Comments Add Comment

चौबीस घण्टासम्म उठेन अस्पतालबाट कोरोना संक्रमितको शव

कोरोना देखिएपछि उपचारै भएन, छानबिन हुनुपर्छ : परिवार

९ जेठ, बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

मृतकको परिवारका सदस्य (भाइ)ले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको दाबी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

‘जब कोरोनाको रिपोर्ट आयो, त्यसपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइको दाबी छ ‘अस्पतालले राम्रोसँग उपचार गरेको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको छ ।’

बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दूध आफैँ खाएको उनले बताए ।

कोरोना पोजेटिभ देखिएपछि आफूहरूलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र बिरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।

मदानेको पुर्कोटदहबाट सन्धिखर्कसम्म मोटरसाइकमा चढेर गएको र एम्बुलेन्समा मणिग्राम आएपछि अस्पतालको गेटबाहिरबाट इमर्जेन्सीसम्म पैदल हिँडेरै गएकाले बिरामीको अवस्था त्यस्तो नाजुक नभएको मृतकका सालाले बताए ।

‘कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि डरले उपचारै भएन’ उनले भने, ‘बुधबारसम्म हेर्दै नहेरी आफैँले मृत्युको हल्ला चलाएका हुन्, पछि समाचार आएपछि मात्रै हामीलाई आईसीयूमा लगेका हुन् ।’

आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा बुधबार बिहान आफूहरू हेर्न जाँदा झ्यालको सिसा खुल्लै रहेको, सोफा बाङ्गो बनाएर राखिएको उनले बताए ।

‘कोरोना देखिएपछि बिरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानबिन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’

आफूहरूले क्षतिपूर्तिको कुरा नगरेको उनले स्पष्ट पारे । दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि शंका रहेकाले पुनः परीक्षण गराउनुपरेको उनले खुलाए । तर, दोस्रो परीक्षणको रिपोर्ट आइसकेको छैन । ‘गाउँमा कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको पनि छैन’ उनले भने, ‘अनि कसरी कोरोना देखियो ?’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाहसंस्कार गर्ने भनिए पनि घाटको समेत समस्या भएकाले ढिलाइ भएको प्रतिक्रिया दिए । उनले मृतकको मागका बारेमा आफूलाई जानकारी नभएको बताए ।

क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले बिरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दाबी गरे । ‘यस्तो अप्ठ्यारो अवस्थामा हामीले सेवा दिएका छौं । फेरि पनि अस्पताललाई नै दोष दिने कुरा सरासर गलत हो’–बस्यालले भने–‘बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो । तर, अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।’

बिहीबार मृतकको दाहसंस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा-१४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भए पनि रातिसम्म शव नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

सुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजाँच गराएर टाइफाइडको औषधि खाएका थिए । वैशाख ३० गते रातिदेखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा जाँदा जण्डिस बिग्रिएको  भनी रेफर गरिएको थियो ।

जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment