Comments Add Comment

डाइपर किन्न आएको ट्रकमा हुण्डीको १ करोड ९ लाख भारतीय रुपैयाँ

२३ वैशाख, विराटनगर । लकडाउनको समयमा भारतबाट अवैध रुपमा भित्रिएको एक करोड नौ लाख ६९ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुईजना भरियालाई नियन्त्रणमा लिएको छ ।

एकीकृत भन्सार जाँच चौकी विराटनगरमा भारतबाट प्रवेश गरेको खाली ट्रक जाँच गर्ने क्रममा सशत्र प्रहरीले सो रकम बरामद गरेको हो ।

कोरोना संक्रमण रोक्न सरकारले नाकामा उच्च सतर्कता अपनाएको छ । नाकामा प्रवेश गरेका गाडीको पनि सूक्ष्म जाँच पछि मात्र नेपाल प्रवेश गर्न दिइन्छ ।

मंगलबार खाली भएका कारण भारतमा जाँच नभई नेपाल प्रवेश गरेको डब्लुबी ३७ ई ७६३५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा रकम बरामद भएको सशत्र प्रहरी बल ३ नम्बर हेडक्वार गण मोरङका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।

सो रकम हुण्डी कारोबारीले ल्याएको प्रहरी स्रोतको दाबी छ । नाकामा चेकजाँच गर्दा भारत सुपौलबाट आएको सो ट्रक विराटनगरबाट डाइपर लिएर काकडभिट्टा नाकाबाट फर्कने योजनामा रहेको प्रहरीको दाबी छ ।

‘नाकामा चेकजाँच गर्दा शंकास्पद लागेपछि गाडीभित्र हेर्‍यौं’ कार्कीले भने ‘रकम भेटिएपछि ट्रकमा रहेका दुईजनालाई नियन्त्रणमा लिएका छौं ।’

प्रहरीले ट्रक चालक सिलगुडीका २८ वर्षका रविकुमार शर्मा र सहचालक मुजफ्फरपुका १८ वर्षका पप्पु कुमारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुले डाइपर खरिद गर्नका लागि आएको बताएका छन् ।

पूर्वसूचना थियो

भारतबाट अवैध रकम आउने गरेको जानकारी पहिले नै पाएको थियो । सूचनाका आधारमा तीनदिनयता नाकामा चेकजाँच कडा गरेको थियो ।

मंगलबार दिउँसो करिब १ बजे भारतीय नाकाबाट नेपाल नाकामा रोकियो । दशगजामा डिसइन्फेक्सन स्प्रेपछि मात्र गाडीलाई नेपाल प्रवेश गर्न दिइन्छ । डिस इन्फेक्सन स्प्रेपछि चालकको ज्वरो नाप गरिन्छ र नाकामा विवरण टिपेपछि गाडी नेपाल प्रवेश गर्छ ।

भारतबाट डाइपर लिनका लागि सो गाडी आएको थियो । इन्ट्री गर्ने क्रममा प्रहरीले सामान केछ भनेर प्रश्न गर्दा खाली छ भन्ने जवाफ दिए । खाली गाडी जाँच गर्नुपर्छ भन्दा चालकले भारत नै फर्काउने बताए ।

चालकले संकास्पद व्यावहार देखाएपछि सशस्त्र प्रहरीले गाडीको तलासी लिएको थियो । सो क्रममा एउटा कार्टुन भेटियो । शंकास्पद कार्टुन खोलेर हेर्दा बोरा थियो । ‘बोरामा मिलाएर पैसा राखेर बाहिर कार्टुन पनि ¥यापिङ गरिएको थियो’ नाकामा खटिएका सशत्र प्रहरी अधिकृतले भने ।

बरामद रकम गणना गर्न सशस्त्र प्रहरीको टोलीलाई करिब एक घण्टा लागेको थियो । गणनाका क्रममा २१ हजार ९ सय ५५ वटा पाँचसयका नोट भेटिएको छ । त्यस्तै खुद्रा रकम पनि भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment