Comments Add Comment

मंगलबारदेखि सेयर बजार खुल्दै

२९ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द धितोपत्र बजार मंगलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मंगलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औं दिनमा खुल्न लागेको हो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्ण रूपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्से, सीडीएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment