Comments Add Comment

गौरीफन्टा नाकाबाट ९ दिनमा १२ हजार जना भित्रिए

किट नहुँदा एक हजारको मात्र परीक्षण

१२ जेठ, कैलाली । दुई महिनादेखि सुनसान र चकमन्न रहेको कैलालीको गौरिफन्टा नाकामा केही दिनयता मानवसागर उर्लिरहेको छ ।

कोरोना महामारी रोक्न १० चैतमा सरकारले सीमा नाका बन्द गर्‍यो । त्यसपछि सुनासनजस्तै भएको यो नाकाबाट पछिल्लो ९ दिनमा भने १२ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । तर, तीमध्ये ११ हजारको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ २ गतेदेखि ११ गतेसम्म १२ हजार भन्दा बढीको उद्धार गरेको जनाएको छ । ‘भारतबाट आउने क्रम बढेपछि हामीले उद्धार गर्न थालेका हौँ’ प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी बताए ।

सीमा नाकाबाट प्रत्येक दिन हजारौंको भिड नेपाल प्रवेश गरे पनि स्थानीय प्रशासनसँग परीक्षण गर्न किट छैन । ‘अहिले भारतका सबै स्थानमा संक्रमण फैलिएको छ’ उनले भने ‘यस्तो अवस्थामा हजारौँ नेपाल आइरहेका छन् । परीक्षणको दायरा बढ्न नसक्दा जोखिम बढ्न सक्छ ।’

किट हुँदासम्म पीसीआर र आरडीटी दुबै परीक्षण गरिएको र त्यो सकिएपछि दुबै परीक्षण हुन छोडेको उनी बताउँछन् । ‘अहिले छैन त्यसैले सीमामै परीक्षण भएको छैन’ उनले भने ‘स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने भनेपछि हामीले पठाइरहेका छौं । ’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ९ दिनको अवधिमा सीमा नाकाबाट १२ हजार दुई सय ४३ जनाको उद्दार गरिएको बताए । आइतबार मात्रै करिब ४ हजारको उद्धार गरिएको उनी बताउँछन् ।

‘हामीले प्रत्येक दिन हजारौँको संख्यामा नागरिकलाई उद्धार गरिरहेका छौँ । तर, उनीहरुमध्ये अधिकांशको स्वास्थ्य परीक्षण सीमामै हुन सकेको छैन’ उनले भने ‘सीमामा भिड त आइरहेको छ । तर, किट आएको छैन ।’

९ दिनको अवधिमा १२ हजार बढी नागरिक भित्रिएपछि ९५० जनाको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने सोमबार किट लगायत आवश्यक स्वास्थ्य सामग्री आइपुग्ने बताए ।

‘काठमाडौंबाट स्वास्थ्य सामग्री आउँदै छ’ उनले भने, ‘ती सामग्री आएपछि हामीलाई केही सहज हुन्छ । ’

प्रदेशले पनि किन्दै छ किट

संक्रमण फैलिएको क्षेत्रबाट आएका नागरिकको परीक्षण गर्नै समस्या हुन थालेपछि प्रदेश सरकारले पनि किट खरिदको प्रक्रिया अघि बढाएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले किट खरिद प्रक्रिया सुरु गरेको सूचना अधिकारी खड्काले बताए ।

‘२० हजार आरडिटी र दुई हजार पीसीआर किट खरिदको प्रक्रिया सुरु भइसकेको छ’ उनी भन्छन्, ‘२२ हजार किटलगायतका अन्य स्वास्थ्य सामग्री आएपछि परीक्षणको दायरा बढ्छ ।’

भीटीएम, पीपीई सेट, एन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment