+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

भारतले रेल सेवा सुरु गर्दा प्रदेश १ मा २० हजार भित्रिने अनुमान, नाकामा ‘होल्डिङ एरिया’ बनाइने

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ १ गते ८:४७

१ जेठ, विराटनगर । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा २० हजार भित्रिने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान प्रदेश सरकारले गरेको हो ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की बताउँछन् । ‘२० हजार तत्काल फर्कन्छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान हो,’ उनी भन्छन्, ‘यसरी आउँदा होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाउँछौं ।’

प्रदेश १ का तीन सय २३ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा ५ हजार ७५७ बेड छन् । त्यस्तै ५३ स्थानमा ४४९ बेडको आइसोलेसन तयार गरिएको छ । चार स्थानमा ४४ बेडको आईसीयू निर्माण गरिएको छ ।

भारतमा आंशिक रुपमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा क्वारेन्टाइन बेडको संख्या थप गर्ने तयारी छ । भारतबाट आउनेहरूलाई राख्न जिल्लास्थित सदरमुकाम आसपास क्वारेन्टाइन निर्माण गर्न १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बताए । ‘सम्बन्धित जिल्लामा आउनसक्ने संख्याको आकलन गरेर क्वारेन्टाइन तयार गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘भारतबाट आएकाहरूलाई सुरुमा नाकामै होल्ड गर्छौं, स्वास्थ्य जाँचपछि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउँछौं ।’

के हुन्छ होल्डिङ एरियामा ?

भारतीय सीमा क्षेत्र आसपास निर्माण गरिने होल्डिङ एरिया २ हजार जनासम्म अटाउने गरी बनाउन लागिएको उनले बताए । खाडी मुलुकबाट फर्कनेलाई पनि व्यवस्थापन गर्न पूर्वतयारी गरिएको उनको भनाइ छ ।

‘भारतबाट मात्र होइन मलेसिया र अन्य खाडी मुलुकबाट नेपालीहरू आउँछन्,’ उनले भने, ‘प्लेन खुलेपछि आउनेहरूलाई पनि सम्बन्धित क्षेत्रमा राख्ने योजना छ ।’ नाकामा होल्डिङ एरिया निर्माण गर्न सार्वजनिक स्थान तथा शैक्षिक संस्था प्रयोग गरिने उनले बताए।

मन्त्री कार्कीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिने होल्डिङ एरियामा भारतबाट प्रवेश गर्नेहरुलाई राखिन्छ । प्रहरीको निगरानीमा राखिनेहरूको सबै विवरण टिपिन्छ । यसरी टिपोर्ट गर्दा उनीहरूको ठेगाना, परीक्षण गरे-नगरेको अवस्था बुझेर अन्य स्वास्थ्य जाँच पनि गरिन्छ ।

किट उपलब्ध भएको अवस्थामा कोरोना परीक्षण हुन्छ । किट नभएको अवस्थामा सामान्य व्यक्तिलाई सम्बन्धित जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राख्न पठाइन्छ । शंकास्पद व्यक्तिलाई आइसोलेसनमा भर्ना गरिन्छ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?