Comments Add Comment

संक्रमण बढ्यो तर अझै सम्भव छ महामारी नियन्त्रण

काठमाडौंको टेकुमा कोरोना परीक्षणका लागि स्वाब दिनेको लाइन ।

९ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो । संक्रमितको संख्या ३० पुग्दा नेपालमा कोरोना संक्रमण छिरेको ९० दिन भएको थियो ।

वैशाख २५ गते नेपालमा कुल संक्रमितको एक सय नाघ्यो । यो पहिलो संक्रमित भेटिएको माघ ९ बाट १०६ औं दिन थियो । तर, १०० बाट दुई सय पुग्न मात्र ५ दिन लाग्यो । अर्को ५ दिनमा तीन सय पुग्यो भने अर्को दिन चार सय र दुई दिनपछि पाँच सय कट्यो।

अर्थात्, पछिल्लो २ साता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण ४० जिल्लामा भेटिएको छ । शुक्रबारसम्म पुष्टि भएका ५१६ संक्रमितमध्ये ७० जना निको भएका छन् भने कोभिड-१९ कै कारण तीन जनाले ज्यान गुमाएका छन् ।

दुई महिनादेखि लकडाउन छ । तैपनि संक्रमितको संख्या तीव्र गतिमा किन बढिरहेको छ त ?

स्वास्थ्य मन्त्रालयका एक अधिकारी सरकारले कोरोना संक्रमण भयावह हुनसक्छ भन्ने सोच्न नसक्नु नै कोरोना संक्रमण बढ्नुको प्रमुख कारण भएको बताउँछन् ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई पटकपटक सतर्क गराउँदा पनि ध्यान नदिएकाले यो अवस्था आएको उनको कथन छ । ‘संक्रमितको संख्या ५ नपुग्दै हामीले भारतबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न सकेनौं भने अवस्था भयावह हुनसक्छ भनेर जानकारी गराएका थियौं’ उनले भने, ‘तर हामीले लुकीछिपी आउनेलाई रोक्न सकेनौं, व्यवस्थित रुपले ल्याएनौं पनि ।’

स्वास्थ्य मन्त्रालयका अर्का विज्ञ ७० प्रतिशत संक्रमण भारतबाट आएका वा उनीहरूबाट सरेको बताउँछन् । उनीहरूको व्यवस्थापन गर्न नसक्नु नै सरकारको ठूलो कमजोरी हो । ‘यसरी हेर्दा लकडाउन खेर गयो’ नाम बताउन नचाहने उनी भन्छन्, ‘संक्रमण बढ्नु पहिले नै भारतमा रहेका नेपालीहरूलाई व्यवस्थित तरिकाले ल्याएर क्वारेन्टाइनमा राख्न सकेको भए यसरी संक्रमण फैलिने थिएन ।’

उनीहरू जस्तै अधिकांश जनस्वास्थ्य विज्ञ पनि संक्रमण यो अवस्थासम्म फैलन सक्ने आकलन गर्न नसक्नु सरकारको पहिलो कमजोरी भएको बताउँछन् । परीक्षण किटलगायतका स्वास्थ्य उपकरण समयमै जोहो गर्न नसक्नु दोस्रो कमजोरी हो । लकडाउनलाई प्रभावकारी बनाएर टेस्ट र ट्रेसिङ गर्न नसक्नु तेस्रो कमजोरी बन्यो ।

संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी अझै पनि व्यापक टेस्ट र कन्ट्याक ट्रेसिङ गर्नु आवश्यक रहेको बताउँछन् । उनका अनुसार कोरोना संक्रमणको हिसाबले हटस्पट बनेको ठाउँमा समुदायका सबै मानिसको पीसीआर परीक्षण गर्नुपर्छ भने अन्यत्र पनि परीक्षण गरेर संक्रमण फैलिए नफैलिएको सुनिश्चित गर्नुपर्छ ।

कोरोना नियन्त्रणमा राज्यका कमजोरीहरू दर्जनौं भएका छन्’ डाक्टर सुवेदी भन्छन्, ‘अब जनस्वास्थ्य विज्ञहरूको सुझावअनुसार राज्य चलोस्, कमजोरी नदोहोरियोस् ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी पनि भारतबाट आउने मानिसहरूलाई राज्यले व्यवस्थापन गर्न नसकेकाले संक्रमण ह्वात्तै बढेको बताउँछन् । भारतबाट आएकाहरूलाई राज्यले व्यवस्थित नगर्ने हो भने महामारी झन् भयावह हुने उनको तर्क छ ।

‘भारतबाट अब कति मानिस आएका छन् र उनीहरू कुन अवस्थामा छन् भन्ने थाहा नपाउँदासम्म महामारी कुन हदसम्म जान्छ भन्ने आकलन गर्न सकिन्न’ उनी भन्छन् ‘पहिला लुकेर आउनेहरूका कारण संक्रमण बढ्यो, अहिले आएका सबैलाई क्वारेन्टाइनमा राख्न सक्यौं भने केही आकलन गर्न सजिलो हुन्छ ।’

तर, त्यसका लागि संक्रमण फैलिएको र नफैलिएको क्षेत्रमा व्यापक टेस्ट गर्नुपर्ने डाक्टर मरासिनीले बताए । तर, अहिले पनि सरकारको तयारी नपुगेको उनको विश्लेषण छ । अहिले नै क्वारेन्टाइन स्थल, आइसोलेसन वेड तयार गर्नुका साथै परीक्षणको दायरा नबढाउने हो भने सम्भावित महामारीे धान्न नसकिने उनको भनाइ छ ।

‘अझै पनि राज्यले चाहने हो भने धेरै तयारी गर्नसक्छ । तर, त्यसका लागि महामारीसँग जुध्ने मानसिकता बनाउनुपर्छ’ मरासिनी भन्छन्, ‘भारतबाट आएका र आउने मानिसहरूलाई उचित व्यवस्थापन गर्न सयौं भने महामारी नियन्त्रण गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment