Comments Add Comment

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !

गत फागुन २९ गते नायिका आँचल शर्मा आफ्नो प्रेमी उदीप श्रेष्ठको घरमा दुलही बनेर भित्रिइन् । आँचल र उदीपको विवाहले मिडियामा निकै चर्चा पाएको थियो ।

बैबाहिक जीवनमा प्रवेश गरेको दुई साता नपुग्दै कोरोनाको त्राशले गर्दा नेपाल लकडाउन भयो । त्यसयता आँचल र उदीप घरमा नै थुनिए । विवाहपछि हनिमुनमा जान नपाएका उनीहरु अहिले घरभित्रै एक–अर्कासँग समय बिताइरहेका छन् ।

लकडाउनका कारण घरभित्रै बस्नुपर्दा पनि गुनासो छैन उनीहरुको । यो समयमा एक–अर्कालाई राम्ररी चिन्न र बुझ्न पाएको आँचल बताउँछिन् ।

आँचलले भनिन्, ‘हामीलाई एक–अर्कालाई चिन्न हनिमुन जानु परेन । हामी घरमै बसेर रमाइलो गरिरहेका छौँ ।’

आफ्नो हनिमुनको विषयमा भने आँचल बेखबर थिइन् । श्रीमान उदीपले नै सबै कुराको बन्दोबस्त मिलाएका थिए । उनी श्रीमानले दिन लागेको सरप्राइज कुरिरहेकी थिइन् ।

केही समयलाई हनिमुन योजना रद्द भए पनि पछि फेरि जान सकिने आँचलले बताइन् ।

उनले भनिन्, ‘हामी जाने भनेको ठाउँ वर्षमा दुई पटक मात्र खुल्छ रे । त्यहाँ जानलाई पहिल्यै बुकिङ गर्नुपर्ने छ रे । अहिलेलाई त समय सक्कियो । अब उदीपजीले अर्को पटक जाने भन्नुभएको छ ।’

लकडाउन आफूहरुको लागि फाइदाजनक नै भएको आँचलले बताइन् । यो समयमा अनेक तरहले प्रेम गर्न पाइएको उनको कथन छ । उनले भनिन्, ‘लकडाउन नभएको भए एक–अर्कालाई समय दिन नै गाह्रो हुन्थ्यो । तर, अहिले २४ घण्टा नै साथ बिताउन पाएका छौँ । त्यसमा खुसी छौँ ।’

आँचल र उदीपको जोडी घरको काममै व्यस्त हुन्छन् । कहिले भान्समा छिर्छन्, कहिले कोठा सफा गर्न लाग्छन् ।

आँचल भन्छिन्, ‘हामी जे काम पनि सँगै गर्छौँ । यसले यो गर्ने, यसले त्यो गर्ने भन्ने नै छैन । मैले काम गरिरहँदा उदीपजीले मलाई सयोग गरिरहनु भएको हुन्छ ।’

०००

फागुनमा नै बैबाहिक जीवनमा बाँधिएको अर्को जोडी हो– प्रियंका कार्की र आयुष्मान देशराज जोशी । उनीहरुले फागुन १५ गते विवाह गरेका हुन् ।

यो जोडी अहिले भैसीपाटीमा लिएको नयाँ घरमा बस्दै आएका छन् । त्यहाँ उनीहरु दुई जना मात्रै बस्छन् । प्रियंका पनि लकडाउनमा आफूहरुलाई माया गर्ने समय मिलेको बताउँछिन् । जहिल्यै व्यस्त रहने जीवनमा फुर्सद मिलेको र एक–अर्कालाई प्रेम गर्ने मौका पाएको उनको भनाई छ ।

यो जोडीले हनिमुनको योजना भने बनाएको थिएन । प्रियंका काममै व्यस्त भएकाले उनीहरुले हनिमुनबारे सोचेका थिएनन् ।

प्रियंका भन्छिन्, ‘मैले दुईवटा विदेशी टिमसँग काम गर्दैछु । त्यसैले हनिमुन योजना बनाएका थिएनौँ । हामी घरमा नै हनिमुन मनाइरहेका छौँ ।’

लकडाउनका कारण दिक्क भने छैन यो जोडी । घरमा दुई जना मात्रै भएकाले पनि भान्समा काम आफैँ गर्नुपर्ने हुन्छ । भान्साको काम उनीहरुले केही बाँडफाँड भने गरेका छैनन् । प्रियंका भन्छिन्, ‘मलाई पकाउन जाँगर चल्यो भने म पकाउँछु । आयुषलाई जागर चल्यो भने उसैले पकाउँछ । नत्र, मिलिमिली पकाउँछौँ । हाम्रो यसले यो गर्ने भन्ने छैन ।’

प्रियंका र आयुष्मान खासै ‘फूडी’ होइनन् । उनीहरुलाई जे खाए पनि हुन्छ । खाना पनि एक समय मात्र खाने गरेको प्रियंका बताउँछिन् ।

०००

गत वर्षको बैशाख २४ गते नायिका दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले विवाह गरे । उनीहरुले विवाह गरेको एक वर्ष बितिसक्यो । हनिमुनको बहानामा उनीहरु धेरै देश घुमिसके ।

तर, नायिका प्रसाईं लकडाउन पनि एक प्रकारको ‘हनिमुन टाइम’ जस्तै भएको बताउँछिन् ।

उनले भनिन्, ‘अहिले हामी एक–अर्का सँगै छौँ । जे गर्छौँ, सँगै गर्छौँ । समय कटाउनलाई गाह्रो छैन । एक हिसावमा अहिलेको समय हनिमुन समय नै भएको छ ।’ यो समय माया गर्नको लागि उत्तम समय भएको उनले बताइन् ।

उनीहरुको दैनिक रुटिन छ । सँगै व्यायाम गर्नेदेखि चलचित्र हेर्ने, खाना पकाउनेसम्मको । बिहान उठ्ने बित्तिकै उनीहरु सँगै व्यायाम सुरु गर्छन् । केही समय व्यायाम गरिसकेपछि फ्रेस भएर भान्सा छिर्छन् । दीपिका भन्छिन्, ‘भान्सामा कहिले म पकाउँछु, कहिले उहाँले पनि पकाउनु हुन्छ । धेरैजसो समय हामी मिलेर नै गर्छौँ ।’

खानापछि उनीहरुको ‘मुभि टाइम’ सुरु हुन्छ । सँगै बसेर उनीहरु विभिन्न जनराको चलचित्र हेर्न थाल्छन् । दीपिका भन्छिन्, ‘हामी विशेष लभस्टोरी चलचित्र हेथ्यौँ । अहिले त मिक्स छ । अहिले विशेषगरी सिरिजमा आकर्षण बढेको छ ।’

दीपिका र दिवाकर एक–अर्कासँग निकै खुसी छन् । सामाजिक संजालमा पनि उनीहरुको प्रेम झल्किने तस्विरहरु आइरहेको हुन्छ ।

०००

गत वर्षको मंसिर २१ मा नायिका ऋचा शर्मा र उनका प्रेमी दीपेक्ष विक्रम राणा बैबाहिक जीवनमा प्रवेश गरे । उनीहरुले बिबाह गरेको पाँच महिना भयो । विभिन्न कारणले उनीहरु हनिमुन पनि जान पाएका थिएनन ।

अहिलेको लकडाउनको समय परिवारसँग बिताइरहेको ऋचाले बताइन् । उनले भनिन्, ‘सबै परिवार सँगै बसेर बिहानको ब्रेकफास्टदेखि डिनरसम्म खाने मौका अरु बेला आउँला जस्तो मलाई लाग्दैन । अहिले परिवारलाई समय दिन पाइएको छ । परिवारसँग घुलमिल हुन पाइएको छ ।’

ऋचा आफ्नो श्रीमानलाई माया गर्ने उत्तम समय यसलाई मात्र मान्दिनन् । उनले भनिन्, ‘जिन्दगी नै उहाँसँग बिताउने भनेर आएपछि माया गर्ने समय त धेरै हुन्छ होला । हाम्रो व्यस्तता पनि उत्ति धेरै होइन । त्यसैले यही समय उत्तम त म भन्दिन । तर, पनि यो समयमा एक–अर्कासँग फुर्सदिलो भएर रमाउन पाइएको छ । त्यो खुसीको कुरा हो ।’

नायिका ऋचा खाना पकाउना एकदमै सैखिन छिन् । उनलाई भान्सामा काम गर्न खुबै मन पर्छ । त्यो माथि उनले पकाएको परिकार कसैले मिठो मानेर खाइदियो भने फुरुक्क बन्छिन् । अहिले ऋचाको परिकारलाई मिठो मानेर खाइदिने परिवार छन् ।

उनी भन्छिन्, ‘सबैले मिठो मानिदिनुहुन्छ । त्यसैले पनि मलाई पकाउन जाँगर चल्छ । उहाँहरुले मन नपराउने भए मलाई अल्छि लाग्थ्यो होला ।’ ऋचालाई श्रीमान् दीपेक्षले पनि सहयोग भने गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment