Comments Add Comment

चल्न सकेनन् औद्योगिक क्षेत्रभित्रकै उद्योग

२९ वैशाख, काठमाडौं । सरकारले बन्द उद्योग खुलाउने निर्णय गरेको तेस्रो दिन बित्दा पनि सरकारकै व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् ।

गत शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय कार्यान्वयनमा आएपनि देशभरिका १० वटा औद्योगिक क्षेत्रमा थप उद्योग सञ्चालनमा नआएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

बालाजु, पोखरा, हेटौंडा, नेपालगञ्जसहितका सबै औद्योगिक क्षेत्रमा गरेर लकडाउनयता जम्मा १०५ वटा मात्रै उत्पादनमूलक उद्योगहरू सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालन विभाग प्रमुख निर्देशक दिलीप श्रेष्ठले जानकारी दिए ।

सबै औद्योगिक क्षेत्रमा गरेर कुल पाँच सय ९७ वटा उत्पादनमूलक उद्योग रहेको निर्देशक श्रेष्ठले बताए । सरकारको निर्णयपछि नयाँ उद्योग सञ्चालनमा आउन नसकेको र त्यसअघि सञ्चालित उद्योगको क्षमता पनि ५० प्रतिशतभन्दा कम रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।

उद्योग सञ्चालनका लागि सरकारले तोकेको मापदण्ड कार्यान्वयनमा भएको कठिनाइले उद्योग सञ्चालन गर्न नसक्ने गुनासो उद्योगीले गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । श्रमिकलाई उद्योगभित्र राखेर काम गर्न पूर्वाधार नभएको र स्थानीय सामुदायिक भवन तथा विद्यालयमा राख्न स्थानीय तहले असहयोग गरेको लिमिटेडको भनाइ छ।

श्रम ऐनले कार्यस्थलमा श्रमिकको सुरक्षा दायित्व उद्योगीकै हुने तोकेको र महामारीको बेला जोखिम मोल्दा उद्योगी जेल जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्रास सिर्जना भएको गुनासो उद्योगीले गर्ने गरेको लिमिटेडले जनाएको छ । उद्योग सञ्चालनको मापदण्डमा सरकार र उद्योगीबीच समझदारी नभएसम्म उद्योग चल्ने वातावरण नरहेको उद्योगीहरूले बताउने गरेका छन् ।

उद्योग मन्त्रालयले सहजीकरण थाल्यो
सरकारको निर्णयपछि पनि उद्योगधन्दा सञ्चालनमा आउन नसकेपछि सरकारले निजी क्षेत्रसँग छलफल थालेको छ । उद्योग चलाउने वातावरण बनाउने सम्बन्धमा निष्कर्ष निकाल्न सोमबार मन्त्रालयमा छलफल सुरु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स तथा महिला उद्यमी महासंघलगायतसँग छलफल थालिएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment