+
+
Shares
कपिलवस्तुका सीडीओ भन्छन् :

‘रिपोर्ट ढिलो हुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थाले’

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १३ गते १२:०१

१३ जेठ, बुटवल । कोरोना परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् ।

१४ दिनको बसाइ पूरा गर्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका प्रमुख जिल्ला अधिकारी दर्घनारायण पौडेलले बताए ।

सोमबार राति साढे ९ बजे कपिलवस्तु नगरपालिका वडा– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ४२ जना १४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आक्रोशित हुँदै क्वारेन्टाइन छाडेर घर गएका थिए ।

‘क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसक्यो, स्वाबको नमूना लगेको पनि कसैको आठ दिन, कसैको पाँच दिन पुग्दा पनि रिपोर्ट नआउँदा छटपटी लाग्नु स्वाभाविक हो’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘प्रदेश ५ को प्रयोगशालालाई धेरै नै चाप भयो, त्यसैले पनि जाँच गरेर रिपोर्ट पठाउन ढिला भयो होला तर क्वारेन्टाइनमा बस्नेहरुले यो कुरा भनेर मान्ने अवस्था भएन ।’

देशभरका क्वारेन्टाइनमा बसेकामध्ये आधा भन्दा बढी संख्या प्रदेश ५ मा रहेकाले यहाँ कोरोना परीक्षणको दायरा बढाउनुपर्ने प्रजिअ पौडेलले आवश्यकता औंल्याए । १४ दिन क्वारेन्टाइनमा बसिसक्दा समेत प्रयोगशालाले कोरोना टेस्टको रिपोर्ट दिन नसक्दा क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती आएको उनले बताए । ‘भारतबाट फर्केर क्वारेन्टाइनमा बस्न आउने क्रम झन् बढ्दैछ’, उनले भने–‘प्रदेश र संघीय सरकारको तत्काल ध्यान जानुपर्‍यो अन्यथा क्वारेन्टाइनहरु सम्हाल्न गाह्रो हुन्छ ।’

जिल्लामा करिब ६५ सय जना क्वारेन्टाइनमा रहेका र अनुमानित चार हजार जनाको पीसीआर परीक्षण गर्नुपर्ने उनले बताए । मुम्बई र महाराष्ट्रबाट आएकाको पीसीआर नै गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

भागेका सबै बिहान फर्काइए

सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज (मंगलबार) बिहान ५ बजेसम्म फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनीहरुको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने उनले बताए । कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।

उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?