Comments Add Comment

भैरहवा विमानस्थल, मेलम्ची र तामाकोसीमा सरकारलाई धक्का

यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने तीनवटै आयोजना अधुरै

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा ३ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सक्ने सरकारी लक्ष्य थियो । तर, सरकारको यो लक्ष अवरुद्ध भएको छ ।

लामो समयदेखि पटक–पटक म्याद थपिँदै आएका आयोजनाहरुमध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थल यसै वर्ष सक्ने घोषणा चालु आर्थिक वर्षको बजेटमै गरिएको थियो ।

देशमा ‘गेम चेन्जर’ आयोजनाका रुपमा हेरिएका यी तीनवटै आयोजनाहरु अन्तिम चरणमा आएर फेरि पछाडि धकेलिने अवस्थामा पुगेका छन् । लकडाउनका कारण अब यी आयोजनाहरु अन्तिम चरणमा पुगेर अनिश्चित बनेका हुन् । तथापि, तीनैवटा आयोजनाका अधिकारीहरु अहिले पनि निर्धारित समयमै काम सक्ने दाबी गरिरहेकै छन् ।

चैतपछि कोरोनाको संक्रमणको कारण उत्पन्न परिस्थितिले यी आयोजनाहरुमा काम गर्न कठिनाई उत्पन्न भएको छ । तर, काम ठप्पै चाहिँ भएको छैन । तर, सुस्त गतिमा रहेका यी आयोजनाको काम पछि धकेल्नका लागि कोरोना र लकडाउन बाहना बनेको छ ।

हुनत कोरोना संक्रमणको जोखिम बढ्नुअघि पनि यी आयोजनाहरुमा निर्धारित मितिमा सकिने गरी काम भइरहेको थिएन । कतै ठेकेदारका कारण समस्या आएको त कुनैलाई निर्माण सामग्री उपलब्ध नभएको र भुक्तानीमा समस्या भएको बाहनाबाजी भइरहेको थियो । अब भने कोरोनाका कारण परिस्थिति असहज भएपछि त्यसैलाई कारकका रुपमा लिन थालिएको छ ।

मेलम्ची आयोजना

खानेपानीमन्त्री वीना मगरले फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’

आयोजना प्रमुख तिरेश खत्रीका अनुसार अहिले आयोजनामा कार्यरत करिब ४ सय कामदारमध्ये १०० जना मात्रै निर्माणस्थलमा छन् । लकडाउनका कारण अरु मजदुरहरु लाखापाखा लागेका छन् ।

‘निर्माण सामग्री र उपकरणको समस्या अहिले खासै छैन, तर सुरुङको गेट लगायतको काम गर्न उच्च दक्ष कामदार र विज्ञहरु विभिन्न देशबाट ल्याउनुपर्थ्यो, उनीहरुलाई ल्याउन नसक्दा लक्ष्य प्रभावित हुने अवस्था छ,’ आयोजना प्रमुख खत्रीले भने ।

कामदारहरुको अभाव भएकाले बाँधस्थलको कामको गतिलाई घटाएर सुरुङतर्फको काममा केन्द्रित हुनुपरेको खत्रीले बताए । तर, निर्धारित समयमै काम सक्न मजदुर र दक्ष प्राविधिकको अभाव खड्किएको उनको तर्क छ । उनी भन्छन्, ‘हामी तोकिएको समयभित्रै सुन्दरीजलमा पानी ल्याउन सक्छौं कि भनेर प्रयासरत छौं ।’

भारतमा पनि लकडाउन हुँदा उद्योग धन्दा बन्द भएकाले आवश्यक सामग्रीहरु ल्याउन सहज नभएको खत्रीको भनाइ छ ।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाले मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसबाहेकका काम वर्षायाम अगावै सक्नुपर्छ ।

मेलम्चीको पानी सुरुङतर्फ फर्काउने मुख्य संरचनाको काम सकिए पनि अन्तिम रुप दिन बाँकी छ । सिनो हाइड्रोले गेट निर्माण, भेन्टिलेसन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ ।

यहाँ गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण हुने आयोजनाका अधिकारी बताउँछन् । जेठ मसान्तसम्म गेट बनाइसक्ने लक्ष्य छ ।

माथिल्लो तामाकोसी

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम लकडाउनमा पनि भइरहेको छ । तर, अपेक्षित गति छैन ।

लक्षअनुसार असारसम्म यो आयोजनाको काम सकिनुपर्ने हो । तर, कार्यतालिका प्रभावित हुने निश्चित छ ।

पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा ३५६ मिटर पेनस्टक पाइप जडान भएको छ । तल्लो सुरुङको उचाइ ३७३ मिटर रहेकामा अब १७ मिटर मात्रै पाइप जडान गर्न बाँकी छ । माथिल्लो ठाडो सुरुङको ८४ मिटर पाइप जडान गर्न बाँकी छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने असारसम्म काम सक्न गाह्रो रहेको स्वीकार्छन् । आयोजनाको मुख्य बाँकी काम नै यिनै सुरुङमा पाइपहरु जोड्ने हो । असारसम्म पाइप जडानको काम सकेपछि सञ्चालनका लागि अरु तयारी थाल्नुपर्ने आयोजनाले जनाएको छ ।

लकडाउनको समयमा भित्रका कामदारलाई बाहिर आउन नदिने र बाहिरबाट पनि नयाँ मान्छे जान नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गर्दै काम भइरहेको छ ।

निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजना प्रभावित हुनसक्ने देखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘भारतमा पनि लकडाउन भएकाले त्यहाँबाट उपकरण ल्याउन पनि समस्या देखिएको छ, सबै पक्षसँग समन्वय गरी निर्माण प्रभावित हुन नदिन अधिकतम प्रयास गरिरहेका छौं’, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका घिसिङले भन्छन् ।

उनले निर्माण सामग्री अभावमा काम केहीसमय स्थगित भएमा निर्माण कार्य पुनः सुरु गर्न ज्यादै कठीन हुने बताए । आगामी असारभित्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

आयोजनाको बाँध, इन्टेक र जलाशयमा पानी भरेर प्राविधिक परीक्षण गत चैतमा नै भइसकेको छ । तर, आयोजना कहिलेसम्म बनिसकेर सञ्चालनमा आउँछ भन्ने अझै निश्चित छैन । समयममा नसकिँदा यो आयोजनाको लागत पनि करिब दोब्बर हुने अवस्था छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि कोरोनाका कारण पछि धकेलिएको छ । कोरोना महामारी नआँदा पनि यो आयोजना निर्धारित मितिमा सम्पन्न हुने स्थितिमा पुगिसकेको थिएन । अहिलेसम्म विमानस्थलको करिब ९० प्रतिशत काम सकिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन नसकेका कारण यो वर्ष विमानस्थल तयार नभएको भनिएको छ ।

टर्मिनल भवनमा ब्यागेज ह्यान्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्टका साथै धावन मार्गमा बत्ति जडान र रंगरोगनको काम बाँकी छ । जनशक्ति र उपकरणको अभावमा विमानस्थलको काम प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । ‘कोरोना भाइरसका कारण चिनियाँ दक्ष जनशक्ति नेपाल आउन पाएनन्’ क्षेत्री भन्छन्, ‘टर्मिनल बिल्डिङ र रन–वेमा उपकरण जडान हुन नसक्दा समस्या भयो ।’

यो आयोजनाको म्याद पछिल्लोपटक मार्चसम्म थपिएको थियो । अब पाचौं पटक म्याद थप्ने तयारी छ ।

विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कोरोनाको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने क्षेत्रीले बताए । ‘यो लकडाउन खुलेको ३–४ महिनासम्म सकै काम सकिन्छ,’ उनी भन्छन् ।

सन् २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण शुरु भएको थियो । गत वर्ष ४ असारमै आन्तरिक उडान शुरु गर्ने घोषणा संघीय सरकारको नीति तथा कार्यक्रममै गरिएको थियो । तर, काम नसकिएपछि बुद्ध पूर्णिमाको अवसरमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने भाका राखिएको थियो ।

निर्माण अवधि लम्बिँदा यो आयोजनाको लागत पनि बढेको छ । आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment