Comments Add Comment

विदेशबाट लाखौं यात्रु फर्काउन हवाई पूर्वाधारको क्षमताले थेग्छ ?

८ जेठ, काठमाडौं । सरकारले कोरोना कहरका बीच विदेशमा संकटमा रहेका नेपालीलाई घर फर्काउने तयारी थालेको छ । यसअनुसार पहिलो चरणमा कम्तिमा ६ लाख नेपाली स्वदेश र्फकने अनुमान सरकारले गरेका छ । तर, नेपाललाई एकैपटक धेरै नागरिक उद्धार गर्न बजेट र क्वारेन्टाइनको व्यवस्थापकीय पक्षले मात्रै हैन, हवाई पूर्वाधारको अवस्थाले पनि समस्या पर्ने देखिएको छ ।

विदेशमा समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा घर ल्याइने भनिएको छ । यसमध्ये करिब साढे ३ लाख (भारतबाहेकका) यात्रु घर फर्कने एक मात्र ढोका हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

कोभिड १९ को संक्रमण फैलने डरले अन्तरर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र अन्य नियामक निकायले हवाई यात्रामा नयाँ-नयाँ सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालमा समेत नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुका लागि सुरक्षा निर्देशिका तयारी पारेर स्वीकृतिका लागि प्राधिकरण सञ्चालक समितिमा पठाएको छ ।

त्रिभुवन विमानस्थल भित्र भौतिक दुरी कायम गर्ने तथा वायुसेवा कम्पनीका काउन्टर, सुरक्षा निकायका पोस्ट  तथा अध्यागमनका डेस्कमा समेत सुरक्षा प्रवन्धका लागि थप भौतिक संरचना बनिरहेका छन् । यी सबैको परिपालना गर्दा साविकको तुलनामा दैनिक हवाई उडानको संख्या स्वतः आधा घट्ने त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी बताउँछन् ।

‘अब उडान खुल्नासाथ हामी साविकको जस्तै गरी सबै अपरेसन व्यवस्थापन गर्न सक्दैनौं,’ उनले भने, ‘किनकि अब हामीले केही कडाइका साथ हवाई सुरक्षा निर्देशिकाहरूको पालना गर्नुपर्नेछ ।’

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने तयारी गर्दै गर्दा यसले एकमात्र अन्तर्राष्ट्रिय ढोका त्रिभुवन विमानस्थल त व्यस्त हुने नै छ, आकाशमा पनि उच्च चाप हुने देखिएको छ । जसले गर्दा एकसाथ धेरै प्रकारका जोखिम निम्तिन सक्ने सम्भावना पनि देखिन्छ ।

‘सुरक्षा प्रवन्धका कारण स्वतः विमानस्थलको सञ्चालन क्षमता आधा घट्छ,’ उनी भन्छन्, ‘त्यसमाथि व्यवस्थापकीय अन्य समस्या आउन सक्ने सम्भावना पनि छ ।’

पार्किङको समस्या

उनका अनुसार भोलि आन्तरिकतर्फको सेवासमेत एकसाथ सञ्चालनमा आउँदा विगतमा जस्तै उच्च ट्राफिक चापका कारण आकाशमा जामको समस्या हुन सक्छ । किनकि आगामी दिनमा जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न सक्ने छैनन् । त्यसबेला धेरै जहाज उडाएर थोरै यात्रु बोक्नुपर्ने हुन्छ ।

सन् २०१९ को तथ्यांकअनुसार त्रिभुवन विमानस्थल प्रयोग गरेर वार्षिक ७३ लाख २७ हजार ४२ जना यात्रुले यात्रा गरेका थिए । यो आन्तरिक र बाहृय दुवै तर्फको आगमन र प्रस्थान समेत गरेको संख्या हो ।

यसअनुसार विमानस्थलले औसत दैनिक २० हजार ७४ जना यात्रुलाई सेवा दिएको छ । लकडाउन वा उडान प्रतिबन्ध खुल्नासाथ केही समय हवाई यात्रुको भिड साविकको तुलनामा निकै धेरै हुने प्रक्षेपण वायुसेवा कम्पनीहरूले समेत गरिसकेका छन् ।

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज बिसौनी -पार्किङ वे ९ वटा छन् । ती पार्किङ वे करिब प्याक छन् । किनकि काठमाडौं विमानस्थल नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको होम एयरपोर्ट पनि हो ।

त्यसकारण यी दुई कम्पनीले जहाज ग्राउन्डेड हुँदा काठमाडौंमै जहाज राख्नुपर्छ । भोलि तत्काल ठूलो संख्यामा नेपालीलाई फर्काउने र विदेशी विमानहरू एकसाथ ल्याउने हो भने पार्किङ व्यवस्थापनमा समेत समस्या हुने अधिकारीहरू बताउँछन् ।

वायुसेवाको क्षमता के छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली हवाई उद्योगको कमजोर अवस्थाबारे स्वीकार गरिसकेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधनलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालका वायुसेवा कम्पनीसँग भएका जहाजले तत्काल ठूलो संख्यामा यात्रु ल्याउन सम्भव नभएको स्वीकार गरे ।

उनले भनेजस्तै नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग कुल ४ वटा जहाज छन् । त्यसमध्ये पनि दुई वटा जहाजमात्र लामो दुरीमा लगातार उड्न सक्छन् । वाइडबडी ए३३० जहाजको क्षमता २७४ सिट हो । साना दुई जहाजको क्षमता भने १५८ सिटको हो ।

यसअनुसार एक पटकमा नेपाल एयरलाइन्सका जहाजले ८६४ जना बोक्न सक्छन् । तर, सामाजिक दुरी कायम गर्ने प्रावधान हवाई यात्रामा समेत लागू भयो भने यो संख्या आधाले घट्न सक्छ । त्यस अवस्थामा विदेशबाट नेपालीको हवाई यात्रा महँगो पर्न जाने सम्भावना रहन्छ ।

यस्तो अवस्थामा आफैँले खर्च गरेर उद्धार गर्नुपर्ने यात्रुलाई नेपाल ल्यान सरकारले ठूलो लगानी गर्नुपर्ने नेपाल एयरलाइन्सका अधिकारीहरू नै बताउँछन् । संसदीय समितिले सरकारलाई नागरिकको उद्धारमा  नेपाल एयरलाइन्स उपयोग गर्न भनिसकेको छ ।

यदि नेपाल एयरलाइन्सले मात्रै नागरिक उद्धार गरेर ल्याउने व्यवस्था गरेर नेपाल एयरलाइन्सलाई परेको वित्तीय संकट भने केही टर्नेछ । तर,  सरकारले भने उद्धारमा ठूलो रकम खर्चनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment