Comments Add Comment

जातीय विभेदमा कार्यकर्ता थुनिने, सांसद रिहाइ माग्ने

विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले कोरोनाका विरामीको संख्या गनिरहेको बेला जातीय विभेदको घटनाबारेको ग्राफ केलाउनु आफैंमा दुखद विषय हो । तर, पीडितले उजुरी दिएको पाँच दिनमा बल्ल–तल्ल प्रहरीले जाहेरी दर्ता गर्छ । अनि प्रदेश सभा सदस्यले सारा काम छाडेर हतार–हतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्छन् ।

पोखरा महानगरपालिका– १६ बाटुलेचौरका पीडित मोहन सुनार (६०) जातीय विभेदविरुद्ध निरन्तर लडिरहने बताउँछन् । किनकि, उनलाई कानूनी राजमा गहिरो विश्वास छ । अल्पायुमै विदेशमा भाइ गुमाएको पीडामा समाजले दिएको विभेदको चोटलाई कम्तिमा कानूनले न्याय गर्ला भन्ने मोहनको आशा अझै चुँडिइसकेको छैन ।

चैतको महिना । कोरोनाले महामारीको रुप लिइसकेको थियो । त्यसैले चण्डीटोलका मोहोन सुनारले पनि कोरोनाको डरले चुपचाप लकडाउनको पूर्णरुपमा पालना गरिरहेका थिए । भागदौडको दुनियालाई बिर्सेर मोहनको परिवारमा शान्ति छाएको थियो । तर, २३ चैतमा अकस्मात दुबईबाट आएको अप्रिय खबरले मोहनको परिवारको शान्तिलाई छियाछिया पारिदियो । खवर थियो मोहनका आफ्नै भाइ समरको दुबईमा निधन ।

संसार ठप्प छ । अब के गर्ने ? भाइलाई कसरी लिने ? परिवारलाई कसरी सम्हाल्ने ? दुई दिनसम्म केही सोच्नै सकेनन् मोहनले । अर्को दिन दुवैमै दाहसंस्कारको व्यवस्था मिलाउने योजना बनाए ।

किनकि उनका छोरा र अर्का भाई पनि दुवईमै थिए । एकातिर अन्तिम पटक भाइको अनुहार देख्न नपाएकोमा त अर्कातर्फ लकडाउनमा क्रियाको बन्दोबस्त मिलाउनुपर्ने तनावले थप रुमलेको थियो मोहनलाई ।

यो पनि पढ्नुहोस दुबईमै पतिको शव जल्यो, नेपालमा किरियाघर नपाउँदा पत्नीको मन जल्यो !

मोहनको घरभन्दा पाँच सय मिटर पर किरियापुत्री भवन थियो । दिनको समय खाना पकाउने र बस्नका लागि त्यही भवन माग गर्न उपयुक्त देखे मोहोनले । नत्र त तीन किलोमिटर हिँडेर काली खोलामा पुग्नुपर्थ्यो । जहाँ बंगुर पालनले बनिसक्नुको दुर्गन्धित छ ।

त्यसैले उनी भवनको चावीको माग गर्नका लागि राम जिसीसँग पुगेर आफ्नो घटनाबारे बेलिविस्तार लगाए । यस्तो अवस्थामा भवन उपलब्ध नगराउने कारणै के छ र ? दुई वर्षदेखि किरियापुत्री बस्ने प्रयोजनकै लागि त यो भवनको निर्माण गरिएको हो । रामले हुन्छ भनिदिए । तर, चावी लिन भरतकहाँ पठाए ।

वडा सदस्य मेयरमान थापासँग पनि मोहनको राम्रो सम्बन्ध थियो । त्यसैले उनलाई पनि सम्पर्क गरेर विनय गरे । र, चाबी लिन भरतकहाँ पुगे । भरतकी श्रीमतीले भनिन्, ‘भरत पनि छैनन्, चाबी पनि छैन ।’

मोहनले त्यहीँबाट भरतलाई सम्पर्क गरे । भरतले मोहनलाई जवाफ फर्काए, ‘चाबी त छ दाइ । तर, हजुरले राम जिसीलाई लिएर आउनुपर्छ ।’ मोहनले फेरि राम जीसी फोनलाई गरे । पटक–पटक । तर, फोन उठेन ।

एकातिर दुबईमा मृत्युवरण गरेका भाइको दाहसंस्कार गर्नुपर्ने छ, अर्कोतर्फ किरियाका लागि एउटा भवन पाउन पनि युद्ध नै लड्नुपर्ने अवस्था छ । डाँडाथोक क्षेत्री समाजको अगुवाइमा सार्वजनिक जग्गामा बनेको जुन भवनमा महानगरकै लगानी छ ।

अर्को दिन मोहनले गाउँका केही बुद्धीजीवीलाई बोलाए र चाबी मागे । उनलाई लाग्यो, यति भएपछि त पक्कै पनि भवन पाइएला । तर, अर्को दिन अर्कै माहौल बन्यो । राम जिसीले चाबी नदिनुको कारण खुलाए, ‘क्षेत्रीहरुले हजुरलाई चाबी दिन मानेनन् ।’

त्यसपछि देवबहादुर र जनक थापा पाखुरा सुर्किँदै मोहनका अगाडि प्रकट भए, ‘कामी भएर क्षेत्रीले बनाएको घर बिगार्ने ?’ मोहन दुई कदमपछि सरे ।

कानूनले भने निजी ठाउँमा समेत जातीय आधारमा भेदभाव गर्न नपाउने भनेको छ । तर, कोरोनाले भारतदेखि अमेरिकासम्म हारेका बेला आफ्नै समाजमा सामना गर्नुपरेको जातीय अहंकारको तीरले मोहन भाइको वियोगमा भन्दा बढी थलिए ।

परिवारको आर्थिक अवस्था सुधार्नका लागि १५ वर्षदेखि दुबईको चर्को घाम खेपिरहेको समर अन्तत बैशाख तीन गते दुबईकै बालुवामा बिलाए । संस्कार अनुसार किरिया त गर्नु नै छ । मोहनले कपाल खौरिए । अनि दैनिक त्यही कालीखोलाको किनारमा गएर खाना पकाउने खाने र दिन बिताएर फर्कने गरे । तेह्रांै दिनमा उनी खौरिएको कपालमा सेतो टालो बाँधेर करियाबाट बाहिर निस्किए ।

मोहन सुनार

घटना यतिमै सीमित रहेन । १४ बैशाखमा मोहनको गुडिरहेको मोटरसाइकल रोकेर जनक थापाले भने, ‘सञ्चार माध्यममा हाम्रो नाम लिएर किन बद्नाम गर्न खोजेको ?’

मोहन सुनाउँछन्, ‘तत्कालै गाउँलेको भीड लाग्यो, त्यसैले बचेँ ।

यसपछि भने मोहोनभित्रको सहनशीलताको धरहरा ढल्यो र उनी जातीय छुवाछुत र भेदभावको कसुरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगे । र, रामबहादुर जिसी र जनक र देवबहादुर थापाविरुद्ध उजुरी दिए ।

‘नेकपाको जिल्ला सदस्य भएकाले पनि म जत्तिको मानिसले विभेद सहेर बस्नु मानवजातिकै लागि अपराध हुने भएकाले प्रहरीकहाँ पुगेँ’, मोहन बताउँछन् ।

तर, पाँच दिनसम्म पनि छानविन भएन । २३ गते मोहन, स्थानीय दलित जनप्रतिनिधि र वकीलसमेत घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयमा पुगे । प्रहरीले कुनै चासो दिएनन् । आश्वासन दिनुको सट्टा अपमानित शब्द प्रहार गरे । प्रहरी निरीक्षक नरहरि अधिकारी र दीपक केसी कड्किए, ‘पक्षलाई हुल बाँधेर आई अनुसन्धानमा प्रभाव पार्न खोजेकाले तपाईहरुको कारवाही हुँदैन।’ डीएसपीको व्यवहार पनि उस्तै थियो ।

सँगै पुगेका पत्रकार प्रेम नेपालीले यही दृश्यलाई क्यामेरामा कैद गर्न खोजे । प्रहरी निरीक्षक नरहरी जंगिँदै क्यामेरा खोस्न पुगे र अपशब्द बोल्दै जबरजस्ती क्यामेरा बन्द गर्न लगाए ।

पत्रकारमाथिको प्रशासनको अभद्र व्यवहारलाई पत्रकार महासंघदेखि, स्थानीय मिडियाले समेत निन्दा गरे । त्यही दिन बेलुकी प्रहरीले रामबहादुर जिसी र जनक थापालाई प्रहरीले नियन्त्रणमा लियो । देवबहादुर थापालाई भने पक्राउ गरिएको छैन ।

अहिलेको कानुनी संहिताले पक्राउ नगरी पनि अनुसन्धान गर्न मिल्ने भएकोले त्यसरी नै अनुसन्धान भइरहेको डीएसपी राजकुमार केसी बताउँछन् ।

तर, २४ वैशाखमा पीडक पक्षबाट प्रहरी कार्यालयअघि आन्दोलन भयो । रामबहादुर र जनकको रिहाइको माग गर्दै उनीहरुले प्रहरी कार्यालय घेराउ गरे र प्रहरी कार्यालयतर्फ ढुंगा बर्साए ।

त्यही दिन साँझ प्रदेशसभाका सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको सनसनीपूर्ण विज्ञप्ति आयो ।

आफ्नै कार्यकर्ताविरुद्ध विज्ञप्ति जारी गरेर सांसदले भने, ‘षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नम्बर १६ सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई विना सर्त रिहाइको माग गर्दछु । र, प्रहरी प्रशासनले गरेको ज्यादती तुरन्तै रोक्न सम्बन्धित निकाय तथा सरकारसँग माग गर्दछु ।’

हेर्नुहोस् विज्ञप्ति

जातीय विभेदजस्तो अमानवीय व्यवहारप्रति आएको माननीयको विज्ञप्तिले नश्लीय राजको एउटा उदाहरण प्रस्तुत गर्छ । विज्ञप्तिप्रति दलित संघ, संस्थाले घोर भत्र्सना गरेका छन् भने सामाजिक सञ्जालमा कृष्णको आलोचना भएको छ ।

अझ रोचक त के छ भने किरिया घर नपाउने मोहन पनि कम्युनिष्ट पार्टीकै नेता हुन् । जातीय विभेदको आरोपमा थुनिएका नेकपा वडा नम्बर १६ सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापा पनि नेकपाकै नेता हुन् ।

र, पक्षपातपूर्ण विज्ञप्ति जारी गर्ने सांसद पनि नेकपाकै हुन् । कम्युनिस्टहरुकै वीचको यो विभेद जातिवाद र नश्लवादमा प्रकट भएको छ ।

क्रियाबाट निस्किएका मोहनको कपाल पनि राम्रोसम्म उम्रिएको छैन । आघातले आँशुको आहालमा डुवेका परिवारको आँखा अझै ओभाएका छैनन् । समाजबाट सहानुभूति पाउने बेला मोहन ढोकामा ताल्चा ठोकेर घरभित्रै कैद हुन विवश छन् । केही दिनदेखि उनको घर नजिकै भेला हुने हुलका हुल पीडकहरुको भीडले उनलाई थप त्राहिमान बनाइरहेको छ ।

अर्कातर्फ उजुरी फिर्ता लिनका लागि धम्कीसहित बजिरहेका फोनको रिङटोनले उनको विश्वासलाई थप कमजोर पार्दैछ । र, पनि मोहनले खुट्टा कमाएका छैनन् ।

तर, मुद्दा प्रहरी कार्यालयबाट अझै अदालत पुगिसकेको छैन । डीएसपी राजकुमार केसीले भने, ‘अनुसन्धान भइरहेको छ । अनुसन्धान सकेपछि अदालतमा पठाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment