+
+
Shares

सर्लाहीका कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए

संक्रमितको ठेगानाबारे मन्त्रालयको अस्पष्टता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १२:५४

९ जेठ, जनकपुरधाम । सर्लाहीमा पछिल्लो पटक एकै साथ पहिचान भएका  १५ जना कोरोना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ । सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी गतसाता मात्रै उनीहरु सर्लाही छिरेको पाइएको हो ।

सर्लाहीको गोडैता नगरपालिकामा एक महिलासहित १४ जना र रामनगर गाउँपालिकाका एकजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका उनीहरुको  बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

‘उनीहरु लुकेर नै सीमाबाट आएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने, ‘छिरिसकेको थाहा पाएर उनीहरुलाई सिधैं क्वारेन्टाइनमा राखिएको थियो ।’

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले मुम्बईमा मजदुरी गर्दै आएका पाँचजना सीमाबाट छिरेपछि उनीहरुको स्वाब संकलन गराइएको बताए । स्वाब संकलन गर्दा एक जनाको पोजेटिभ आएको छ ।

संक्रमित सबैलाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा लग्ने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

ठेगानामा मन्त्रालयको अस्पष्टता

सूचना आयोगले अन्यौलता नहुने किसिमले संक्रमितको ठेगाना स्पष्ट रुपमा राख्न भनेपनि मन्त्रालयले अस्पष्ट ठेगाना उल्लेख गर्दै आएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले गोडैता नगरपालिकाका वडानम्बर ८, ९, ११, १३ र १४ का संक्रमित व्यक्ति भनिए पनि यो वडामा जम्मा १२ वटा वडा मात्रै रहेको नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए । मन्त्रालयले दुई वटा वडा कसरी थपे भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताए ।

मन्त्रालयले अर्काे ठेगाना पनि अस्पष्ट तरिकाले उल्लेख गरेको छ । सर्लाहीमा रामनगर गाउँपालिका भएपनि बिज्ञप्तीमा रामनगर बहुअर्बा गाउँपालिका भनेर उल्लेख गरेको गाउँँपालिका अध्यक्ष बर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?