Comments Add Comment

अमेरिकन आइडलमा नेपाली आवाजको जादु

दिवेश पोखरेलले अब दुई खुड्किला चढ्न बाँकी

२३ वैशाख, काठमाडौं । नोवल कोरोना भाइरसको त्रासका कारण उत्पन्न असहज परिस्थितिले गर्दा नेपालमा टिभी रियालिटी सोहरू स्थगित छन् । तर, कोरोनाको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा ‘अमेरिकन आइडल’ भने निरन्तर छ ।

यो अमेरिकामा मात्र नभएर विश्वभर हेरिने गायन रियालिटी सो हो । अमेरिकन आइडलको यो संस्करण नेपालीका खास किन छ भने एक नेपाली युवाले यसमा आफ्नो दमदार उपस्थिति जनाइरहेका छन् ।

अर्थर गन उर्फ दिवेश पोखरेल । उमेर २३ वर्ष । उनी नेपालीहरू कहिल्यै नपुगेको स्टेजमा पुगेनन् मात्रै, लगातार निर्णायकहरुको उच्च प्रशंसा पाउँदै सर्वाधिक चर्चित प्रतियोगीका रुपमा दरिएका छन् । नेपालमा त उनको सेलिब्रिटी छवि बनिसकेको छ ।

दिवेश गत आइतबार अमेरिकन आइडलको ‘टप १०’ मा उक्लिए । जोन डेनभरको बहुचर्चित ‘कन्ट्री रोड्स’ बोलको गीत आफ्नै स्टाइलमा गाएर उनले फेरि एकपटक निर्णायकहरुको मन जिते । अमेरिकन आइडलको अडिसनबाट छानिएकै पहिलो नेपाली भएकाले त्यसयता उनी जति खुड्किला चढ्छन्, त्यति नयाँ इतिहास बन्ने छ ।

लकडाउनका कारण टप–१० को प्रतिस्पर्धा हलभित्र दर्शकमाझ गराइएको थिएन । प्रतियोगीहरुले आ–आफ्नै घरबाट प्रस्तुति दिएका थिए भने निर्णायकहरुले पनि आ–आफ्नै घरबाट भर्चुअल माध्यमबाट मूल्यांकन र विश्लेषण गरेका थिए । विजेताको घोषणा भिडियो कन्फ्रेन्समार्फत गरिएको थियो ।

दिवेशको संगीत यात्रा

काठमाडौंको रविभवनमा जन्मेका दिवेश सानैदेखि संगीतका पारखी थिए । स्कुल–कलेजका कार्यक्रमहरूमा गाउने गर्थे । यद्यपि, सांगीतिक क्षेत्रमा नै समर्पित भएर लागेको भने अमेरिका गएपछि मात्रै हो ।

दिवेशका बुवाआमा सन् २००८ मा अमेरिका गएका थिए, जतिबेला दिवेश स्कुल पढ्दै थिए । प्लस टुको अध्ययन सकेपछि उनी पनि सन् २०१४ मा अमेरिका गए । दिवेशका चार दिदीबहिनी छन् । अडिसनमा दिवेशले दिदी रुपालाई साथ लिएर गएका थिए । संगीतमा लाग्न उनलाई परिवारको पूरा सपोर्ट छ ।

अमेरिकाको कान्ससस्थित विचिटामा परिवारसँग बस्दै आएका दिवेश शहरमा रहेका कफी हाउसहरुमा गाउने गर्थे । उनले न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जेलसका सडक–गल्लीहरुमा पनि गिटार बजाउँदै गाएका छन् ।

सन् २०१८ मा दिवेशले नेपाली गीतहरुको एल्बम निकाले । उनको ‘ग्रहण’ एल्बममा आठ वटा गीत छन् । सबै गीतहरु उनी आफैंले लेखेका हुन् । यसमा रहेको ‘न्यानो घर’ बोलको गीत दिवेशले यूट्यूवमा समेत राखेका छन् जसको भ्यूज ४६ लाखभन्दा बढी छ । उक्त एल्बम सार्वजनिक गर्नेबेला उनी नेपाल आएका थिए ।

दिवेशले सन् २०१९ मा केही नयाँ गीतहरु रेकर्ड गरे । जसमध्ये ‘म’, ‘खोज’, र ‘कर्णाली’ बोलका गीत गत डिसेम्बरमा उनले आफ्नै नामको च्यानलबाट यूट्यूवमा अपलोड गरेका छन् । यी गीतहरुको भ्यूज सामान्य छ । दिवेशको च्यानलमा गत फेब्रुअरीमा ७० हजार ‘सब्स–क्राइबर’ थिए भने अहिले सो संख्या अढाई लाख पुगेको छ ।

नाम परिवर्तनको रहस्य

धेरैलाई दिवेशको अंग्रेजी नामको विषयमा पनि कौतुहल छ । अमेरिकन आइडलमा उनलाई ‘अर्थर गन’ भनेर चिनाइएको छ । साथै सामाजिक सञ्जालका विभिन्न अकाउन्टहरुमा पनि उनले यही नाम प्रयोग गरेका छन् । नेपाली नाम लुकाएको भनेर कतिपय नेपाली फ्यानहरु खुशी छैनन् ।

‘अर्थर गन’ दिवेशको ‘स्टेज नाम’ हो । एक अन्तरवार्तामा दिवेशले बताएअनुसार उनले सन् २०१८ बाट यो नाम प्रयोग गर्न थालेका हुन् । अमेरिकाको सांगीतिक क्षेत्रमा संघर्ष गर्ने अठोट गरेपछि नाम परिवर्तन गरेको उनको भनाइ छ । उनले आफूलाई मनपर्ने फ्रान्सेली कवि अर्थर रिमबडको नाम सापट लिएका हुन् । ‘गन’ चाहिँ लडाइँको प्रतिकका रुपमा लिएको उनको भनाइ छ । स्टेजमा प्रस्तुति दिने कलाकारहरूले यसरी अर्को नाम राख्दा त्यसलाई ‘स्टेज नेम’ भन्ने गरिन्छ ।

अमेरिकन आइडलमा चाहिँ उनी आफ्नो वास्तविक नाममै सहभागी हुन सक्थे । यसमा भाग लिन अमेरिकी नागरिक नै हुनुपर्ने बाध्यता छैन । खाली तत्कालिन समयमा अमेरिकाको वैधानिक बासिन्दा भए पुग्छ ।

दिवेशले अमेरिकी बासिन्दाको हैसियतमा यस सोमा सहभागिता जनाउन पाएका हुन् । अमेरिकन आइडलको परिचयात्मक भिडियो तथा अडिसनका क्रममा निर्णायकहरूलाई उनले आफ्नो वास्तविक नाम बताएका पनि थिए । साथै नेपाललाई सुन्दर देशका रुपमा चित्रित पनि गरेका थिए ।

संसारमा आफ्नो वास्तविक नाम फेरेर अर्को नामले चिनिने थुप्रै कलाकार छन् । कलाकारले व्यवसायिक क्षेत्रमा चिनन छुट्टै नाम राख्नुका धेरै कारण हुन्छन् । आफ्नो वास्तविक नाम मन नपरेर वा आकर्षक नलागेर, आफ्नो नाम अरु कुनै चर्चित सेलिब्रिटीसँग जुध्न गएमा, उच्चारण गर्न वा सम्झिन अप्ठेरो खालको भएमा, नामले गलत वा आफूले नचाहेको अर्थ दिने अवस्थामा फेर्ने प्रचलन छ । दिवेशले चाहिँ नाम र थर दुवै फेरेका छन् । उनको नामले नेपाली हुन् भन्ने जनाउँदैन ।

कति माथि पुग्लान् ?

प्रारम्भिक प्रस्तुतिहरूमा दिवेशले निर्णायकहरूबाट निकै आश लाग्दा रेस्पोन्स पाएका थिए । अहिलेसम्मका प्रस्तुतिहरुमा उनलाई हरेकपटक जजहरुले उच्च मूल्यांकन नगरेका छन् ।

अमेरिकन आइडल पूर्णरुपमा भोटिङ राउन्डमा प्रवेश गरिसकेको छ । अबको प्रत्येक खुड्किलो उक्लिन अरुले जस्तै दिवेशले पनि भोटको भर पर्नुपर्ने हुन्छ । उनले भोटको आशा गर्ने भनेको विश्वभर रहेका नेपाली समुदायबाटै हो ।

नेपालीहरू भोटिङमा कति अगाडि छन् भन्ने यहाँ दोहोर्‍याइरहनु नपर्ला । अहिले पनि सबै प्रतिस्पर्धिमध्ये सामाजिक सञ्जालमा धेरै फलोअर्स दिवेशकै छन् । यद्यपि, अमेरिकी आइडलमा अमेरिकाभन्दा बाहिरबाट भोट दिने औपचारिक व्यवस्था छैन । यसबारे तल चर्चा गरिनेछ ।

दिवेशको फ्यान फलोइङ नेपाली मात्रै छैनन् । अन्य देशका नागरिक पनि उनका फ्यान छन् । धेरैले उनको ‘रफ’ आवाजलाई रुचाएका छन् । रक जनराका गीतमा दिवेशको आवाज बबाल सुनिन्छ ।

अमेरिकन आइडलकी एक निर्णायक केटी पेरीले उनलाई अडिसनमै ‘रक स्टार’ संज्ञा दिएकी थिइन् । कतिपयले उनलाई प्रख्यात जमैकन गायक बब मार्लेसँग दाँज्न थालेका छन् । मेलोडियस गीतहरुमा चाहिँ उनको परिक्षा भइसकेको छैन । बोल्दा लजालु देखिने उनी गीत गाउँदा भने पूर्ण आत्मविश्वासी लाग्छन् ।

इन्डियन आइडल वा नेपाल आइडलमा जस्तो टप १० पछि प्रत्येक हप्ता एक जना प्रतियोगी बाहिरिने फम्र्याट अमेरिकन आइडलमा छैन । त्यसो त यसका प्रत्येक सिजनमा नयाँ–नयाँ नियमहरु ल्याउने गरिन्छ । यस सिजनमा सबैभन्दा पहिले प्रि–लिमिनरी अडिसन र त्यसपछि रिजनल अडिसन भएको थियो । त्यसमा छनोट भएका १६७ जनालाई हलिउडमा ल्याइयो । उनीहरुबाट टप ४०, टप २० हुँदै टप १० सम्म आइपुगेको हो ।

अब केवल २ हप्तामा अमेरिकन आइडलको टुंगो लाग्नेछ । टप १० प्रतियोगीले आउँदो १० मेमा प्रस्तुति दिनेछन् । उनीहरुमध्येबाट टप ७ छनोट गरिनेछ । टप ७ बीच मे १७ मा फाइनल प्रतिस्पर्धा भएर विजेताको छनोट गरिन्छ । दोस्रो र तेस्रो हुनेलाई रनर अप र थर्ड प्लेसको पुरस्कार दिइन्छ । फाइनल राउन्डसम्म प्रत्येक प्रतिस्पर्धामा निर्णायकहरुले रुचाएका एक जनालाई सुरक्षित राख्न सक्ने प्रावधान छ । जस अनुसार अहिले टप टेनका अतिरिक्त निर्णायकले सुरक्षित राखेका थप एक प्रतिस्पर्धी पनि टप ७ का लागि भिड्नेछन् । टप ७ मा पनि एक प्रतिस्पर्धीलाई निर्णायकले जोगाए भने ८ जनाबीच फाइनल हुनेछ ।

दिवेशले अहिलेसम्म ६ वटा खुड्किला पार गरिसकेका छन् । अब दुईवटा निर्णायक खुड्किला उनका सामुन्ने छन् । टप ७ मा छनोट भएको खण्डमा उनी फाइनलमा पुग्नेछन् र २० तारिखमा उनको भाग्य फैसला हुने छ ।

भोट कसरी गर्ने ?

अमेरिकन आइडलमा टप २० बाट पब्लिक भोटिङ सुरु हुन्छ । अमेरिकामा भोट गर्ने तीन तरिकाहरु छन् । पहिलो, idolvote.abc.com मा गएर, दोस्रो ‘अमेरिकन आइडल’को एप डाउनलोड गरेर र तेस्रो एसएमएस गरेर । अमेरिकामा एसएमएसमार्फत भोट गर्नका लागि प्रतियोगीको नम्बर टाइप गरेर २१५२३ मा पठाउनुपर्छ । दिवेशको नम्बर १६ हो ।

माथि उल्लेखित विधिहरुबाट तोकिएको समयभित्र एकजनाले १० वटासम्म भोट गर्न सक्छन् । तर, यो विधि अमेरिकाबाहिर काम लाग्दैन । नेपालसहित अन्य देशहरुबाट भोट गर्न मिल्ने औपचारिक व्यवस्था छैन ।

यद्यपि, भीपीएन एप्लिकेसन÷सफ्टवेयरमार्फत भोट गर्ने एउटा उपाय छ । त्यसका लागि भिपीएन सफ्टवेयर डाउनलोड गरेर त्यसमा (जुन देशमा भए पनि) आफूलाई अमेरिकामा रहेको जनाउनुपर्छ । त्यसपछि अघिकै प्रक्रियाबाट अमेरिकन आइडलको एप वा idolvote.abc.com मा गएर भोट गर्न सकिन्छ ।

रियालिटी सोको शक्ति

नेपालमा पनि पछिल्लो समय गायन रियालिटी सोहरु निकै फस्टाइरहेका छन् । तर विदेशका रियालिटी सोमा नेपालीले भाग लिएर सफलता पाउनुको बेग्लै महत्व हुन्छ । नेपालीहरुले भारतबाहेक अरु देशमा अहिलेसम्म यस्तो सफलता खासै पाएका छैनन् ।

भारतको गायन रियालिटी सो इन्डियन आइडलमा नेपाली मूलका प्रशान्त तामाङले भिडन्त गर्दा नेपालमा भोटिङ अभियान नै चलेको थियो । उनलाई इन्डियन आइडलको उपाधि जिताउन नेपालीहरुको ठूलो योगदान रह्यो । प्रशान्त नेपाली मुलका भारतीय नागरिक हुन् । नेपाली मूलको मात्रै हुँदा त यसरी हौसिएका नेपालीहरु दिवेशप्रति उत्साहित नहुने कुरै भएन । उनी त जन्मजात नेपाली हुन् ।

साथै, भारतीय टेलिभिजनको र अमेरिकी टेलिभिजनको रियालिटी सोमा पनि निकै फरक हुन्छ । इन्डियन आइडलका दर्शक भारतीय वा हिन्दी भाषा बुझ्नेहरु मात्र हुन् । अमेरिकी आइडल संसारभरी हेरिन्छ किनकी अंग्रेजी संसारभरी बोलिने भाषा हो । त्यसैले अमेरिकी आइडलको महत्व र आयाम निकै ठूलो छ नेपालीका लागि पनि ।

अरु देशमा गएर नेपाललाई चिनाउनुपर्दा अहिले पनि सगरमाथा वा गौतम बुद्धको नाम लिनुपर्छ । तर, विभिन्न विधाका यस्ता प्रतिभाहरुले देशलाई विश्वमा नयाँ पहिचान दिन सक्छन् । जस्तो कि सन्दिप लामिछानेले क्रिकेट खेलेर नेपाल चिनाइरहेका छन् । भोली दिवेशले संगीतका माध्यमबाट त्यही काम गर्न सक्छन् । नेपालीहरु ‘बहादुर’ का रुपमा भन्दा ‘प्रतिभाशाली’ भनेर विश्वमाझ चिनिनु राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment