Comments Add Comment

भरतपुरमा नेकपानिकट जनप्रतिनिधिले भने : कोरोना अस्पतालको विषय अतिरञ्जित गरियो

३१ वैशाख, चितवन । भरतपुर कोरोना अस्पतालको सामान ओसारपसारका बिषयलाई भरतपुर महानगरका कांग्रेस निकटका जनप्रतिनिधिले अतिरञ्जित गरेको नेकपा निकटका जनप्रतिनिधिले आरोप लगाएका छन् ।

महानगरका प्रवक्ता एवम् वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीसहित १६ वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै न्यायिक निरुपणको प्रक्रियामा रहेको बिषयलाई अनावश्यक राजनीतिकरण गरेर महानगरको विकासमा अवरोध खडा गर्न खोजिएको उल्लेख गरेका छन् ।

भरतपुर कोरोना अस्पतालको सामान त्यहीँ काम गर्ने कर्मचारीले रातको समयमा अन्यत्र लगेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि कांग्रेस चितवन र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दोषीलाई निलम्बन गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

महानगर उपमेयर पार्वती शाहको नेतृत्वमा कांग्रेसबाट विजयी १३ जना वडाध्यक्ष र २ जना कार्यपालिका सदस्यले महानगरको औपचारिक कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । नेकपा निकटका जनप्रतिनिधिहरुले विज्ञप्तिमार्फत् सहमति र सहकार्यका लागि अनुरोध गरेका छन् ।

नेकपा निकटका जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उप–प्रमुख पार्वती शाह ठकुरीकै नेतृत्वमा रहेको न्यायिक समिति तथा अनुगमन समितिले यथासक्य छिटो उक्त घटनाको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउनसमेत माग गरेका छन् ।

विज्ञप्तिमा महानगरपालिकाका सम्पूर्ण गतिविधि, विकास निर्माणका साथै आइपरेका समस्याहरू कार्यपालिकाकै बैठकमा छलफल गरी निचोडमा पुग्न र वक्तब्यबाजीलाई छोडी बिधिसम्मत ढंगले अगाडि बढ्न उपमेयर, सम्बद्ध वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment