Comments Add Comment

सरकारले गुमेको भुमि फिर्ता गराएरै छोड्छ : दिनानाथ शर्मा

६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । उनले नेपालको एक कण माटो पनि नछोड्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट पारित भएको भोलिपल्ट राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै नेता शर्माले सो कुरा बताएका हुन् ।

‘सरकारले एक कण माटो छोड्दा पनि छोड्दैन । त्यसलाई फिर्ता गरेरै छोड्छ,’ शर्माले भने, ‘हामी कसैले एक टुक्रा जमिन वा एक इन्च माटो अथवा एक मुठी माटोको आशा पनि गर्दैनौं ।’

नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने र गुमेको भूमि फिर्ता गर्ने प्रतिवद्धता आएको र त्यसमा सांसदहरुले संसदमा प्रश्न उठाइरहँदा सरकार कार्यान्वयन गइसकेको उनले बताए ।

ओलीको प्रशंसा, संशोधन प्रस्ताव फिर्ता लिन आग्रह

इतिहासमा धेरै प्रधानमन्त्री भएको तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा काम गरेको भन्दै प्रशंसा गरे । ‘इतिहासमा धेरै प्रधानमन्त्रीहरु भए । हिँजो भारतले नाकाबन्दी लगाउँदा राष्ट्रियताको पक्षमा उभिएर जसरी गएको थियो । यसपटक हाम्रो राष्ट्रिय गौरवलाई उचो राख्ने काम भएको छ,’ नेता शर्माले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भने ।

नेता शर्माले नीति तथा कार्यक्रममाथि हालेको संशोधन प्रस्ताव फिर्ता लिन प्रमुख विपक्षी कांग्रेसलाई आग्रह पनि गरे ।

नीति तथा कार्यक्रमका सबै बुँदा पुनर्लेखन गर्नुपर्छ भनेर कांग्रेसले निषेधको राजनीति गर्न खोजेको भन्दै उनले राम्रा कुराको स्वागत र नराम्रा कुराको विरोध गर्न सुझाव दिए ।

नेता शर्माले भने,  ‘पुरै पुनर्लेखन गर्नुपर्छ भनेर जुन निषेध गरेर संशोधन आएको छ । लोकतन्त्रको लामो अनुभव भएको पार्टीले यसलाई फिर्ता लिइदिनुभयो भने स्वागतयोग्य हुन्छ ।’

नीति कार्यक्रमलाई परम्पराको निरन्तरता, ठूलो भन्नुको पनि अर्थ नरहेको उनको जिकिर छ । ‘राष्ट्रिय आवश्यकता र सोचाइको धरातलबाट आएको छ । यो सरकारको सोचाइ विशाल छ त्यसकारण ठूलो आउनु स्वभाविक हो । बाहिरी रुपमा टिकाटिप्पणी भयो । तर, त्यो परिपक्व टिप्पणी हो भन्ने लाग्दैन,’ उनले भने ।

सरकार तीन चुनौती

नेता शर्माले वर्तमान सरकारका मुख्य तीन चुनौती रहेको उल्लेख गरे । कोभिड–१९, आर्थिक संकट र राष्ट्रियता । यी तीनवटै चुनौतीविरुद्ध सबै एक ठाउँमा उभिएर एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

यी तीन वटै चुनौतीलाई सामना गर्ने गरी नीति तथा कार्यक्रमले संकल्प गरेको उनको भनाइ छ । ‘नागरिकलाई बचाउने संकल्प आएको छ । आर्थिक संकट आउँछ, योसँग बेरोजगारी र भोकमरीका लागि पनि आफ्ना नीतिहरुलाई सरकारले स्पष्ट रुपमा राखेको छ,’ शर्माले भने ।

सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने गरी योजनाहरु समेत बनाइरहेको भन्दै उनले त्यसको पनि विरोध गर्नु भन्दा सहयोग गर्नुपर्नेमा जोड दिए । नेपालमा विरोध भए पनि विश्व स्वास्थ्य संगठनहरुले प्रशंसा गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment