Comments Add Comment

ट्रक भाडामा लिएर सरकारले नै गाउँको तरकारी ल्याउनुपर्छ : बिडारी

Photo Credit : फाइल तस्वीर
रामनारायण बिडारी

७ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् ।

‘ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे छन् शरहमा ल्याएर बेच्नुपर्‍यो । शहरबाट गाउँ जाँदा मल र बीऊ लैजान पर्‍यो’ बिडारीले भने ।

यसले भारतीय सामान नेपाल आउन रोकिने उनको भनाइ छ ।

तर आफ्ना सुझाव सरकारले नसुनेको विडारीले बताए । ‘हामीले पटक पटक भन्दा पनि सरकारले सुनिरहेको छैन । कि हुँदैन भन्न पर्यो । होइन भने त्यो काम किन नगर्ने ?’ बिडारीको प्रश्न छ ।

सांसद विडारीले प्रमुख जिल्ला अधिकारीहरुले जथाभावी सवारी पास वितरण गरेकाले कोरोना फैलिएको आरोप लगाए ।

‘कोरोना फैलिनुमा सीडीओको पनि दोष छ’ बिडारी भन्छन्, ‘…तास खेल्दाको साथी, रक्सी खाँदाको साथी, जम्मैलाई पास बाडिँदिने । अहिले पनि पास वितरणमा गृहमन्त्रालयको ध्यान जाओस् ।’

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आग्रह गरे । ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले संकटमा परेका आफ्ना ८/१० लाख नागरिकलाई स्वदेश फर्काउन किन नसकेको ?’ कांग्रेस सांसद प्रकाश पन्थले सोधे ।

कांग्रेसका अर्का सांसद जितेन्द्रनारायण देवले पनि स्वदेश आउन चाहनेलाई ल्याउनुपपर्ने बताए । ‘कोही भवितव्यले मर्छ भने नेपालमै मर्न दिउँ’ सांसद देवले भने ।

राष्ट्रिय जनता पार्टीका सांसद शेखरकुमार सिंहले कोरोना भाइरसको संकटबाट बच्न कृषि र साना उद्योगमा लगानी बढाउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment