Comments Add Comment

सांसदको आग्रह – विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काऊ

सरकार भन्छ : अहिले मिल्दैन

२२ वैशाख, काठमाडौं । सांसदहरुले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले संकटका बेला आफ्नो देश फर्किन चाहनेहरुलाई रोक्नु उचित नहुने धारणा राखेका हुन् ।

‘विदेशमा रहेका नेपालीहरु जो नेपाल फर्किन चाहन्छन्, उनीहरुलाई फर्किने वातावरण बनाउनुपर्छ । सरकारले सक्दैनौं भनेर भाग्न हुन्न’ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने, ‘विदेशमा रहेका नेपालीहरुलाई ढिलो चाँडो ल्याउनुपर्ने हुन्छ । त्यसको विकल्प छैन ।’

नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले पनि स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएर भए पनि नेपाल फर्किन्छु भन्नेलाई फर्काउनुपर्ने बताए ।

समिति सभापति कृष्णभक्त पोखरेलले विदेशमा रहेका नेपालीलाई फर्काउन आवश्यक तयारी गर्न सरकारलाई सुझाव दिए । ‘एकैचोटी लाखौं ल्याऊ भन्ने मानीयहरुको कुरा होइन । सर्तकता अपनाएर उनीहरुको व्यवस्थापन हुने गरी ल्याउनुपर्छ’ उनले भने ।

नेकपाका सांसद लालबहादुर थापाले विदेशमा नेपालीको रुवाबासी रहेको बताए । थापा भन्छन्, ‘विदेशमा रहेका नेपालीहरुलाई फर्काउनुपर्यो । भारतकै कुरा गर्ने हो भने कति ठाउँमा नेपालीहरुको रुवाबासी छ ।’

नेकपाकी सांसद विमला विकले नेपालीहरु भारतमा अपमानित भएर बस्नुपरेको बताइन् । ‘भारतले लैजाउ भन्ने, हामीले नल्याउने हो भने के हुन्छ ?

नेपालीहरुलाई घर जाने हो ? भन्दै नाम संकलन गरिरहेका छन रे ! सीमामा ल्याएर छोडिदिन खोजिरहेका छन्’ उनले भनिन् ।

गृह मन्त्रालय भन्छ : अहिल्यै फर्काउन मिल्दैन

गृहमन्त्रालयका अनुसार एक हजार ४ जना नेपाली भारतीय सीमा क्षेत्रको क्वारेन्टाइनमा छन् । उनीहरुको व्यवस्थापन भारतले गरिरहेको छ । त्यस्तै नेपालमा पनि १२ सय भन्दा बढी भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा छन् ।

समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

गृहसचिव महेश्वर न्यौपानेले भने विदेशमा रहेकालाई तत्काल फर्काउन नसकिने बताए । ‘राम्रो व्यवस्था नभई नेपाल फर्कायौं भने हचुवा हुन सक्छ । सम्पूर्ण नेपालीहरुलाई खतरा हुन सक्छ । त्यसकारण अहिले नै स्वदेश फर्काउन सकिन्न’ उनले भने ।

विदेशमा रहेका नेपालीलाई फर्काउनुअघि नेपालमा क्वारेन्टाइनको क्षमता विस्तार गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि नेपालमा ५० हजारदेखि एक लाख जनसंख्या अट्ने क्वारेन्टाइन चाहिने उनको भनाइ छ ।

सांसद कर्णको प्रश्न– गरिब मरे पनि हुन्छ ?

पर्साका सांसद लक्ष्मणलाल कर्णले वीरगञ्जमा नारायणी अस्पताललाई कोरोना विशेष अस्पताल बनाई त्यहाँ पाउने सेवा निजी अस्पतालमा सारिएकामा विरोध जनाए ।

‘गरीबले निजी अस्पतालबाट सेवा लिन सक्छन् ? गरिब मरे पनि हुन्छ ? सरकारले यसतर्फ ध्यान दिनुपर्दैन ?’ उनले प्रश्न गरे । सांसद कर्णले निजी अस्पताललाई कोरोनाविरुद्धको लडाईंमा प्रयोग गर्न र कोरोनाको उपचारमा संलग्न गराउन आग्रह गरे ।

निजी अस्पताललाई सहुलियत दिएर वा सरकारले आफैं जिम्मामा लिएर सरकारले कोरोना बाहेकको उपचारका लागि सर्वसुलभ सेवा दिनुपर्ने सांसद कर्णको सुझाव छ ।

नेकपा सांसद देव गुरुङले निजी अस्पताललाई राष्ट्रिकरण गर्न माग गरे । बैठकमा सांसदहरुले निजी अस्पतालले सेवा बन्द गर्न नपाउने बताए ।

समिति बैठकको निश्कर्ष सुनाउँदै सभापति पोखरेलले नागरिकको मौलिक हक कार्यान्वयनबाट सरकार भाग्न नमिल्ने बताए ।

खाना र बस्नकै समस्या भएका कारण नेपालीहरु शहरबाट गाउँ फर्किएको भन्दै उनले नागरिकता हेरेर राहत दिने प्रचलन हटाउनुपर्ने बताए । ‘नागरिकता नदेखाए पनि नेपाली हो । यो बेला विश्वका जुनसुकै देशको भए पनि सहयोग गर्नुपर्दछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment