Comments Add Comment

डब्ल्यूएचओमाथि ट्रम्पको चार आरोप- कति सही ? कति गलत ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिँदै आएका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीको रोकथामका लागि नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोपसहित ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

कोभिडको महामारीबारे सुरुमा सही सूचना दिन नसकेको ट्रम्पको आरोप छ । कोभिडविरुद्ध डब्ल्यूएचओले चालेको कदममाथि ट्रम्पले दिएका अभिव्यक्तिहरू यहाँ उल्लेख छ –

पहिलो दाबी

‘डब्ल्यूएचओले पर्याप्त रुपमा सही समयमा पारदर्शी सूचना संकलन गर्न र प्रदान गर्न सकेन ।’ यसबारे सूचना संकलन र प्रसारमा डब्ल्यूएचओ चुकेको ट्रम्पको आरोप छ ।

निरन्तर डब्ल्यूएचओविरुद्ध प्रहार गर्दै आएका ट्रम्पले मे १८ मा संगठनका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई पत्रै लेखेर डब्ल्यूएचओको कमजोरी औंल्याएका छन् । डब्ल्यूएचओले निरन्तर गत ६ वर्ष वा सोभन्दा अगाडि नै चीनको वुहानमा यो भाइरस पत्ता लागेको विश्नसनीय प्रतिवेदनको बेवास्ता गर्दै आएको ट्रम्पको आरोप छ ।

उक्त पत्रमा ट्रम्पले लेन्सेन्ट मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनलाई विशेष जोड दिएका थिए । लेन्सेन्टका सम्पादक रिचार्ड होर्टनले त्यसको जवाफमा पत्र लेख्दै सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरस फैलिएको कुनै प्रतिवेदन सार्वजनिक नभएको बताएका छन् । उनका अनुसार यो भाइरसबारे पहिलो प्रतिवेदन सन् २०२० को जनवरी २४ मा चिनियाँ वैज्ञानिकहरूबाट प्रकाशित भएको थियो ।

ट्रम्पको आरोप अस्वीकार गर्दै डब्ल्यूएचओले चीनले दिएको सूचनाको आधारमा राम्रोसँग यसलाई नियन्त्रणको लागि काम गरेको र यी सूचनाहरू चिकित्सा र वैज्ञानिक विशेषज्ञहरूलाई दिएको बताएको छ ।

डब्ल्यूएचओका अनुसार डिसेम्बर ३१ मा चीनले ‘अज्ञात कारणबाट भएको निमोनिया’को रुपमा यो रोगबारे जानकारी गराएको थियो । यो जानकारी डब्ल्यूएचओले जनवरी ४ मा प्रकाशित गरेको थियो ।

जनवरी ५ मा डब्ल्यूएचओले चीनसँग यसबारे थप जानकारी मागेको थियो । जनवरी १२ मा चीनले सार्वजनिक रुपमा नयाँ कोरोना भाइरसको जेनेटिक सिक्वेन्स सार्वजनिक गर्‍यो ।

जनवरी २० र २१ मा डब्ल्यूएचओको टोलीले वुहान भ्रमण गरेको थियो । यसको विवरण डब्ल्यूएचओले जनवरी २२ मा सार्वजनिक गरेको थियो । जनवरी २८ मा डब्ल्यूएचओका प्रमुख गेब्रेयेसुसले चिनियाँ नेतासँग यसबारे छलफल गरेका थिए ।

जनवरीको अन्तिममा डब्ल्यूएचओले कोरोना भाइरसका कारण विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको थियो ।

दोस्रो दाबी

‘जनवरीको मध्यतिर डब्ल्यूएचओले कुनै स्पष्ट प्रमाण नभइकन यो भाइरस एक मानिसबाट अर्को मानिसमा नसरेको बताएको थियो ।’

डब्ल्यूएचओले निरन्तर आफ्नो कुरा फेरेको समय ट्रम्पले पहिचान गरेका छन् ।

जनवरी १४ मा डब्ल्यूएचओले सामाजिक सञ्जाल ट्विटरमा चिनियाँ अधिकारीले गरेको प्रारम्भिक अनुसन्धानले यो भाइरस मानिसबाट अर्को मानिसमा सर्ने स्पष्ट प्रमाण नपाइएको बताएको थियो ।

तर, सोही दिन डब्ल्यूएचओको इमर्जिङ डिजिज युनिटका मारिया भान केर्कोभले उक्त अभिव्यक्तिको विपरीत सञ्चारकर्मीलाई मानिसबाट मानिसमा केही मात्रामा संक्रमण फैलिन सक्ने देखिएको बताएकी थिइन् । यद्यपि, उनले अहिलेसम्म मानिसबाट मानिसमा यो भाइरस सर्ने स्पष्ट प्रमाण भने नभेटिएको बताएकी थिइन् ।

जनवरी २२ सम्म डब्ल्यूएचओले यो भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने पुष्टि गर्न सकेको थिएन । डब्ल्यूएचओले भने चीनको आग्रहमा यो भाइरसको प्रमाण सार्वजनिक गर्न ढिलाइ गरेको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।

तेस्रो दाबी

‘डब्ल्यूएचओसँग चीनबाट स्वतन्त्रताको कमी छ ।’

पछिल्लो समय ट्रम्पले डब्ल्यूएचओलाई लेखेको पत्रमा चीनसँग निकै निकट रहेको र महामारी नियन्त्रणको लागि बाँकी उद्देश्य पूरा गर्न भने असफल रहेको उल्लेख छ ।

ट्रम्पको यस किसिमको भनाइ डब्ल्यूएचओले गरेको चीनको प्रशंसाका कारण आएको हो । चीनले सार्वजनिक गरेको तथ्यांक पनि पारदर्शी रहेको डब्ल्यूएचओले बताउने गरेको छ । डब्ल्यूएचओको यो व्यवहारले चीनलाई चिढाएको हो ।

यद्यपि धेरै विशेषज्ञ र राजनीतिक नेताहरूले सुरुमा भने चीनले महामारी नियन्त्रणको लागि चालेको कदमको प्रशंसा गर्दै आएका थिए ।

अहिले डब्ल्यूएचओ चीनको प्रभावमा आएको आरोप लाग्दै आएको छ । विशेषगरी ताइवानलाई सदस्यता दिने विषयमा ताइवान चीनको प्रभावमा परेको आरोप लगेको छ । ताइवान संयुक्त राष्ट्रसंघको सदस्य नरहेका कारण डब्ल्यूएचओको पनि सदस्य छैन । तर, पनि डब्ल्यूएचओले ताइवानसँग सम्पर्कमा रहेको र ताइवानसँग पनि सूचना आदानप्रदान भइरहेको बताएको छ ।

ताइवानले डिसेम्बरको अन्तिममा नै यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना रहेको भन्दै आवाज उठाएको बताएको छ । तर, आफ्नो चेतावनीलाई डब्ल्यूएचओले बेवास्ता गरेको उसको भनाइ छ । तर, अहिलेसम्म डब्ल्यूएचओले ताइवानले दिएको चेतावनीलाई भने आफूले पाएको प्रमाणको रुपमा उल्लेख गरेको छैन ।

चौथो दाबी

‘डब्ल्यूएचओले गरेको सबैभन्दा जोखिमपूर्ण निर्णय भ्रमण प्रतिबन्धको विरोध हो । वास्तवमा उनीहरू यसको विरुद्धमा हामीसँग लडेका थिए ।’

फेब्रुअरी २ मा अमेरिकाले चीन र अन्य मुलुकमाथि भ्रमणमा प्रतिबन्धको निर्णय गरेको थियो । तर, डब्ल्यूएचओले सार्वजनिक रुपमा यसको विरोध गरेको भन्ने कुनै आधिकारिक प्रमाण छैन । साथै, भ्रमणमा प्रतिबन्ध गर्नु असामान्य कुरा पनि हो ।

यद्यपि जनवरी १० मा भने डब्ल्यूएचओले भाइरस नियन्त्रणका लागि अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध नलगाउन सिफारिस गरेको थियो । यसले आर्थिक र सामाजिक हिसाबमा नकारात्मक असर पार्ने र यो भाइरस नियन्त्रणमा प्रभावकारी पनि नहुने बताएको थियो । यद्यपि त्यतिबेला यो भाइरसको विषयमा धेरै सूचनाहरू पनि पाइएको थिएन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment