+
+
Shares

८ दिनदेखि राइस मिलको गेटमा व्यवसायीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १५:१०

११ असार, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित कौशल एग्रो राइस मिलको गेटमा धान व्यापारीहरू ८ दिनदेखि धर्नामा बसेका छन् ।

बिक्री गरेको धानको भुक्तानी नपाएपछि उनीहरू धर्नामा बसेका हुन् ।

मिलले धानको रकम नदिएको भन्दै धान व्यापारीहरू मिलको मुख्य गेट अगाडि धर्नामा बसेका हुन्।

गाउँ–गाउँबाट किसानको धान खरिद गरी राइस मिललाई बुझाए पनि ६ देखि ८ महिनासम्मको भुक्तानी आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।
धान व्यापारी रामनाथ साहले राइस मिलले धानको भुक्तानी नदिँदा किसानहरू आफ्नो घरमै पैसा माग्न आउने गरेको सुनाए ।

‘हामी किसानको घर–घर पुगेर धान किनेर उद्योगमा बुझाउँछौं। उद्योगले पैसा नदिँदा अहिले किसानहरू हामीमाथि दबाब दिन बाध्य छन्,’ उनले भने।

व्यापारी प्रमेश साहका अनुसार आफू सहित चार जना व्यापारीको करिब ४० देखि ४५ लाख रुपैयाँ उद्योगसँग बाँकी छ।

‘पुसमै पैसा दिने भनिएको थियो । पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएन। आठ दिनदेखि धर्नामा बस्दा समेत समस्या समाधानको पहल भएको छैन,’ उनले गुनासो गरे।

व्यापारी उमेशकुमार महतोले रोपाइँको समयमा किसानलाई नगद अभाव भएको बताए । मल, बीउ, खेत जोत्न र रोपाइँका लागि किसानलाई तत्काल पैसा चाहिएको छ। उद्योगले रकम नदिँदा किसानहरू ऋण खोज्न बाध्य भएको उनले बताए ।

आन्दोलनरत व्यापारीहरूका अनुसार करिब १ हजार ५० क्विन्टल धानको मूल्य बराबर ४०–४५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।

व्यापारी अशोककुमार महतोले इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको जानकारी दिए ।

हामी शान्तिपूर्ण आन्दोलनमा छौं तर समस्या समाधानका लागि प्रभावकारी पहल भएको छैन । उल्टै उद्योग पक्षबाट दबाब र धम्कीसमेत आउने गरेको उनले आरोप लगाए ।

यता, कौशल एग्रो राइस मिलका सञ्चालक कुशेश्वरप्रसाद साहले भने व्यापारीहरूको आरोप अस्वीकार गरेका छन् ।

उनले सबै रकम भुक्तानी गरिसकेको दाबी गर्दै आफू नै अन्यायमा परेको बताए । उनका अनुसार केही महिनाअघि गोलबजारका व्यापारी महेश साहसँग उद्योग खरिद गरिएको थियो तर सम्झौताअनुसारका सबै विषय हस्तान्तरण नभएकाले आफूले पनि जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक ले व्यापारीहरूको निवेदनमाथि अनुसन्धान भइरहेको बताए ।

‘सञ्चालकलाई सम्पर्क गर्दा कहिले विराटनगर, कहिले काठमाडौं रहेको भन्दै छलफल टार्ने गरिएको छ। अब दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास गर्छौं । उपस्थित नभए कानुनी प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने।

व्यापारीहरूले भने रकम भुक्तानी भएको दाबी गर्ने उद्योग पक्षलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

किसान, व्यापारी र उद्योगबीचको विवाद लम्बिँदै जाँदा यसको सबैभन्दा ठूलो मार भने रोपाइँको मुखमा नगद अभाव झेलिरहेका किसानहरूलाई परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?