Comments Add Comment

वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै दमको रोगीको मृत्यु

१२ जेठ, काठमाडौं । वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै एक जना दमको रोगीको मृत्यु भएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ सखुवाघाटका ५७ वर्षका बद्रीबहादुर भट्टराईको वीरगञ्जका अस्पतालहरुले उपचार गर्न नमान्दा मृत्यु भएको परिवारले बताएको छ ।

भट्टराईलाई सोमबार बिहानदेखि स्वास प्रश्वासमा समस्या देखियो । पाँच वर्षदेखि दमको औषधि खाँदै आएका उनलाई दाजु हरिबहादुर भट्टराईले एम्बुलेन्समा राखेर वीरगञ्जको तराई हस्पिटल पुर्‍याए ।

करिब पाँच महिनाअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो । त्यसैले बद्रीलाई हरिले सिधै तराई हस्पिटल लिएर गएका थिए । तराई हस्पिटलका डाक्टरले रिपोर्ट हेरेपछि कोरोना आरडीटी परीक्षण गराएर ल्याउनू भन्दै बिरामी नओरालीकन नारायणी अस्पताल जान अह्राए ।

एम्बुलेन्समा सुतेका बद्रीलाई अप्ठ्यारो हुँदै गइरहेको थियो । हरिले एम्बुलेन्स चालकलाई छिटो नारायणी अस्पताल पुर्‍याउन भने । दमको रोगी रहेको थाहा पाएपछि नारायणीले पनि नेशनल मेडिकल कलेजमा लैजान सुझाव दियो ।

नारायणी नजिकै एडभान्स मेडिकेयर अस्पताल रहेकाले उनलाई त्यहाँ पनि जचाउने प्रयास गरे । एडभान्सले पनि नेशनल मेडिकल कलेज नै लैजान सुझाव दियो । यसपछि एम्बुलेन्स मेडिकल कलेजतर्फ हुँइकियो । तर त्यहाँ पुग्दा मेडिकल कलेजको गेट बन्द भएको बद्रीका दाजु हरिले बताए ।

बद्रीलाई तत्काल वीरगञ्ज हेल्थ केयर लगियो । बिरामीको रिपोर्ट हेरेपछि आईसीयू खाली नभएको बताउँदै अन्तै लैजान सुझाव दियो ।

****

बिरामी भाइ लिएर हरि बिहान ११ बजे वीरगञ्ज पुगेका थिए । वीरगञ्जमा रहेका अस्पतालको गेट चाहार्दा चाहार्दै दिउँसो साढे ३ बजिसकेको थियो । तर पनि उनले भाइको उपचार गराउने अस्पताल भेट्न सकेनन् ।

त्यसपछि उनी भाइलाई घरमा नै लिएर जाने निर्णयमा पुगे । एम्बुलेन्समा रहेको अक्सिजन ग्यास पनि सकिन थालिसकेको थियो । उनले भाइको लागि एक थान अक्सिजन ग्यासको सिलिण्डर पनि खरिद गरे । दिनभर वल्लो अस्पताल र पल्लो अस्पताल डुलाउँदा डुलाउँदै भाइले सदाको लागि यो संसार छाडिसकेको उनले पत्तो नै पाएनन् ।

भाइको मृत्यु विश्वास गर्न नसकेपछि फेरि एम्बुलेन्स तराई हस्पिटलतर्फ नै मोडियो । तराई हस्पिटलले बद्रीको मृत्यु भइसकेको घोषणा गर्‍यो ।

‘मेरो भाइले समयमा नै उपचार पाएको भए मर्नु पर्थेन । कोरोना त्रासको शिकार बन्न पुग्यो मेरो भाइ । जति पनि अस्पताल गएँ । सबैले कोरोना संक्रमणको आशंकामा भर्ना लिन मानेनन् । मैले भाइको सबै रिपोर्ट हातमै बोकेर गएको थिएँ । तर त्यो रिपोर्टप्रति कसैले विश्वास गरेन’ उनले दुखेसो गरे ।

****

‘मेरो भाइलाई कोरोना नभएको सर्टिफिकेट मैले दिने हो ?’ उनी प्रति प्रश्न गर्छन्, ‘दमको रोगी हो भन्ने रिपोर्ट त मैले बोकेर गएकै थिएँ । तर त्यसको मान्यता भएन ।’

अस्पतालमा भर्ना गराउन आरडीटीको सर्टिफिकेट चाहिने हो भने त्यसको प्रक्रिया अस्पतालले नै सुरु गर्नुपर्ने भट्टराईले बताए । ‘उपचार लागि अस्पतालको ढोका चाहार्दा चाहार्दै मेरो भाइले अकालमै ज्यान गुमाउनु प¥यो । यसको जिम्मेवारी कसले लिन्छ ?’ हरिले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment