
२५ वैशाख, विराटनगर । सुनसरी–मोरङ सिञ्चाई आयोजना अन्तर्गतको नहर किनारमा बिहीबार एक जना युवक मृत फेला परेका छन् । बुधबार दिउँसो घरबाट हिँडेका कानेपोखरी गाउँपालिका– १ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी नगरपालिका– ७ खण्डमा फेला परेको हो ।
गिरीको शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा ११ जनालाई पक्राउ गरेको छ ।
हत्या आशंकामा अनुसन्धानका लागि बुधबार राति युवकसँगै बसेको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी र प्रदेश प्रहरीको तीनवटा टोली परिचालन भएको उनले बताए ।
मापसे सेवनमा विवादपछि हत्याको आशंका
प्रहरीका अनुसार गिरी सामान्य परिवारका सदस्य हुन् । उनी बेला बेला ट्याक्टरमा काम गर्थे । बुधबार दिउँसो करिब १२ बजे घरबाट निस्किएका उनी राति घर फर्किएका थिएनन् । बिहीबार बिहान चिसाङ खोलादेखि केही पश्चिम नहरको डिलमा मर्निङवाक गर्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थान र शवको अवस्था हेर्दा अन्यन्त्र हत्या गरी शव नहरको डिलमा फालेको हुनसक्छ ।
शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इञ्चार्ज प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए । गिरीसहित सहभागी युवकको टोलीले स्थानीय पसलमा मदिरा सेवन गरेको र सेवनका क्रममा विवाद पनि भएको प्रहरीको दाबी छ । ढकालका अनुसार मृतकको शरिरमा सामान्य निलडामहरु छन् ।
कानेपोखरी गाउँपालिका – १ का वडा अध्यक्ष दिपेश कार्कीले राति केही युवकसँग विवाद भएका कारण हत्या भएको हुनसक्ने बताए ।
प्रतिक्रिया 4