनाको भन्दा धेरै छ भने लकडाउन र सामाजिक प्रतिबन्ध केका लागि ? भन्ने तर्क पनि आलोचकहरूबाट आउने गरेको छ ।

उनीहरू कोरोना भाइरसको विषयलाई बढाइचढाइ गरेको आरोप लगाउँछन् । यसरी सामाजिक प्रतिबन्ध लगाउँदा अर्थतन्त्रलाई बोझ मात्र पर्ने उनीहरूको तर्क छ ।

अझ अमेरिकामा त झन् लकडाउन गर्न नपाइनेभन्दै आन्दोलनसम्म चलेको थियो । तर, के साँच्चै कोरोना भाइरसको तुलना सामान्य फ्लुसँग गरिनु उचित हुन्छ त ?

यहाँ सामान्य फ्लुको तुलना कोरोना भाइरससँग गर्न नमिल्ने केही कारण उल्लेख गरिएको छ :–

१. अत्याधिक संक्रमण

अनुसन्धानका अनुसार सामान्य फ्लु एक संक्रमित व्यक्तिबाट औसतमा १ दशमलव २८ जनामा सर्न सक्छ । तर, कोरोना भाइरस भने औसतमा दुईदेखि तीन जनामा सर्न सक्छ । त्यसका साथै अहिलेसम्म गर्मी मौसममा कोरोना भाइरसको प्रभाव कम हुन्छ भन्ने कुनै प्रमाण पनि भेटिएको छैन । अहिलेसम्म यो भाइरस फैलिएको आधारमा हेर्ने हो भने यो भाइरसको प्रभाव गर्मी मौसममा पनि कम नहुने देखिन्छ ।

२. तीव्र मृत्युदर

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार सन् २०१९ को अक्टोबरदेखि गत अप्रिलको सुुरुवातसम्मको प्रारम्भिक आकलनअनुसार फ्लुबाट ६२ हजार मानिसको मृत्यु भएको छ । अप्रिल ४ पछिको अपडेट भने केन्द्रले दिएको छैन । यसको अर्थ अमेरिकामा फ्लुबाट दैनिक तीन सय ३१ जनाको मृत्यु भएको छ ।

फेब्रुअरीदेखि अप्रिल महिनाको अन्तिमसम्म कोरोना भाइरसको कारण भने ६२ हजार आठ सय ५० जनाको मृत्यु भइसकेको थियो । यो तथ्यांकलाई हेर्दा फेब्रुअरी ६ देखि अप्रिल ३० सम्ममा अमेरिकामा औसतमा दैनिक सात सय ३९ जनाको कोरोना भाइरसको कारण मृत्युु भएको छ ।

३. लक्षणविना नै सर्ने जोखिम

सामान्य फ्लुको संक्रमणकालीन अवस्था निकै छोटो हुन्छ । फ्लुको संक्रमण भएको दुईदिनभित्रै यसको लक्षण देखिन थाल्छ । यस्तो अवस्थामा उनीहरू बेलैमा घरभित्र पस्ने र घरमा पनि अरूभन्दा टाढै बस्न सुरु गर्छन् । तर, कोरोना भाइरसको संक्रमणकालीन अवस्था नै तीनदेखि १४ दिनको हुन्छ । साथै, यसको लक्षण देखिनुभन्दा पहिले नै अर्को मानिसमा यो भाइरस सर्ने खतरा हुन्छ । त्यसैले सतर्कताको लागि मास्क लगाउने, भौतिक दुरी कायम राख्नेलगायत काम गर्नु जरुरी हुन्छ । यसले आफूलाई भाइरसबाट बचाउनुका साथै आफूमा केही गरी भाइरस संक्रमण भइहाल्यो भने पनि यसबाट अरुलाई बचाउन सहयोग पुग्छ ।

४. खोप नपाइनु

विशेषज्ञका अनुसार फ्लुको खोप लिने हो भने यसबाट मृत्यु हुने धेरैको ज्यान बच्न सक्छ । खोप लिएपछि फ्लुको संक्रमण नै नहुने भन्ने होइन । तर, लागिहालेको खण्डमा पनि निकै कम मात्र लक्षण देखिन्छ । अमेरिकामा आधाजसो मानिसले मात्र यो खोप लगाउँछन् । फ्लुबाट मृत्यु हुनेमध्ये अधिकांश बालबालिकाले खोप नलगाउने तथ्यांक छ ।

कोरोना भाइरस नियन्त्रणको लागि भने अहिलेसम्म कुनै खोप विकास भएको छैन । यो भाइरसको खोपका लागि अझै केही महिना प्रतीक्षा गर्नुपर्ने जानकारहरूले बताइसकेका छन् । यस्तोमा सामाजिक प्रतिबन्धको नियमले मात्र भाइरस नियन्त्रण गर्न सकिन्छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment