Comments Add Comment

जर्मनीमा फुटबल फर्कियो, डर्टमण्डको शानदार जित

३ जेठ काठमाडौं । दर्शकविहीन शान्त रंगशाला । रंगशाला आफ्नै तर दर्शक थिएनन् । खेलअघि खेलाडीले हात मिलाएनन् । दर्शकले भरिने स्ट्याण्ड पूरै खाली थियो । बेन्चमा बसेका खेलाडी र प्रशिक्षकले मास्क लगाएका थिए ।

जस्तो अवस्था भए पनि ९० मिनेटको खेल भने भयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनेको फुटबल दुई महिनापछि मैदान फर्कँदा अवस्था यस्तो देखियो ।

जर्मन लिग बुण्डेशलिगा शनिबारदेखि फेरि शुरु भयो । कोरोनाकै बीच फुटबल शुरु हुँदा बोरुसिया डर्टमण्डका एर्लिन हालान्ड गोल गर्ने पहिलो खेलाडी बने ।

राफेल गुरेइरोको दुई गोल मद्दतमा डर्टमण्डले घरेलु मैदानमा साल्कालाई ४-० ले पराजित गर्‍यो ।

सिग्नल इडुना पार्कमा २९ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । ४५ औं मिनेटमा गुरेइरोले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे ।

४८ औं मिनेटमा थोर्गन हाजार्डले गोल गरेपछि डर्टमण्डले ३-० को अग्रता बनायो । गुरेइरोले नै ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गरे ।

९० मिनेटको खेल सकिएपछि डर्टमण्डका खेलाडीले स्ट्याण्डतिर हेरेर खुशियाली मनाए तर त्यहाँ दर्शक भने थिएनन् ।

जितपछि डर्टमण्डले २६ खेलबाट ५४ अंक जोड्दै शीर्ष स्थानको वायर्न म्युनिखसंग अंक दूरी १ मा झारेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक छ । वायर्नले आइतबार युनियन बर्लिनसंग खेल्दैछ ।

तेस्रो स्थानको आरबी लेइपजिग भने फ्राएवर्गसंग १-१ को बराबरीमा रोकियो । बराबरीपछि २६ खेलबाट लेइपजिगको ५१ अंक छ ।

अन्य खेलमा हेर्थ बर्लिनले होफेनहेइमलाई ३-० ले र वल्फ्सवर्गले अग्सबर्गलाई २-१ ले पराजित गरेको छ । फर्चुना डुसेलडोर्फ र एफसी पाडेनबवर्नले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment