Comments Add Comment

रंगमञ्चमा कोरोना कहर : संकटपछि नयाँ धार सुरु हुने आशा

कलाकार र दर्शकको भौतिक सामीप्यविना रंगकर्म चल्दैन, जसलाई विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले असम्भव बनाइदिएको छ ।

विश्व वैज्ञानिक जगतले सामाजिक दुरी कायम गरे कोरोना महामारीबाट सुरक्षित हुन सकिने बताइरहेको छ । यही अनुसार नेपालमा पनि देशव्यापी बन्दाबन्दी जारी छ । दुई महिनादेखिको बन्दाबन्दीले छ महिनासम्मका सयौं नाटक कार्यक्रम रद्द भइसकेका छन् । यसले आर्थिक संकटमा त पारेको छ नै, रंगमञ्चको दीर्घकालीन गतिशीलतामा समेत प्रश्न उठाएको छ ।

निर्देशक, नाट्यकर्मी, प्रशिक्षक तथा भिलेजका सञ्चालक विमल सुवेदी कोरोना भाइरसले रंगमञ्च क्षेत्रमा काम गर्ने कलाकार र निर्मातादेखि प्राविधिकसम्मलाई आहत पारेको बताउँछन् । ‘म दैनिक एक समय प्रशिक्षण दिँदै नाटक मञ्चनको तयारीमा थिएँ’, उनी भन्छन्, ‘बन्दाबन्दी सुरु भएपछि एकाएक अन्योलमा एक्लो महसुस गरेर बस्नु परेको छ, अब कहिले र कसरी नाट्य गतिविधि फर्कन्छ, थाह छैन ।’

सुवेदीका अनुसार, महायुद्ध र महासंकटमा कला क्षेत्र धेरै प्रभावित भएको इतिहास छ । त्यपसपछिको समयमा कला क्षेत्रमा नयाँ धार सुरु भएको इतिहासले उनलाई आशावादी पनि बनाउने गरेको छ ।

बन्दाबन्दीकै वीचमा पनि थिएटर मल कीर्तिपुरले भर्चुअल नाटक महोत्सव सम्पन्न गर्‍यो । १४–१६ चैतमा चलेको महोत्सवमा दुई विदेशीसहित २० वटा नाटकको भिडियो फेसबुकबाट लाइभ गरियो ।

थिएटर मलका सञ्चालक तथा नाट्यकर्मी केदार श्रेष्ठ रंगमञ्चप्रतिको आकर्षण घट्न नदिन यस्तो महोत्सव गरेको बताउँछन् । यद्यपि, नाटकको मर्म दर्शक–कलाकार निकटतामै हुने उनलाई लाग्छ । भन्छन्, ‘भौतिक उपस्थितिबिना पनि सृजनशील बन्न सकिन्छ भन्ने देखाउन र बन्दाबन्दीमा नाटकप्रतिको आकार्षण जोगाउन भर्चुअल महोत्सव गरेका हौं ।’

रंगमञ्चका कलाकारहरु अहिले अभ्यास र प्रस्तुतिलाई लिएर चिन्तित छन् । अभ्यास गर्न नपाएपछि प्रस्तुति खारिँदैन । तर, अहिले त अभ्यास र प्रस्तुति कहिले पाइने हो, अनिश्चित बनेको छ । यसबाट कलाकारसँगै नाट्य विधाको भविश्यमाथि प्रश्न आइपरेको छ । ‘नियमित नाट्य गतिविधिबाट तन्दुरुस्तीसँगै चेहरामा छुट्टै चमक ल्याउँथ्यो’, कलाकार सरिता शाह भन्छिन्, ‘महिनौंको ग्यापले अबको अभिनयमा अवश्य प्रभाव पार्नेछ । ’

कोराना महामारीले सबैखाले नाट्य कार्यकलाप ठप्प पारेको छ । रंगमञ्च सम्वद्व सबै हात बाँधेर एकान्तवास बस्न बाध्य छन् । देशभित्रमात्र होइन भारत र युरोपमा निर्धारित नाट्य महोत्सव तथा तालिमहरु पनि रोकिँदा नेपाली कलाकार, निर्देशक र सम्वद्ध समुहहरुको गतिविधि ठप्प बनेको छ ।

आर्थिक मारमा रंगमञ्च

रंगमञ्चमा कलाकारहरु दर्शक सामु र निर्देशक, प्राविधिक, लगानीकर्ता, लेखक आदी नेपथ्यमा हुन्छन् । सबैको आर्जनको स्रोत नाटक मञ्चन हुन्छ । लामो समय नाटक रोकिँदा उनीहरूको रोजीरोटीमा असर परेको छ । महाकारी रोकिन लामो समय लाग्ने सम्भावनाले भय बढाएको छ ।

रंगमञ्चमा प्रकाश संयोजनको प्राविधिक काम गर्ने इँगिहोपो कोँइच सुनुवार लामो बन्दले गुजरालाई कठिन पार्न थालेको बताउँछन् । उनी बन्दाबन्दी खुलेपछि पनि छ/सात महिना काम नपाएर खालीहात बस्नुपर्ने अवस्था आउने देखिरहेका छन् । उनी भन्छन्, ‘भोलिको त्यो परिस्थितिले झन् चिन्ता थपेको छ ।’

सुनुवारसहित करिब दुई दर्जन प्रकाश संयोजन प्राविधिक जनशक्ति जस्तै नाट्य संस्था र फुटकर नाटक खेल्ने कलाकार पनि आर्थिक समस्यामा परेका छन् । २०६४ सालमा मुगुमा ‘कर्णाली आर्ट सेन्टर’ खोलेर अभिनय कर्म गरिरहेका हीरा नेपाली कोरोना महामारीले संटकमाथि महासंकट थपेको बताउँछन् ।

उनको समुहले यही वैशाखमा काठमाडौंमा गर्ने नाटक प्रदर्शनी रोकियो । कर्णाली प्रदेशस्तरिय तालिम कार्यशाला पनि अनिश्चितकालका लागि रोकिएको छ । नाट्य कर्मबाटै आर्जन गर्ने हीरा नेपाली जस्ता कलाकारहरु अहिले यतै खाली हात उतै खाली भएर बस्न बाध्य छन् ।

मोरङको ‘आरोहण गुरुकुल’ र ‘झोराहट नाट्य संस्था’ तथा कास्कीको ‘पोखरा थिएटर’का रंगकर्मीहरुलाई आर्थिक समस्या हुन थालेको छ । ‘मुलतः आर्थिक समस्याले गर्दा नाट्य समुह नै तितरवितर हुने अवस्था छ’, पोखरा थिएटरका सञ्चालक ‘परिवर्तन’ भन्छन्, ‘कतिपय कलाकार यो क्षेत्रबाट पलायन हुने संकेत देखिएको छ ।’

जग्गा तथा भवन भाडा र बिजुलीपानी आदिको शुल्कले दिमाग खान थालेको उनी बताउँछन् । कोरोना भाइरसले थिएटरहरुको आम्दानीको सबैखाले बाटो बन्द गरिदिएको उनले बताए ।

विषम परिस्थिति काट्ने आ–आफ्नै पारा

निर्देशक सुनिल पोखरेल बन्दाबन्दीको समय लम्बिँदै जाँदा कलाकारहरुले सकृय हुने नयाँ उपायाहरु निकाल्नुपर्ने बताउँछन् । ‘नाटकका विविध आयाममा भर्चुअल बहस गरेर नयाँ धार (ट्रेण्ड) को विकास गर्न सकिन्छ’, उनी भन्छन्, ‘सृजनशील जमातलाई प्रतिकुलताले रोक्न सक्दैन ।’

नाट्कर्मी केदार श्रेष्ठ मानिसको सिर्जनशीलता र संघर्षले सधैं संकटलाई जितेको बताउँछन् । कोरोना महामारीपछि रंगमञ्च नयाँ चेतनासहित ब्युतिने उनको आशा छ । आफू भने यो विषम परिस्थितिमा दर्शक–श्रोतासँग छलफल गर्ने, नाटक अनुवाद, लेखन र अध्ययनमा केन्द्रित हुने श्रेष्ठले बताए ।

गत वर्ष भारतीय नाटक ‘महाभोज’को नेपालीकरण र प्रदर्शन गरेका लेखक विप्लव प्रतीक विदेशी नाटकहरु पढेर बन्दाबन्दीका समय कटाइरहेका छन् । नेपाली सन्दर्भसंग मेल खाने नाटक भेटिए अनुवाद पनि गर्ने मुडमा छन्, उनी । प्रतीक भन्छन्, ‘संकटको समयलाई उपयोगी बनाउन सक्दा भोलिको दिन सार्थक हुन्छ ।’

कलाकार एवं निर्देशक अनुप बरालको पनि यो वर्षको सुरुमै अमेरिकी नाटकको नेपाली प्रस्तुति दिने योजनामा भसक्कै कोरोना लाग्यो । अहिले उनी रंगमञ्च डिजाइन, ड्रेस, सेटअप र निर्देशनका आधुनिक शैली समेटिएको पुस्तक तयार पार्न जुटेका छन् । संकट छ भनेर आफ्नो व्यक्तिगत प्रयासमा गर्न सकिने कामहरु रोक्न नहुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment