+
+
Shares

यूएईले भिजिट भिसा बन्द गरेपछि नयाँ मुलुकमा दलालको धन्दा

यूएईले भिजिट भिसामा रोक तथा कडाइ गरेसँगै मानव तस्करको गिरोहले कतार र ओमानतर्फ केन्द्रित हुन थालेका हुन् । एक म्यानपावर व्यवसायीका अनुसार यूएईमा भिजिट रोकिएपछि एजेन्टहरू ओमानतर्फ केन्द्रित हुन थालेका हुन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ असोज २३ गते २२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेट्सले भिजिट भिसामा कडाइ गरेपछि नेपाली वैदेशिक रोजगारीका लागि कतार र ओमानतर्फ गन्तव्य परिवर्तन भएको छ।
  • ओमानस्थित नेपाली दूतावासका अनुसार भिजिट भिसामा ओमान आउने नेपालीको संख्या तीव्र गतिमा बढेको छ र घरेलु कामदार महिलाहरू बढी छन्।
  • ओमानमा कफाला प्रणालीले श्रमिक उद्धार र फर्किने प्रक्रिया जटिल बनाएको छ र दूतावासको सेल्टरमा २१ महिला घरेलु कामदारहरू छन्।

२३ असोज, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थालेको छ ।

भिजिट भिसाका प्रमुख गन्तव्य मुलुक बनेको यूएईले भिजिट भिसामा नेपालीलाई कडाइ गरेको छ । जसले गर्दा भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गिरोहहरूको गन्तव्य फेरिन थालेको हो ।

यूएईलाई डेस्टिनेशन बनाउँदै आएका गिरोहहरूले यतिबेला कतार तथा ओमानलाई नयाँ गन्तव्यको रूपमा प्रयोग गर्न थालेका हुन् । यसअघि भिजिट भिसामार्फत दुबई लैजाने गरेका थिए । त्यहाँबाट कुवेत, ओमान, बहराइन, इरान लगायतका देशमा पठाउने गरेका थिए । त्यसमा विशेषगरी महिलाहरूलाई घरेलु श्रमिकको रूपमा दुबईबाट बेच्ने गरेका थिए ।

यूएईले भिजिट भिसामा रोक तथा कडाइ गरेसँगै मानव तस्करको गिरोहले कतार र ओमानतर्फ केन्द्रित हुन थालेका हुन् । एक म्यानपावर व्यवसायीका अनुसार यूएईमा भिजिट रोकिएपछि एजेन्टहरू ओमानतर्फ केन्द्रित हुन थालेका हुन् ।

‘भिजिट भिसामार्फत दुबई लैजाने गरेका थिए । यतिबेला कडाइ गरेपछि मानव तस्कर गिरोहको अर्को गन्तव्यको रूपमा ओमान देखिएको छ । विगतको तुलनामा कतारमा पनि बढेको छ,’ ति व्यवसायीले भने ।

असोज सात गते अध्यागन विभागले विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा ओमानस्थित नेपाली राजदूतावासका अधिकारीहरूले समेत त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले भिटिज भिसामार्फत ओमानतर्फ आउनेहरूको संख्या बढ्न सक्ने बताएका थिए । छलफलमा सहभागी विभागका एक अधिकारीका अनुसार राजदूत अर्यालले यूएईमा भिजिट भिसा रोकिएपछि त्यसको डेस्टिनेशन ओमान हुनसक्ने बताएका थिए ।

ओमनसँगै भिजिट भिसाको अर्को गन्तव्य देश हो- कतार । नेपालबाट भिजिट भिसामार्फत कतार लैजाने र त्यहाँबाट अन्य मुलुकमा कामको लागि पठाउने गरेको पाइन्छ ।

कतारस्थित नेपाली राजदूतावासले समेत त्यसतर्फ सचेत रहन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै दूतावासले तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाईदिने भनी ठगी कार्य बढेको बताउँदै त्यसतर्फ सचेत रहन भनेको हो ।

ओमानस्थित नेपाली दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले पछिल्लो समय भिजिट भिसामार्फत् ओमान आउने नेपालीको संख्या बढिरहेको बताए ।

घरेलु कामदारका रूपमा ओमान पुग्ने नेपाली महिलाको संख्या तीव्र गतिमा बढिरहेको ज्ञवालीको भनाइ छ । उनका अनुसार भिजिट भिसा सहज भएका कारण ओमान तिर आउने नेपालीको संख्या बढेको हो ।

‘हाम्रो दूतावासले पनि पछिल्ला दिनमा भिजिट भिसामा ओमान आउने नेपालीको संख्या बढ्दो अवस्थामा देखेको छ,’ ज्ञवालीले अनलाइनखबरसँगको कुराकानीमा भने ।

ज्ञवालीका अनुसार हाल ओमानमा करिब २५ हजार नेपाली छन् । तीमध्ये १२ हजारभन्दा बढी महिला घरेलु कामदार रहेको अनुमान छ । ‘भिजिट भिसामा आउने र ओमान पुगेपछि घरेलु कामदारका रूपमा काम गर्न लाग्ने महिलाहरूको संख्या ह्वात्तै बढेको उनको उनको भनाइ छ ।

दूतावासका अनुसार भिजिट भिसामा आएका धेरै नेपाली ओमान पुगेपछि रोजगारका नाममा ठगीमा पर्ने, काम नपाउने वा शारीरिक तथा मानसिक यातनामा पर्ने गरेका छन् ।

‘एजेन्टहरूले नेपालमै ललाई–फकाई गरेर भिजिट भिसामा पठाउँछन्, यहाँका अवैध अफिसहरूसँग मिलेर घरेलु कामदारका रूपमा पठाइन्छ,’ ज्ञवालीले भने, ‘तर काम सोचे जस्तो नहुँदा उनीहरू भागेर दूतावास आउँछन् । अहिले दूतावासको सेल्टरमा २१ जना महिलाहरू छन् ।’

ओमानमा लागू कफाला (स्पोन्सरसिप) प्रणालीले उद्धार र फर्किने प्रक्रिया झन् कठिन बनाएको ज्ञवालीले बताए । ‘कफाला कानुनअनुसार स्पोन्सरले भिसा क्यान्सिल नगरेसम्म र एग्जिट अनुमति नदिएसम्म कुनै पनि श्रमिकलाई फर्काउन सकिँदैन,’ उनले भने, ‘कसैलाई उद्धार गरेर नेपाल पठाउन महिनौँ लाग्छ, कहिलेकाहीँ स्पोन्सरले उल्टै मुद्दा पनि हाल्ने गर्छ ।’

धेरै श्रमिकसँग कागजात र प्रमाण नभएकाले कानुनी प्रक्रियाबाट न्याय पाउन कठिन हुने गरेको दूतावासको भनाइ छ । ओमानमा नेपाली घरेलु कामदार पठाउने विषयमा नेपाल सरकारले आधिकारिक रूपमा अनुमति दिएको छैन । तरपनि भिजिट भिसामार्फत ओमान पुग्ने र त्यहाँबाट घरेलु कामदारको रूपमा काम गर्न पाउने गरेका छन् ।

ओमानसँगै कुवेतमा समेत भिजिट भिसामार्फत् घरेलु कामदारको रूपमा जानेहरू बढ्दो क्रममा छ । कुवेतमा हाल ६० हजारको हाराहारीमा नेपाली घरेलु श्रमिक महिला छन् ।

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालका एजेन्टले महिलालाई दुबई घुम्न जाने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाउँने गरेका थिए । तर, अब दुबईमा भिजिट भिसामा बन्द गरेपछि बाटो फेरिन लागेको गोलेको भनाइ छ ।

‘विमानस्थलमा फाटेको चप्पल र सामान्य लुगामा आउनेलाई पनि सेटिङका आधारमा जान दिइन्छ,’ गोलेले भने, ‘दुबई पुगेपछि त्यहाँबाट फेरि भिजिट भिसामा कुवेत पठाउने गर्थे ।’

कुवेत पुगेपछि त्यहाँका एजेन्टको कार्यालयमा महिलालाई भेडाबाख्रा जस्तै थुपारिन्छ र उनीहरूको उमेर र सुन्दरता हेरेर ३ लाखदेखि साढे ३ लाख नेपाली रुपैयाँ (६०० देखि ७०० कुवेती दिनार) मा दुई वर्षका लागि ‘बेचिन्छ’ ।

नेपालको एयरपोर्टमा के के भन्ने हो भनेर सबै सिकाउने गरेका छन् । दलालले उता एयरपोर्टमा सबै सेटिङ मिलाइसकेका हुन्छन् । सोही आधारमा भिजिट भिसामा जान आवश्यक ५ सय डलरसमेत त्यही दलालले गोजीमा राखिदिने र सबै सेटिङ मिलाएर पठाउने गरेको गोलेको भनाइ छ । युएईले कडाइ गरेपछि उनीहरूको गन्तव्य फेरिएको गोलेले बताए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?