Comments Add Comment

छिर्न नदिएको कोठाको भाडा किन तिर्ने ?

हाम्रो पुस्ताले अहिलेसम्म सामना गर्नु नपरेको जटिल समयको सामना गर्नुपर्दैछ । विश्व स्वास्थ्य संगठनको कुरालाई आधार मान्दा त कोरोनाको प्रभाव अहिले त्यतिकै सहजरुपमा नसिकिने प्रष्ट हुन्छ । एकजना संक्रमित देखिँदा नेपालमा सुरु भएको लकडाउन दुई महिना पुग्न लाग्दा झन् कडा हुँदैछ ।

कतिपय देशले लकडाउनलाई थेग्न नसकेर संक्रमित बढिरहे पनि त्यसको विकल्प खोज्न थालेका छन् । तर, नेपालले त्यो आँट गर्न सकिरहेको छैन । एकपटक खुकुलो पारिएको लकडाउन झन् कडा भएको छ । संक्रमितको संख्या शून्यमा झारेर वा धेरै घटाएर लकडाउन खोल्ने हो भने त लकडाउन अझै कति महिना लम्बिने हो अनिश्चित छ ।

यसरी कोरोनाको असर बढ्दै जाँदा अहिले काठमाडौंमा केही घरबेटीले डेरावाललाई पस्न नदिएको कुरा बाहिर आएको छ । घरबेटीले स्वास्थ्यकर्मी र पत्रकारलाई पस्न नदिएको गुनासो छ ।

राजधानीका केही वडा कार्यालयले त बाहिरबाट आउने डेरावाललाई पस्न नै नदिन उर्दी जारी गरेका छन् । ललिलपुर महानगरपालिका वडानम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले जारी गरेको सूचनामा कोठा बहालमा लिएर बस्ने मानिसलाई प्रवेश गर्न दिँदै नदिने र दिए घरबेटीलाई नै कारबाही गर्ने चेतावनी दिएको छ । हिटलरले पनि यहुदीलाई नलाएको कडा नियम वडाअध्यक्ष हिटलरले डेरावाललाई आउने दुस्साहस गरेका छन् ।

तर, के बन्द कोठाको भाडा तिरिरहेका डेरावाललाई आफ्नो कोठामा प्रवेश नदिन कुन नियमले दिन्छ ? डेरावाल बाहिर बसेर भाडा तिरिहने र घरबेटी डेरावाललाई प्रवेश नदिएको बन्द कोठाको घरभाडा खाएर बसिरहने ? हो, अहिलेको समय काठमाडौंबाहिर संक्रमण देखिएको जिल्लाबाट सकेसम्म अरू जिल्ला जानुहुँदैन । तर, अतिआवश्यक काम परेर राजधानी फर्किनुपर्ने र दैनिक काम गर्न कोठा बाहिर गएर कोठामा फर्किनुपर्नेलाई बन्द कोठाको भाडा तिराएर सडकमा राख्ने ?

अहिले दैनिक काम गरेर कोठामा फर्किनु पर्ने स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र इमर्जेन्सी परेर हस्पिटल पुगेका डेरावाललाई आफ्नो कोठामा नफर्किन घरबेटी र समाजले भनिरहेका छन् । आज मात्र काठमाडौंको कपनमा ८ महिनाको एक गर्भवती अत्याधिक पीडाले टिचिङ हस्पिटलको इमर्जेन्सीमा आफ्नो श्रीमानसँग पुगिन् । हस्पिटलमा सामान्य उपचारपछि सन्चो भयो । तर, हस्पिटल गएकोले घरबेटी र टोल छिमेकले कोठामा फर्किन दिएन । ८ महिनाकी उक्त गर्भवती हस्पिटलको पेटीमा बास बस्नु परेको छ । विवेकाशील पार्टीकी नेत्री रन्जु दर्शनाले सहयोगको याचना गर्दै यो घटनाको बारेमा लेख्नुभएको छ । कोरोनाले मानिसलाई कति निर्दयी र असामाजिक बनाउँदै लागेको छ ? हस्पिटल पुगेको निहुँमा उक्त दम्पती कोठाको भाडा तिरेर पेटीमा बस्नुपर्ने अनि घरबेटी त्यही घरभाडामा रझाइँ गर्ने ? कतिसम्मको अन्नाय हो यो ? हो त एक प्रतिनिधिमूलक घटना मात्र हो । अहिले यसरी आफ्नो कोठाभित्र पस्न नपाएर सडकमा बस्नु परेको र साथीभाइ आफन्तको शरणमा पुगेकाको संख्या धेरै छ ।

घरबेटीलाई आफ्नो निजी घर भाडामा दिन/नदिन पूर्ण अधिकार छ । तर, भाडामा दिएर मनपरी गर्न पाइँदैन भन्ने बुझ्नु पनि उति नै जरुरी छ । घरबेटीले कबोल गरेको भाडा तिरेर बसिसकेपछि डेरावालको पनि हक अधिकार हुन्छ ।

काठमाडौंका अधिकांश घरबेटी डेरावालले तिर्ने घरभाडाबाट नै गुजारा टार्छन् । यहाँका स्थानीय तह पनि डेरावालले तिर्ने करबाट नै चलेका छन् भन्ने कुरा ख्याल गरियोस् । कोरोनाको जोखिम ठाउँबाट अतिआवश्यक परेर आफ्नो कोठामा आउनेलाई घरबेटी र स्थानीयतहले समन्वयन गरेर कोरोना जाँच गर्ने सहजीकरण गर्ने हो । तत्काल जाँच गर्ने सम्भावना नभए आफ्नो कोठामा आफैँ क्वारेन्टाइनमा बस्न सहजीकरण गरिदिने हो । तर, आफ्नो कोठामा पस्न नदिने होइन ।

काठमाडौंका केही घरबेटी, समाज र स्थानीय तहलाई धेरै सुरक्षित बस्नुपर्ने छ भने काठमाडौंका बाहिर पुगेका डेरावाल र स्वास्थ्यकर्मीलाई फोन गरेर अहिले तत्काल कोठामा नफर्किन र कोरोनाको जोखिम कायम रहँदा र कोठा बन्द हुँदासम्म कोठा भाडा तिर्नुपर्दैन भनियोस् । फर्किनु पर्नेले वैकल्पिक ठाउँमा बस्ने व्यवस्था गर्नेछन् ।

हैन भने मासिक कोठाभाडा तिरिरहेका डेरावालले छिर्न नदिएको बन्द कोठाको घरभाडा तिर्नुपर्ने छैन र तिर्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment