Comments Add Comment

बुद्धको अमैत्रीको सूत्र अपनाऊ – ओशो

भगवान् बुद्धको नाम मात्र भज्ने साधक, चेला र सज्जनहरूलाई ओशो भन्नुहुन्छ- “बुद्धको अमैत्रीको सूत्रलाई त साधेर हेर ।”

ओशो एउटा सम्बुद्ध, महाज्ञानी, ब्रह्मज्ञानी जो आफ्नो २१ वर्षको उमेरमै सत्यताको ज्ञान प्राप्त गर्न सफल व्यक्तित्व । भगवान बुद्धको र उहाँको पारिवारिक पृष्ठभूमि र जीवनका भोगाइ अलग भए पनि तत्वतः बुद्धत्वमा उपलब्ध हुने खुबी बारेमा एकै किसिमको अनुभव, दीक्षा र देशना रहेका छन् ।

बुद्धलाई धेरैले खुलेर मान्छन्, पढ्छन् । तर ओशोलाई लुकेर पढ्छन् आज पनि मानिसहरू । यसो बुझ्दै जाँदा र मानिसका अनुभव सुन्दै जाँदा ओशोलाई नपढ्ने र नसुन्ने व्यक्तिहरू हातका औंलामा गन्न सकिने देखिन्छन् । किन व्यक्तिहरू ओशोको दर्शनप्रति रूची हुँदाहुँदै पनि खुल्न सक्दैनन् ? किनकि शुरू शुरूका उहाँका हरेक प्रवचनहरू विरोधाभासपूर्ण लागे मनिसलाई ।

वास्तवमा ओशोले मानिसको मनोविज्ञान जानेरै विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिनुभएको थियो । किनकि मानिसलाई सिधै उपदेश दिएर, यो गर, त्यो नगर, तिमी भगवान् बन्न सक्छौ, बुद्ध बन्न सक्छौ भनेर पत्याउनेवाला थिएन ।

संसारको मोजमस्ती, भोग, परिवार, सुखसयल, लोभीपापी, अपेक्षा आकांक्षा, स्व-घोषित प्रतिष्ठा, सम्मान छोडेर, भगवान् हुन, बुद्ध बन्न कसलाई मन हुन्छ ? भगवान् अर्थात् भगवत्तामा उपलब्ध चेतना, बुद्ध अर्थात् बुद्धत्वमा उपलब्ध सर्वोच्च चेतना । तृष्णा-रहित जीवनमा उपलब्ध हुनु भगवत्ता हो, भगवत्ता अर्थात् भगवान व्यक्तिको गुणवत्ता हो भन्ने कुरालाई बोध गर्ने अभ्यास गरेन या त तृष्णा-रहित हुन असम्भव ठान्यो र ऊ भगवान् बन्न या बुद्धत्वको बोध गर्नबाट बन्चित भयो, भइरहेछ ।

संसार छोड्न व्यक्तिलाई डर हुन्छ त्यसैले ऊ बुद्ध, न त भगवान् बन्न सक्छु भन्ने खुबी पनि राख्छ न त इच्छा नै । संसारमा जे पनि उपलब्ध छ, जे गर्न पनि छुट छ । अनेक किसिमका विचारधारा, अनेक मार्ग, धेरै रोजाईहरू उपलब्ध छन् । भगवत्तामा उपलब्ध भएपछि त यी सब कुराहरू आपसे आप छुट्दै जान्छन् । त्यसैले व्यक्ति यी सांसारिक कुरा छोड्न चाहँदैन ।

ओशो थप्नुहुन्छ- बुद्धले ज्ञान प्राप्तिको लागि घर, संसार, दरवार, सुखसयल अर्थात् भोग सबै त्यागेर जङ्गल पस्नुभयो, मैले भन्नुपर्दा संसारमै रहेर कसरी बुद्धत्वमा उपलब्ध हुने सूत्रहरू पनि छन् ।

वास्तवमा ओशोले बुद्धकै देशना र मार्गमा आधारित रहेर घरमै बसी बुद्धत्व अर्थात् भगवत्तामा उपलब्ध हुने मार्ग जोर बा दी बुद्धको मार्गबाट मानिसलाई जागृत गराउने अभ्यास शुरु गर्नुभयो । संसारमै रहेर सन्यासी बन्ने सहज सूत्रहरू र ध्यानका विधिहरू प्रतिपादन गर्नुभयो ।

मानिसलाई जागृत गराउन र बुद्धका देशनालाई आत्मसात गर्न ओशोले घुमाई फिराई विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिन शुरू गर्नुभएको कुरा उहाँकै मुखारविन्दबाट सुन्न पाइन्छ ।

बुद्धको बारेमा थोता धर्म र प्रवचन दिएर हिँड्ने गुरूहरू, चेलाहरू र बुद्ध प्रेमीलाई ओशो सम्झाउनुहुन्छ – जबसम्म तिमी आफू बुद्धत्वको अनुभूति गर्न सक्दैनौ तबसम्म बुद्धका प्रवचनलाई वचन गरेर मात्र आत्मसन्तुष्टि पाउँदैनौ । बुद्धका सूत्रलाई सहज तरिकाले सिधै जीवनमा लागू गर्न असहज महसुस गर्छौ भने बुद्धको अमैत्रीको सूत्रलाई व्यवहारमा उतार्ने कोशिस गर त !

यसो सुन्दा अमैत्री शब्द त उल्टो भएन र जस्तो लाग्न सक्छ । ओशो यसमै थप बताउनुहुन्छ मानिसलाई सिधै सल्लाह र अर्ति दियो भने तर्क र प्रश्न गर्न थाल्छ । सिधा मार्गमा हिंड्न पनि चाहन्न । त्यसैले थोरै अराजक शीर्षक, अराजक शब्द भयो भने मानिस आतुर हुन्छ त्यो सुन्न र जान्नलाई ।

मानिसको विचारले के कुरा सर्वप्रथम आकर्षण गर्न चाहन्छ त्यो पायो भनेमात्र त्यसको भित्र जान खोज्दछ । शुरुवातीमा त नकारात्मकता, युद्ध, आलोचना, हिँसाका घटना, वादविवाद र तर्कमा रस लिन्छ त्यसैले शिर्षक खोजी खोजी पढ्छ । बुद्ध अनि अमैत्री ?

हो, मानिस सिधै सुध्रिन चाहन्न उसलाई ठोकठाक गरेर, उसको मष्तिस्कमा केहि तार्किक कुरा घुसाईदिएपछि मात्र अन्त्यमा सत्यलाई आत्मसात गर्दछ । त्यसैले बुद्धका सत्यको मार्गमा हिँड्ने आर्य सत्य र अष्टाँगिक आर्य मार्ग कठिन लाग्छ भने केवल अमैत्रीको सूत्रलाई याद गर भन्दै ति अमैत्रीका विषयलाई यसरी प्रष्ट पार्नुहुन्छ-

नकारात्मक सोचप्रति अमैत्री: बुद्ध भन्नुहुन्छ- तिमी सकारात्मक हुन सक्दैनौ त नकारात्मक नबन । तिम्रो कर्मको फल तिम्रो विचारको नै नतिजा हो । त्यसैले अरूले गरेका नकारात्मक कर्म, नकारात्मक सोच मार्फत अरूले पुर्याएका चोटहरू, अरूको नकारात्मक व्यवहार सबैप्रति अमैत्री बन । नकारात्मकतासँग तिमीले मित्रता गाँस्नु पर्ने र नजिकिनुपर्ने जरूरत छैन । जसरी तिमी हिँड्ने बाटोमा फोहोर र दुर्गन्ध छ भने त्यसलाई उपेक्षा गरेर त्यता नहेरी, तिमी अर्कै बाटो लिन्छौ, त्यसैगरी नकारात्मक भाव, सोच, कर्म, व्यवहार तिमी सामु आउनासाथ त्यसलाई वास्ता नगरी अर्कै बाटो लिऊ । त्यो अर्को बाटो नै तिम्रो सकारात्मक मार्ग हुनेछ ।

जब पनि आफू या अरूप्रति, आफूद्वारा या अरूद्वारा नकारात्मकता सृजना हुन जस्तो लाग्छ त्यो परिस्थितिलाई तुरुन्तै अमैत्री गरिदेऊ । नकारात्मक सोच भएका मित्रहरू, नकारात्मक काममा हौसला दिने व्यक्तिहरू, स्वार्थगत काममा जबर्जस्ती गर्ने आफन्तहरू, भ्रष्ट आचरण भएका व्यक्ति, अनैतिकताको बाटोमा लागेकाहरू सबैलाई अमैत्री गरिदेऊ । मबाट नकारात्मकता सम्भव छैन भन्ने घोषणा गरिदेऊ । सकारात्मक भएर बाँच्नको लागि यो जत्तिको प्रभावकारी सूत्र अरू छैन ।

क्रोधप्रति अमैत्री: बुद्ध भन्नुहुन्छक्रोधलाई वशमा पार्न सक्दैनौ भने अमैत्रीबाट शुरू गर । क्रोध तिम्रो भावातिरेक अवस्था हो । आफूले चाहेको कुरा प्राप्त नहुँदा, आफूले अरुलाई कुरा बुझाउन नसक्दा, आफ्नो प्रिय लागेको चिज गुमाउने डरले, आफूले अरुलाई वशमा राख्न नसक्दा क्रोध उत्पन्न हुन्छ । मानौं क्रोध अरुको कारणले उत्पन्न हुन्छ ।

पूर्णरुपमा मन अस्थिर हुनु र मानसिक रुपमा ऊर्जा असन्तुलन हुने अवस्था क्रोध हो । मनले नकारात्मक प्रतिक्रिया देखाउन थालेपछि क्रोध उत्पन्न हुन्छ । क्रोध उत्पन्न हुँदा आफूमा नकारात्मक ऊर्जा प्रवाह हुने गर्दछ । क्रोधको समयमा शरीर, मन, भावदशा र क्रियाकलाप सबै असन्तुलित हुन पुग्दछन् |

क्रोधले मष्तिस्कमा असर गर्दछ । ममा क्रोध आउँदैछ, म निराशामा गएँ, ममा गुनासोको भावना मात्र बढ्यो, नकारात्मक उत्तेजना बढ्यो जस्तो लाग्नासाथ त्यसलाई म अमैत्री गरिदिन्छु भन्ने सङ्कल्प गर । तिमीलाई जे चिजले खुसी र आनन्द दिन्छ, जे चिजप्रति तिम्रो प्रेम बस्छ त्यसप्रति मैत्री बढाऊ । क्रोध तिमीलाई आवश्यक छैन त्यसैले अमैत्री गरिदेऊ ।

इर्ष्याप्रति अमैत्री: बुद्धले सम्झाउनुभएको छ- तिम्रो जीवनमा केहि कुराको अपूर्णता अर्थात् अधुरोपनाको महसुस हुनु इर्ष्या हो । तिमी आफैंमा पूर्णताको अनुभूति गर्दा सम्म इर्ष्याले स्थान लिन सक्दैन । आफूमा कुनै कुराको अपूर्णता महसुस हुन्छ र त्यही कुरा दोस्रोसँग छ भने तिमीलाई जलन हुन्छ ।

कुनै इर्ष्या छन् जसले आफूलाई आनन्द दिन्छ ? कमै मात्र घटना र परिस्थिती आएका छन् होला जीवनमा जुन इर्ष्याले आनन्द दिएको होस् । अन्यथा इर्ष्याले आफूमा भएको जागरुकता समेत नाश गरिदिएको हुन्छ । त्यसैले यो ऊर्जा नाश गर्ने इर्ष्या तिमीलाई आवश्यक छैन यसलाई अमैत्री गरिदेऊ । इर्ष्यालाई अमैत्री गर्नासाथ तिमीमा गहिराइबाट प्रेम र ध्यान घटित हुन्छ जुन जीवनको सबैभन्दा शुभको घटना हुन सक्छ । यसमा थप जोड दिँदै ओशो भन्नुहुन्छ- इर्ष्या नै गर्नुछ भने बुद्धको गर, सन्त पुरुषको गर किनकी ति सन्तत्वहरुलाई तिम्रो भए पनि ठीक, नभएपनि ठीक । उनीहरुलाई न अपूर्णताको चिन्ता छ न पूर्णतामा घमण्ड । तिमीहरुलाई जस्तो कसैको राम्रो गाडी देख्नासाथ इर्ष्या, कसैको ठूलो बंगला देख्नासाथ इर्ष्या, कसैको राम्रो गहना र लुगा देख्नासाथ इर्ष्या यो त सधैँ आफूलाई दिन-हिन अवस्थामा राख्ने स्वभाव भयो ।

द्वेषप्रति अमैत्री: बुद्ध सम्झाउनुहुन्छ- कसैप्रति पनि वैरभाव राख्नु, घृणा प्रकट गर्नु, अप्रितीको भावना र विरोधी भावना द्वेष हो जुन मानिसको स्वभाव होइन । इर्ष्याको परिणाम दु:ख र असफलता बाहेक अरु हात लाग्दैन मलाई त्यो कुरा मिलेको छैन भने उसलाई किन मिल्ने भन्ने भाव आउँछ । क्रोध आयो भने व्यवहारमा त्यो देखिन्छ तर इर्ष्या भित्रभित्रै जलाउने आगो भएकोले न त देखाउन सक्छ व्यक्तिले न त शान्त रहन नै । भित्रभित्रै दबाएर राख्नुको पिडा कति मार्मिक होला ?

इर्ष्या एक किसिमको मनोविकार र मनोरोग नै हो त्यसैले इर्ष्याभाव तिमीलाई जरूरत छैन यसलाई अमैत्री गरिदेऊ । इर्ष्यालाई अमैत्री गर्नुको अर्थ हो तिमीमा जागृत र सचेतनाको भाव विकास हुनु जसले अरूसंग तुलना र प्रतिष्पर्धा गर्न छोडेर सकारात्मक कामबाट प्रेरणा लिँदै प्रेमिल र आनन्दित जीवन बाँच्न सक्दछ ।

लोभ र मोहप्रति अमैत्री: कुनैपनि चिज प्रतिको अति आशक्ति लोभ हो । आशक्त चिजहरुको संग्रह गर्नु लोभ हो । जो मलाई अहिलेसम्म मिलेको छैन त्यो तुरुन्तै मिलोस्, मलाई अरुलाई भन्दा धेरै मिलोस् भन्ने चाहना लोभ हो अरुले भन्दा धेरै प्राप्त गर्ने चाहना लोभ हो । मोहको अर्थ हुन्छ ममत्व: जो मलाई मिलेको छ त्यो म बाट नछुटोस् । कुनैपनि कुरा त्याग्न राजी नहुनु मोह हो । संसारमा प्राप्त भएका सबै कुरा त एकदिन आफूबाट छुटेरै जान्छन् । त्यसैले यस्ता कामनाहरूलाई अमैत्री गरिदेऊ जसले गर्दा तिमीमा जागरणको विकास हुन्छ र जीवनमा प्रेम, शान्ति र आनन्दको बोध हुन्छ जसले तिमीलाई बुद्धत्वको शिखरमा पुर्याउन मद्धत गर्दछ ।

(लेखक सामाजिक परामर्शदाता एवम् ध्यान योग प्रशिक्षक हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment