१. भोका देवता – पेशल आचार्य
मन्दिर, मस्जिद, गुम्बा र चर्च
सबै बन्दाबन्दीमा छन्,
पुजारी, मौलाना, लामा र पाष्टर
हठात् बेरोजगार बनाइए ।
निर्जीव ईश्वर
र, ईश्वरका लागि भन्दै
विभिन्न मुद्रा, शैली र भावभङ्गीमा डोनेसन लिने
ईश्वरका ‘सोकल्ड’ खेतालाहरू
आजकाल नाजवाफ छन् !
खाई नपाई नखोसिएर वाचाल देखिए ।
एउटा बच्चाले
बन्द ईश्वरीय आलयहरू देखाउँदै
तोतेबोलीमा सोध्यो – …अङ्कल देउताहलु के खाएल बाँच्थन् <’
उत्तर माग्न
पुजारी, मौलाना, लामा र पाष्टरहरूलाई
धुइँपत्ताल खोजेँ
ती सबै फरार थिए !
उनीहरू भोका देवता छाडेर
आ–आफ्ना घरभित्र लुकेका थिए ।
२. सरकार हराएको ब्रेकिङ न्युज- केशव गजुरेल
मैले नागरिकता च्याप्न थालेदेखि
म तिम्रो नागरिक।
राज्यको सात सिमाना छिचोलेर
राजधानीको मध्य भागमा बरालिँदै गर्दा
मैले मत पत्रमा पहिलो पटक छाप हानेर
बुढी औँलाको नङको फेद पहिलो पटक
एक थोपा निलो मसिले लत्पताए देखि
म तिम्रो नागरिक।
म औसत तिम्रो नागरिक भन्दै
राजधानीको मध्य भागमा बरालिँदै गर्दा
मैले सप्तरंगी ईन्द्रेणीका
सातै रंग चोरेर
मेरो रंगहीन घर रङ्गाउने
सपना देख्दै गर्दा
एक साँझ
रास्ट्रिय टेलिभिजनबाट अचानक
सरकार हराएको ब्रेकिङ् न्युज आयो।
त्यसपछि धेरै हराए
मैले देखेको सपनाको गोरेटो हरायो
आमाको हाँसो हरायो
बुबाको आशिर्वाद हरायो
बहिनीको उमेर हरायो
परिवारको खुशी हरायो
घर छेउको ठूलो पाटो हरायो।
र त्यही दिन
सन्दुसबाट बुबाको नामको लालपूर्जा हरायो।
अनि ,
मलाई साहित्यकार बन्न मन लाग्यो
फिल्म मेकर बन्न मन लाग्यो
नेता, प्रहरी, विश्लेषक, डाक्टर बन्न मन लाग्यो।
पत्ता लगाउनु थियो
कसरि हराउँछन सरकारसंगै सपनाका गोरेटोहरु?
त्यसपछि एक दिन,
राहदानी विभाग अगाडि उभिएर
म देख्नेछु मेरो सपनाको गोरेटोको
आकार हराएको
हरियाली हराएको
चिरबिर गीत गाउने
चराहरु हराएको।
सायद, बिश्व नक्साबाट नै देश हराएको।
सायद
हाम्रा सन्ततिले फेरि
हामीले विदेशबाट लेराएको टिभीमा देख्नेछन –
आफैले मतदान गरेको सरकार हराएको ब्रेकिङ् न्युज।
३. कोरोना लागेपछि – सन्देश पौड्याल
कोरोना लागेकोलाई
अख्तियार नलाग्ने भए
कति हामी
मास्क नलाई बस्थ्यौं होला ।
कोरोना लागेपछि
मुनाफा ह्वात्तै बढ्ने भए
हामी हातै नधोई
बस्थ्यौं होला ।
कोरोना लागेपछि
PR Visa लाग्ने भए
विश्व शान्तिको कामनामा
बालेको दियो पनि निभाउंथ्यौ होला ।
कोरोना लागेपछि
समाजमा भाइरल हुने भए
ह्यासट्यागमा
#ComeCoronaCome लेख्थ्यौं होला ।
कोरोना लागेपछि
इज्जत पाउने भए
औषधी खोज्ने वैज्ञानिकको
हात कसी बाँध्थ्यौं होला ।
कोरोना लागेपछि
गरिब हुन नपर्ने भए
सरकारको राहतको
प्याकेज त्याग्थ्यौं होला ।
कोरोना लागेपछि
जात, लिङ्ग, वर्णमा नहेपिने भए
कोरोना बनेहुन्थ्यो
भनि महायज्ञ लाउँथ्यौं होला ।
कोरोना लागेपछि
दिव्य शिक्षा मिल्ने भए
कोरोना लागेको मान्छे
खोजि खोजी हिँड्थ्यौं होला ।
कोरोना लागेपछि
भोकमरी नलाग्ने भए
जेनतेन साँचेको तिउन
तरकारी फ्याँक्थ्यौं होला ।
कोरोना लागेपछि
आतङ्कवाद नहुने भए
लकडाउनमा राखेको ढोका
हामी आफैं फोड्थ्यौं होला ।
कोरोना कम्तिमा
माईक्रोस्कोपले त देखेको छ
सबैको जनजिब्रो भेटेको छ
दम्भ कतिको रेटेको छ
थाह छ कति मेटेको छ !
जात, भात, धनी, गरिब समान गन्ने बनाएको छ
पहिले पनि, सायद पछि पनि गुमनाम
कम्तिमा अहिले मानव भन्ने बनाएको छ !
४. चाहना अधुरो रह्यो – शान्ति दीप
तिमी र म एक बनेर
नव सिर्जनामा पाइला चालौँला
नयाँ प्रेमको दीप बालेर
संसार उज्यालो पारौँला ।
सुन्दर वसन्तको माधुर्यमा
सँगसँगै मीठो सुगन्ध छर्दै
हातेमालो गर्दै रमाउने
मेरो त्यो चाहना अधुरो रह्यो ।
कति उमङ्गमा नाचेको थिएँ ।
भन्थ्यो शिशिरले हतार नगर न
वसन्तले जिन्दगीमा बहार ल्याइदिन्छ ।
तर, वसन्तले पनि साथ नदिएपछि
मेरो त्यो चाहना अधुरो रह्यो ।
स्वर्गकी परीजस्तै रूपवती तिमी
कुन कन्दरामा लुकेर हेरिएकी छ्यौ।
सबै अदृश्य छन् मेरा लागि
काल्पनिक धरातलमा उडेको छु ।
वास्तविक संसारमा अवतरण गर्न
मातापिता र राष्ट्रको कर्तव्यबोधसँगै,
खुसीको दीप बाल्न खोजिरहेको म
यो बैशाख पनि कठै !
कालो बादलको घुम्टोभित्र
रोएको छ धुरुधुरु हेर त
त्यो चम्किलो रवि पनि किन हो ?
गरेको छ लुकीछिपी हेर त
त्यो मेघराज पञ्चेबाजा बजाउँछु भन्थ्यो ।
तर बजाएको छ प्रलयको बाजा
प्रिय प्रकृतिसँग म जुध्न नसक्दा
मेरो त्यो चाहना अधुरो रह्यो ।
मैले सँगालेका मीठा सपनाहरूबीच
धेरै आशाहरू जन्मिएका थिएँ ।
बचाउने आहार खोज्दै थिएँ ।
अचानक कोमल जिन्दगीलाई
तहसनहस पार्दै राक्षस रूप लिएर
मानव संसारलाई तहस नहस पार्दै
कोरोना तिमी यस धरामा जन्मिएर
बन्द कोठामा मलाई थुनिदियौ ।
नयाँ जिन्दगीको सुरुवात गर्न
एकपछि अर्को बाधक बनिदिँदा
मेरो त्यो चाहना अधुरो रह्यो ।