+
+
Shares

भारतको अरुणाचल प्रदेशमा विनाशकारी बाढी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १४:३६

११ असार, काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण घर, सडक र पुल बगेका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना बेपत्ता छन् ।

बाढीले पूसा क्षेत्र डुबानमा परेपछि अरुणाचल प्रदेश सरकारले भारतीय वायु सेनासँग समन्वय गरी उद्धार तथा राहत अभियान सञ्चालन गरेको छ । प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) का जनशक्ति र आवश्यक सामग्री छिटो पुर्‍याउन हवाई सहयोग लिइएको छ ।

केयी पन्योरका प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिक उड्डयन विभागले शिलङस्थित पूर्वी वायु कमाण्डसँग सम्पर्क गरी उद्धारकर्मी, राहत सामग्री तथा प्रभावितहरूको उद्धारका लागि हवाई सहयोग मागेको थियो ।

अधिकारीहरूका अनुसार सो क्षेत्रमा झण्डै ४८ घण्टासम्म लगातार वर्षा भएको थियो । गुवाहाटीस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी) र इटानगर मौसम केन्द्रका अनुसार याजाली क्षेत्रमा पछिल्लो २४ घण्टामा ७२.८ मिलिमिटर वर्षा मापन गरिएको छ । यसको ठूलो हिस्सा जुन २४ को बिहान ६ बजेदेखि ९ बजेसम्मको अवधिमा परेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा उर्लिंदो बाढीले घर, रुख, सवारी साधन र पुलहरू बगाएको तथा विभिन्न सडकमा क्षति पुर्‍याएको देखिन्छ ।

बाढीले करिब २० वटा घर तथा आवासीय संरचनामा क्षति पुगेको छ भने तल्लो भूभाग डुबानमा परेको प्रारम्भिक विवरण छ ।

भारी वर्षाको प्रभावले राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ र धेरै यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

सरकारी स्वामित्वको (एनईईपीसीओ) ले सावधानीका रूपमा रंगनदी बाँधबाट पानी छोड्न थालेको र जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

अरुणाचल प्रदेशका सांसद तथा केन्द्रीय मन्त्री किरण रिज्जुले सामाजिक सञ्जालमार्फत क्षतिको भिडियो सार्वजनिक गर्दै बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?