+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

चितवनका अस्पतालमा बढे बिरामी, कोरोनाको जोखिम

सुवास पण्डित सुवास पण्डित
२०७७ वैशाख २३ गते १७:३६

२३ वैशाख, चितवन । कोरोना संक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउन जारी रहेका बेला चितवनका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको संख्या क्रमशः बढ्दै जान थालेको हो । लकडाउनका कारण ९२ प्रतिशतसम्म बिरामी घटेका यी अस्पतालहरूमा बहिरंग सेवा (ओपीडी) मा हिजोआज बिरामीको चाप बढेको हो ।

भरतपुर अस्पतालमा दैनिक चार सयभन्दा बढी बिरामी आउने गरेको सूचना अधिकारी लीलाधर पौडेलले बताए । मंगलबार बहिरंगमा दुई सय ६४ र आकस्मिक कक्षमा एक सय ६३ जना बिरामी उपचारका लागि आएका छन् । सोमबार बहिरंगमा १४८ र आकस्मिक कक्षमा १६९ बिरामी आएका थिए ।

६ सय शय्या रहेको अस्पतालमा भर्ना भएर बस्ने बिरामीको संख्या पनि बढ्न थालेको छ । सूचना अधिकारी पौडेलका अनुसार बढेका अधिकांश बिमा सुविधा लिने बिरामी हुन् । उनीहरू अस्पतालमा नियमित आइरहन्छन् ।

गतवर्षको यही समयमा भरतपुर अस्पतालमा दैनिक १५ सयको हाराहारीमा बिरामी उपचार गराउन आउँथे । लकडाउन खुकुलो हुँदै जान थालेपछि बिरामीको संख्या बढ्न थालेको हो । अस्पतालमा भिड बढेका कारण बिरामीबीच भौतिक दुरी कायम हुन सकेको छैन । जसले गर्दा अस्पतालबाटै कोरोना फैलिने जोखिम बढेको छ ।

भरतपुर अस्पताल प्रसूति गराउने जिल्लाकै हव मानिन्छ । यहाँ वार्षिक झण्डै १५ हजार महिलाले सुत्केरी सेवा लिन्छन् । अस्पतालकै एक क्याविनमा कोरोना संक्रमित पूर्वी चितवनकी ६३ वर्षीया महिलाको पनि उपचार भइरहेको छ । उनको कोरोना परीक्षणको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

क्यान्सर अस्पतालमा पनि खतरा

भरतपुरको क्यान्सर अस्पतालमा पनि देशका विभिन्न ठाउँबाट एम्बुलेन्समा बिरामी आउने क्रम बढेको छ। कोरोना संक्रमित क्षेत्रबाट समेत बिरामी आउने हुनाले त्रास बढेको छ ।

सामान्य अवस्थामा दैनिक छ सय जना उपचारका लागि आउने गरेकोमा हिजोआज दैनिक दुई सय जना आउने गरेका छन् । यो संख्या डेढ हप्ता अघिसम्म ६० जना थियो ।

अस्पतालले बहिरंग सेवा सुरु भएसँगै बिरामी बढ्न थालेको अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले जानकारी दिए । कोरोना संक्रमित जिल्लाबाट समेत बिरामी आउँदा अस्पतालमा जोखिम बढेको उनले बताए ।

‘नेपालगञ्ज, रौतहट, वीरगञ्जलगायतका क्षेत्रबाट समेत बिरामी आउन थालेका छन् । उपचार नगराउने कुरा पनि भएन, जोखिम पनि अति उच्च भयो’ कार्यकारी निर्देशक डा. आचार्यले भने, ‘यस्ता रेडजोनबाट आएका बिरामी र तिनका आफन्तलाई आरडीटी टेस्ट गर्न पाए सहज हुने थियो ।’

कोरोना संक्रमित क्षेत्रबाट आउने बिरामीलाई गेटमा नै आरडीटी परीक्षण गरेर मात्रै उपचार गर्ने व्यवस्था नगरे अस्पतालबाटै कोरोना फैलिने जोखिम रहेको उनको भनाइ छ ।

चिकित्सकहरू सुरक्षा सामग्री भरपर्दो नहुँदा अप्रेसन गराउन हिच्किचाउन थालेका छन् । भाइरल किटलगायतका सामग्रीको बजारमा अभाव छ ।

पीपीईलगायतका अन्य सामग्री पनि अस्पतालले पर्याप्त दिन सकेको छैन । आकस्मिक अप्रेसन गराउनुपर्ने बिरामी अस्पतालमा सबैभन्दा बढी जोखिममा छन् ।

निजी अस्पतालमा पनि उस्तै

भरतपुरकै चितवन मेडिकल कलेजमा ओपीडी र आकस्मिक कक्षमा गरेर दैनिक करिब पाँच सय जना आउने गरेका निर्देशक डा. दयाराम लम्सालले बताए ।

सोमबार चार सय ३० जना ओपीडी र ६० जना आकस्मिक कक्षमा आएका छन् । एक हप्ताअघिसम्म जम्मा एक सय ५० जना बिरामी आउने गरेकोमा पछिल्लो चार दिनदेखि बिरामी बढ्न थालेको उनको भनाइ छ ।

कलेजमा भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको छ । पुराना बिरामी, उच्च रक्तचाप, प्यारालाइसिस, डायलासिस गर्नुपर्ने, सर्जिकल केस भएका, स्त्रीरोग र प्रसूतिसम्बन्धी बिरामी बढेको डा. लम्सालले बताए ।

लकडाउन कडा हुँदा दैनिक ६० जना आउने भरतपुरको पुरानो मेडिकल कलेजमा हिजोआज दैनिक चार सय बिरामी आएको कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

सोमबार मात्रै कलेजको ओपीडीमा तीन सय ६० जना र आकस्मिक कक्षमा ३५ जना बिरामी आएका थिए । कलेजमा साधारण अवस्थामा सात सय ५० जना बिरामीले ओपीडीबाट उपचार सेवा लिने गरेका थिए ।

जिल्लाका २० भन्दा बढी सानाठूला अस्पतालमा पनि बिरामीको चाप बढेको छ। साधारण अवस्थामा यहाँका अस्पतालमा दैनिक दुई हजार बिरामीले ओपीडी र दैनिक दुई सय जनाले आकस्मिक सेवा लिने गरेकोमा हाल चार सय बिरामी ओपीडीमा आउन थालेका छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?