Comments Add Comment

कोरोनाले ब्राजिलको स्वास्थ्य प्रणाली संकटमा

५ जेठ, काठमाडौं । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोका मेयरले कोरोना भाइरस (कोभिड–१९) का कारण अस्पतालमा इमर्जेन्सी बेडको माग बढेको र अहिले मुलुकको स्वास्थ्य व्यवस्था संकटको अवस्थामा पुगिसकेको चेतावनी दिएका छन् ।

साओ पाउलोका मेयर ब्रुनो कोवासका अनुसार ब्राजिलका अस्पतालहरू ९८ प्रतिशतसम्म भरिइसकेका छन् । महामारीका कारण आगामी साता अस्पतालमा बेड अभाव हुनसक्ने उनको चेतावनी छ ।

ब्राजिलमा कोरोनाबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित छ । यहाँ अहिलेसम्म तीन हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

शनिबार ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या स्पेन र इटालीभन्दा पनि बढी पुगेको छ । यससँगै ब्राजिल कोरोना भाइरसबाट प्रभावित हुने विश्वको चौथो मुलुक बनेको छ ।

ब्राजिलमा संक्रमितको आँकडा

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १६ हजार एक सय १८ पुगेको छ । आइतबारको तथ्यांकअनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ८५ जनाको मृत्यु भएको छ ।

यद्यपि स्वास्थ्य मामिलाका जानकारहरू भने ब्राजिलमा संक्रमितको आँकडा सरकारी आँकडाभन्दा धेरै नै बढी हुन सक्ने बताउँछन् । उनीहरूका अनुसार ब्राजिलमा पर्याप्त मात्रामा परीक्षण हुन सकेको छैन । त्यसैले समग्र संक्रमितको संख्या थाहा हुन सकेको छैन ।

अहिले ब्राजिलले जसरी महामारीको सामना गरिरहेको छ, त्यसका लागि ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना भइरहेको छ । आइतबार भौतिक दुरी कायम राख्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दिएको सुझावको बेवास्ता गर्दै बोल्सोनारोले ब्रासिलियामा आफ्ना समर्थक र बालबालिकालाई भेटेका थिए ।

साओ पाउलोका मेयर के भन्छन् ?

ब्रुनो कोवासले मुलुकका नागरिकको सुरक्षाको लागि ल्याइएको लकडाउनमा कडाइको विषयमा चर्चा गर्दै अहिले ब्राजिलको स्वास्थ्य व्यवस्था संकटमा रहेको बताएका हुन् ।

उनले अस्पतालको क्षमताभन्दा धेरै बिरामी आउनु अगाडि नै कडा कदम उठाउनु जरुरी रहेको बताएका छन् ।

साओ पाउलोमा लकडाउन र प्रहरीमा नियन्त्रणको लागि गभर्नर समर्थन निकै जरुरी छ । साओ पाउलोको जनसंख्या करिब एक करोड २० लाख र आधिकारिक तथ्यांकलाई मान्ने हो भने अधिकांश मानिसले भौतिक दुरी कायम राख्ने नियम मानेका छैनन् ।

अझै कडा हुन सक्छ लकडाउनको नियम

कोरोना भाइरसको महामारी रोक्न ब्राजिलमा दुई महिनाअघि एक किसिमको क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । यहाँ स्कुल, कलेज र व्यवसाय बन्द गरिएको थियो ।

मानिसहरूलाई घरमै बस्न सुझाव दिइएको थियो । यद्यपि नियम उल्लङ्घन गर्नेलाई सजायको कुनै व्यवस्था थिएन । अहिले पनि यहाँ मानिसहरू समुद्रीतटमा समय कटाउन गइरहेका छन् ।

हालै मात्र साओपाउलोमा मास्क लगाउने नियम बाध्यकारी बनाइएको थियो । तर, मानिसहरू यो नियमको पनि पालना गरिरहेका छैनन् । ब्राजिलमा अहिले पनि धेरै मानिसहरू कोरोना भाइरसको महामारीको विषयलाई लिएर त्यति धेरै गम्भीर बनेका छैनन् । उनीहरू मास्क नलगाई साइक्लिङ जाने र मास्क नलगाई घुम्ने गरिरहेका छन् ।

पछिल्लो समय युरोपका मुलुकमा पनि लकडाउन खुकुलो पारिएको छ । जसको कारण ब्राजिलका मानिसहरू पनि लकडाउन खोल्नुपर्ने पक्षमा देखिन थालेका छन् । त्यसैले अब ब्राजिलमा कोरोना भाइरसको महामारीले कस्तो रुप लिन्छ होला भन्ने चिन्ता सुरु भएको छ ।

यद्यपि मेयर ब्रुनो कोवासका अनुसार सहर खोल्नुभन्दा पहिला यसलाई बन्द गरिनु जरुरी रहेको बताएका छन् ।

राष्ट्रपतिले कस्तो कदम चालिरहेका छन् ?

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो साओ पाउलोमा निकै लोकप्रिय छन् । उनले बारम्बार भौतिक दुरी कायम राख्ने नियमले मुलुकको अर्थतन्त्रमा नराम्रो असर पार्न सक्ने बताउँदै आएका छन् । लकडाउनको विरोध गर्ने उनले कोरोना भाइरसलाई एक सामान्य फ्लुको संज्ञा दिएका छन् । उनले कोरोना भाइरस फैलिनु सामान्य कुरा रहेको बताउँदै आएका छन् ।

गत अप्रिलमा राष्ट्रपतिले मुलुकमा लकडाउन हटाउन भएको प्रदर्शनकारीलाई साथ दिएका थिए । उनले महामारीले मुलुकमा बेरोजगारी र भोकमरी बढाउने बताएका थिए । गत साता राष्ट्रपतिले मुलुकमा ब्युटीपार्लर र जिम खोल्न अनुमति दिएका थिए । यो निर्णयमा असन्तुष्ट रहँदै स्वास्थ्यमन्त्री नेल्सन टेइकले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

के भन्छन् जानकार ?

विशेषज्ञहरूका अनुसार अहिले ब्राजिलमा पर्याप्त मात्रामा परीक्षण हुन नसकेको कारण ब्राजिलमा कोरोना भाइरसको संक्रमण वास्तविक संख्याभन्दा कम देखिएको छ । परीक्षण फराकिलो बनाउने हो भने यो संख्या धेरैले बढ्ने उनीहरूको भनाइ छ । अहिले ब्राजिल विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा छ ।

युनिभर्सिटी अफ पाउलो मेडिकल स्कुलका डोमिनिको एल्वेसले एएफपीसँग कुरा गर्दै अहिले ब्राजिलमा अस्पताल पु¥याइएका मानिसमा मात्र कोरोना भाइरसको परीक्षण भइसकेको बताइएका छन् । उनले अहिले प्राप्त भएको तथ्यांकको आधारमा मुलुकमा के भइरहेको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् । महामारी नियन्त्रणका लागि वास्तवमा नै ब्राजिलसँग कुनै ठोस रणनीति नभएको उनको भनाइ छ ।

हालै ब्राजिलमा गरिएको उक्त अध्ययनमा कोरोना भाइरसका संक्रमितको संख्या सरकारी आँकडाभन्दा १५ गुणा बढी छ । एल्वेस पनि यो अध्ययनमा सहभागी मानिसमध्येका एक हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment