Comments Add Comment

कसरी भयो भारतको केमिकल फ्याक्ट्रीबाट ग्यास लिक ?

१३ पुग्यो ज्यान जानेको संख्या

२५ वैशाख, काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे उक्त दुर्घटना भएको थियो । मानिसहरू सुतिरहेको समयमा उक्त ग्यास लिक भएको थियो । डक्टरहरुका अनुसार, यो दुर्घटनाको मारमा परेका मानिसहरुमा आँखा पोल्ने र श्वासप्रश्वासमा अप्ठ्यारो हुनेजस्तो समस्या देखिएको छ । स्थानीय अधिकारीका अनुसार वेवास्ता गरेको कारण कारखानाबाट ग्यास चुहिएको हो ।

प्रतिवेदनअनुसार शुरुमा ग्यास लिक हुनबाट रोक्ने प्रयास असफल भएको थियो । तर, कम्पनी र स्थानीय अधिकारीले भने अहिले अवस्था नियन्त्रणमा आएको बताएका छन् । एलजी कम्पनीले अहिले यो घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसबाट प्रभावित भएका मानिसको शीघ्र उपचारको प्रयास पनि भइरहेको बताएको छ । यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का लागि सरकारले लगाएको लकडाउनको कारण कारखाना गत मार्च २४ देखि बन्द थियो । लकडाउनमा केही छुट दिइएसँगै यो कारखाना खुलेको थियो । तर,कारखाना खुलेसँगै उक्त दुर्घटना भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको अवस्था स्थिर छ । केही मिडिया प्रतिवेदनअनुसार बिरामीहरु अचेत अवस्थामा वा भेन्टिलेटरमा छन् ।

आन्ध्र प्रदेशका उद्योगमन्त्री गौतम रेड्डीले एलजीले सरकारले दिएको दिशानिर्देशन पालना गरेको वा नगरेको बारेमा पनि अनुसन्धान भइरहेको बताएका छन् । उनले कम्पनीलाई यो घटनाको जवाफदेहिता ग्रहण गर्दै अमेरिका वा युरोपमा हुने घटनामा जस्तै यसमा पनि आफ्नो जिम्मेवारी लिन आग्रह गरेका छन् ।

विशाखा पटनमका वरिष्ठ प्रहरी अधिकारी स्वरुप रानीले एएपपीसँग कुरा गर्दैै लकडाउनको कारण यो कारखाना निष्क्रिय रहेको बताइन् । लकडाउनको कारण कारखानामा ग्यास जम्मा भइरहेको र त्यसले रासायनिक प्रतिक्रिया गरेर ट्यांकभित्र ताप उत्पन्न भएको थियो । जसको कारण ग्यास लिक भएको प्रहरी अधिकारीको भनाइ छ ।

स्थानीय बासिन्दाले करिब साढे तीनबजे यसबारेमा प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो । तर, रसायनको असरको पर्नसक्ने डरले फर्किएको थियो । स्वरुप रानीका अनुसार उक्त स्थानमा हानिकारक ग्यासको कारण एक मिनेटभन्दा बढी बस्न सकिने अवस्था थिएन ।

ग्यास फैलिएसँगै बासिन्दाहरु त्रासको कारण आफ्नो घरबाट बाहिर निस्किएका थिए । सामाजिक सञ्जालमा उनीहरु बाहिर निस्किएपछि ग्यासको असरको कारण मानिसहरु बेहोस भएर ढलेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् ।

अधिकारीहरुका अनुसार यो दुर्घटना भएपछि यसको असर वरिपरीका तीन किलोमिटरसम्म देखिएको थियो । उक्त क्षेत्रका मानिसहरुलाई अन्यत्र विस्थापित गरिएको छ । यद्यपि धेरै मानिसहरु अस्पतालमा भर्ना भएका थिए । जसमध्ये अधिकांश मानिसहरु निको भएर फर्किएका छन् ।

यसअघि जिल्लाका स्वास्थ्य अधिकारीले एक हजारभन्दा धेरै मानिसहरु अस्पतालमा भर्ना भएका थिए । उनीहरु आफ्नो घरमा सुतिरहेका थिए । उक्त दुर्घटना भएको उनीहरुले थाहा पाएका थिएनन् । अस्पतालमा उनीहरुलाई अक्सिजन दिइएको थियो ।

स्थानीय अधिकारीहरुले मानिसहरुलाई यो ग्यासको असरबाट बच्न चिसो कपडाले मुख छोप्न सुझाव दिएका थिए । यसअघि सन् १९८४ मा भोपालमा भएको केमिकल लिकको घटनामा हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यसलाई भारतमाा अहिलेसम्मकै सबैभन्दा खराब औद्योगिक दुर्घटना मानिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment