+
+
बालुवाटारमा सबै दलको एक स्वरः :

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते ५:२०

३१ वैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । साथै, उनीहरूले जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् ।

भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाउँदै तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्व प्रधानमन्त्रीहरू र संसदमा भएका प्रमुख दलका अध्यक्षहरूलाई बोलाएर छलफल गरेका हुन् ।

बैठकमा सहभागी सबैले एक स्वरमा विवाद भएको भूमि नेपालको भएको बताएका छन् ।

‘सबैले एक स्वरमा अहिले जे विवाद भइरहेको छ, जुन क्षेत्रमा विवाद भइरहेको छ । त्यो नेपालको भूभाग हो भन्नेमा दृढ अभिमत प्रकट गर्नु भएको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘आफ्नो भूभाग फिर्ता गर्ने सरकारका हरेक प्रयासमा साथ रहने विश्वास र वचन दिनुभएको छ ।’

उनले अघि भने, ‘सबै प्रतिनिधिले प्रभावकारी कूटनीतिक कदम चाल्न र त्यसका लागि जनतालाई साथमा लिन आग्रह गर्नुभएको छ ।’ दलका नेताहरूले सरकारको कदम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरे ।

यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्नेमा उनको जोड थियो ।

राप्रपा अध्यक्षमध्येका एक प्रकाशचन्द्र लोहनीले सरकारले जति तदारुकता देखाउनुपर्ने हो, त्यो हुन नसकेको बताए । उनले अघि भने, ‘अब भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्दा जनतालाई विश्वासमा लिएर जानूस्, भित्रभित्र राखेर लुकाउने काम गर्नु भएन ।’

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो भोलिसम्म कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरूले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बढ्नेछ ।’

भारतसँग असल मित्रता चाहेको तर नेपालको भूभागको रक्षा र राष्ट्रिय हितको रक्षा सर्वोपरी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । कूटनीतिक वार्ता प्रभावकारी भएकाले तत्काल सम्वाद चाहेको भन्दै उनले भने, ‘वार्ताका लागि कोरोना कारण हुने तर आफैँले नसुझिएको बाटो उद्घाटन गर्न नसक्ने, यो ठिक भएन ।’

नेपाल आफूले पठाएको कूटनीतिक नोटको जवाफको पर्खाइमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?