Comments Add Comment

कोरोना परीक्षण गरेका सांसदलाई आचारसंहिता : सेल्फ आइसोलेसनमा बस्नुपर्ने

२६ वैशाख, काठमाडौं । संसद् अधिवेशनमा सहभागी सांसदहरू आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरू मात्र बैठकमा भाग लिनेछन् ।

यसबीचमा जिल्ला र निर्वाचन क्षेत्रमा घुमिरहेका सांसदहरू कोरोना परीक्षणपछि भने जिल्ला जान पाउने छैनन् । घरमा पनि सेल्फ आइसोलेसनमा बस्नेछन् । सांसदहरू विगतमा जसरी भिडभाड गरेर बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । सामाजिक दुरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ ।

अनिवार्य रुपमा सर्जिकल मास्कको प्रयोग गर्नुपर्ने नियम पनि बनाइएको छ । भित्र पस्ने ढोकानजिकै साबुन र पानी राखिने छ ।

प्रत्येक सांसदको टेबुलमा सेनिटाइजर राखिने छ भने बैठक सुरु हुनुअघि हरेक दिन ज्वरो जाँच गरिनेछ । कसैलाई एक सय डिग्रीभन्दा बढी ज्वरो आएको पाइएको खण्डमा संसद् भवनमै रहेको आइसोलेसन वार्डमा राखेर अस्पताल पठाइने छ । संसद् भवन परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

चिकित्सकहरुको सुझावका आधारमा संघीय संसदको कार्यव्यवस्था परामर्श समिति र संसद् सचिवालयले संयुक्त रुपमा यस्ता विषयलाई समेटेर बैठकमा सहभागी हुनेहरूका लागि आचारसंहिता बनाएको छ ।

उक्त आचारसंहितामा बैठक अवधिभर काठमाडौं छाड्न नपाउनेदेखि घरमा एकान्तवासको नियमहरुको पालना गर्नुपर्नेलगायत छन् ।

यस्ता छन् आचारसंहिता

· सबै सहभागीहरूले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्नेछ ।

· मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।

· आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरीरको दुखाइ) देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।

· सकेसम्म सहयोगी नलिई आउनुपर्नेछ
· बैठक अवधिभर घरमा गई स्वय‌ं एकान्तवासका नियमहरूको पालना गर्नुपर्नेछ ।
· संसद अधिवेशनभर काठमाडौंमै रहनुपर्नेछ ।

यो आचारसंहिताबारे सांसदहरूलाई औपचारिक/अनौपचारिक जानकारी गराइएको छ । मास्कको प्रयोग गर्नुपर्ने जस्ता विषयमा पर्चा बनाएर भवन परिसरमा टाँसिएको छ ।

प्रधानमन्त्री एक्लै बस्ने
यस वर्षको बजेट अधिवेशनमा अघिल्ला वर्षकोभन्दा नितान्त फरक दृष्य हुनेछन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांसदहरूको आसनदेखि आमरुपमा रोष्ट्रम प्रयोग नगर्नेसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्रीलाई एक्लै राख्नेदेखि दर्शकलाई बैठक कक्षमा रोक्ने, संवैधानिक अंगका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरूलाई नबोलाउनेसम्मका छन् ।

केही समयअघि मात्रै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै उनको आसननजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको छ । सरकारको बेञ्चको पहिलो र दोस्रो लाइन खाली हुनेछन् ।

सांसदहरुलाई दुई/दुई कुर्सी छाडेर राखिनेछ । सांसदहरूलाई छलफलमा भाग लिँदा ड्यासमा जानुपर्ने बाध्यता हट्ने छ । शून्य समयमा र विशेष समयमा जस्तै सांसदहरूले आफू बसेकै ठाउँमा रहेर बोल्नेछन् ।

बैठक कक्षभित्र अपनाइने सर्तकताका उपायहरू

· विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दुरी कायम गर्दै दुई सिट छाडेर बस्ने व्यवस्था मिलाइएको छ ।

· सांसदहरू तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ । अधिवेशन अवधिभर एउटै सिटमा बस्ने ।

· सकेसम्म समूहगत छलफल नगर्ने, गर्नैपरेको अवस्थामा भौतिक दुरीको अनिवार्य पालना गर्नुपर्ने ।

· बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन-पानी वा स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने ।

· प्रधानमन्त्री, मन्त्री, सभामुख र दलको नेताबाहेक अन्य सांसदले आम रुपमा रोस्टम प्रयोग नगर्ने ।

· संसद भवनमा प्रवेश गर्दा र फर्किँदा फरक ढोकाको प्रयोग गर्ने ।

· दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने

· मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भिड नहुनेगरी व्यवस्थापन गर्ने ।

· सांसदले आफू बसेको सिटमा रहेको माइक प्रयोग गर्ने ।

प्रत्येक सांसदका लागि एक/एक वटा माइकको व्यवस्था छ । सामान्य अवस्थामा विधेयकको सिद्धान्तमाथिको छलफमा सबै सांसदहरूले रोस्टमको प्रयोग गर्ने । शून्य समयमा र विशेष समयमा भने यसअघि पनि आफू बसेकै ठाउँबाट बोल्ने अभ्यास छ ।

यसैगरी, सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दुरीमा मिलाइएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संयुक्त बैठक बस्ने दिन राष्ट्रपतिका लागि सभामुख र अध्यक्ष बस्ने लहरमा सामाजिक दुरी कायम गरेर कुर्सी राखिनेछ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सोही कुर्सीमा बसेर पढ्ने छिन् ।

संसद भवनलाई बैठकअगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, क्यान्टिन र सभाहल बाहिर अनावश्यक भिड नगर्ने तथा दुरी कायम गर्नेलगायतका सुरक्षा विधिसमेत अपनाइने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, हरेक दिन बैठक सुरु हुनुअघि ढोकादेखि प्रत्येक व्यक्ति बस्ने कुर्सी, प्रयोग गर्ने टेबुल, पोडियम, माइकलगायत सबै संरचानहरूमा किटाणुनासक स्प्रे छरिनेछ । त्यसपछि चार घण्टाका लागि ढोकाहरू बन्द गरिनेछ ।

पाण्डेका अनुसार, शौचालय, ढोकाका ह्यान्डिल, भ‍र्‍याङको रेलिङसमेतलाई बेलाबेलामा सेनिटाइज गरिनेछ । बैठकमा एसी नचलाएर फ्यान चलाइनेछ । संसद्को क्यान्टिन खुला हुनेछ । तर एउटा टेबुलमा एक जना मात्र बस्न पाइनेछ ।

बालकोनीमा पनि सांसद्

सरकारको नीति तथा कार्यक्रम पेस गर्ने बेला र बजेट भाषणको बेला राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्छ ।

संयुक्त बैठक बस्दा सांसदहरू बालकोनीमा पनि हुनेछन् । अघिल्ला वर्षहरूमा बालकोनीमा कूटनीतिज्ञहरू र अन्य आगन्तुकलाई राखिन्थ्यो । यसपटक पत्रकारहरूका लागि समेत बालकोनीमा निषेध गरिएको छ ।

‘सुरक्षाका कारण यस्तो निर्णय गर्नुपरेको हो । घरबाटै प्रत्यक्ष लाइभ हेर्न सकिने व्यवस्था छ,’ संसद् सचिवालयका प्रवक्ता पाण्डेले अनलाइनखबरसँग भने, ‘फोटो पत्रकारहरूका लागि सूचना केन्द्रमा व्यवस्था मिलाइएको छ । अनलाइन र प्रिन्ट मिडियाका पत्रकारहरूलाई लाइभ हेरेर समाचार संकलन गरी सहयोग गर्न आग्रह गरिएको छ ।’

वर्षे अधिवेशनको तालिका

संसद् सचिवालयका अनुसार, शुक्रबार ४ बजे छैठौं अधिवेशनसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाइनेछ । शोक प्रस्तावहरू पारित गर्ने र राष्ट्रपतिले दुवै सदनलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाइनेछ ।

वैशाख २७ गते शनिबार बैठक बस्दैन । २८ गतेबाट प्रि-बजेट छलफल हुनेछ । नीति तथा कार्यक्रम जेठ २ गते आउनेछ ।

नीति तथा कार्यक्रमपछि प्रि-बजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेस गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि-बजेट छलफल हुने नेम्वाङले जानकारी दिए । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

जेठ ४ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । ५ गते नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन् । जेठ १५ गते अर्थमन्त्रीले बजेट पेस गर्नेछन् । जेठ १५ गते संघीय संसद्‍मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

जेठ १८ गतेबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ । जेठ २५ देखि असार १५ गतेसम्म विनियोजन विधेयक छलफल र पारित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment