Comments Add Comment

धवलागिरी अस्पतालमा डायलासिसको औषधि अभाव

३१ वैशाख, बागलुङ । धवलागिरी अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ ।

अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । ‘डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ,’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।’

उनले प्रदेश र संघका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए । बजारमा पनि औषधिको खोजी भइरहेको छ । प्रमुख चिकित्सक पोखरेलका अनुसार, उक्त औषधि भारतबाट आपूर्ति हुन्छ ।

‘हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौं, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ,’ उनले भने । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

यसअघि दैनिक ६/७ बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पुर्याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित सङ्कट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

कोभिड–१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment