Comments Add Comment

वीरगञ्जमा नयाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु 

पर्सामा ३८० जनाको स्वाब संकलन

२८ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ मा भेटिएका नयाँ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको खोजी सुरु भएको छ । उनमा कोभिड–१९ संक्रमण पुष्टि भए लगत्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको टोलीले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको हो ।

बाहिरको ट्राभल हिष्ट्रि नभएपनि उनी संक्रमित परिवारको सम्पर्कमा आएको पुष्टि यसअघि नै भइसकेको छ । किराना पसल सञ्चालन गर्ने उनी १८ जनामा संक्रमण देखिएको परिवारको सम्पर्कमा थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पहिलो चरणमा संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पहिचान गरिएको जानकारी दिइन् । ‘लकडाउन भएपछि बाहिर कतै गएका छैनौं भनेका छन्,’ उनले भनिन्, ‘कन्ट्याक्ट ट्रेसिङ परिवारबाटै सुरु गर्ने हो, परिवारमा १७ जना सदस्य रहेछ । छोरीको परिवारका सदस्य लगायत थप ११ जना पनि प्रत्यक्ष सम्पर्कमा रहेको देखिएको छ ।’

१७ जनाको सिदार्थ मावि क्वारेन्टाइनमा थ्रोट स्वाब संकलन गरिएको छ । संक्रमितको एउटा छोरा पत्रकारिता गर्ने भएकोले उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई सचेत रहन सुरक्षा निकायले भनेको छ ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन

पर्सामा शनिबार ३ सय ८० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिकाको शंकास्पद क्षेत्र र गाउँपालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाईनमा रहेका शंकास्पद संक्रमितको स्वाब संकलन गरिएको हो ।

जगरनाथपुर गाउँपालिका स्थित क्वारेन्टाईनबाट ४४ जना, छिपहरमाई गाउँपालिकाको भिश्वाबाट ६५ जना, वीरगञ्ज महानगरपालिका वडा नं २ घुसुकपुर टोल स्थित मस्जिद नजिकबाट २६ जना, वीरगञ्ज–१६ ईनर्वा टोलका ८२ जना, वीरगञ्ज–२६ अठराह सुगौलीबाट १ सय २० जना, सिदार्थ मावि र नारायणी अस्पतालमा ४३ जनाको गरी २ सय ८० जनाको स्वाब कलेक्सन भएको छ । संकलित स्वाब परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाईएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment