Comments Add Comment

गण्डकीमा अझै बढ्न सक्छन् संक्रमित, प्रदेश सरकार भन्छ–चिन्ता नलिनू !

जनप्रतिनिधिलाई क्वारेन्टाइन बनाउन हतार, स्थानीय त्रसित

१४ जेठ, पोखरा । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बडिगाड गाउँपालिकाबासी त्रसित छन् । अर्कोतर्फ भारतबाट ल्याइएका गाउँवासीलाई राख्न क्वारेन्टाइनको व्यवस्था गर्न जनप्रतिनिधिलाई हतार छ ।

सुरुमा ३० जनाका लागि बनाएको क्वारेन्टाइनले भ्याउनेभन्दा धेरै मानिस भारतबाट ल्याउनु परेपछि अहिले क्वारेन्टाइन तयार गर्न रात दिन लाग्नुपरेको अध्यक्ष मेहरसिंह पाइजा बताउँछन् ।

‘न सुत्ने फुर्सद न खाने । क्वारेन्टाइन भरिभराउ भएपछि नयाँ बनाउन सबैको टाउको दुखाइ बनेको छ । तर, जनप्रतिनिधि भएपछि बनाउनैपर्‍यो,’ अध्यक्ष पाइजाले सुनाए, ‘एकातिर स्थानीय त्रसित अर्कोतर्फ क्वारेन्टाइन बनाउन भ्याइनभ्याइ छ । यस्तै छ हजुर बडिगाडको हालखबर ।’

बडिगाडमा अहिले २ सय १३ जना क्वारेन्टाइनमा छन् । ५३ जनालाई भारतीय नाकाबाट उद्धार गरेर ल्याइँदैछ । बुधबार साँझसम्म स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाउनमै खटिइरहनु परेको पाइजाले सुनाए ।

बागलुङकै तमानखोला गाउँपालिकाको अवस्था पनि उस्तै छ । क्वारेन्टाइनमा अहिले धेरै जना त छैनन् तर ६ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित छन् । ‘सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्छौं, नआत्तिनुस् भनेका छौं,’ गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘मान्छे उद्धार गरेर ल्याइरहेका छौं । संक्रमित बढ्न सक्छन्, स्थानीय चिन्तित छन् ।’

बागलुङको बडिगाड, तमानखोला गाउँपालिकामात्र होइन, स्याङ्जाको वालिङ, नवलपुरको बौदीकाली लगायत धेरै ठाउँका वासिन्दा कोरोना संक्रमण देखिएपछि त्रसित छन् ।

भारतीय सीमा क्षेत्रमा अलपत्र मानिसलाई गाउँ ल्याउने क्रम बढेसँगै कोरोना संक्रमण पनि बढ्ने सरोकारवालाले बताइरहेका छन् ।

भारतबाट घर आइरहेकाहरुलाई सुनौली, कृष्णनगर लगायतका नाकाबाट धमाधम उद्धार गरेर ल्याउने क्रम बढिरहेको छ । बुधबारसम्म २ हजारभन्दा धेरैलाई उद्धार गरेर ल्याइएको छ । अझै पनि सीमा अलपत्रहरु बाँकी रहेकाले पालिकाहरुले गाडी पठाएर ल्याइरहेका छन् ।

गत चैतमै बागलुङका २ जनामा कोरोना संक्रमण देखिएर उपचारपछि निको भएर घर गइसकेका छन् । पछिल्लोे चरणमा ११ जनामा कोरोना संक्रमण देखियो । उनीहरु सबै जना भारतबाट ल्याइएकाहरु हुन् ।

भारतबाट उद्धार गरेर ल्याएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर बढ्न सक्ने तर चिन्ता नलिन प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको आग्रह छ ।

नाकामै परीक्षण गर्न सकेनौं : आन्तरिक मामिलामन्त्री

नाकामा अलपत्र परेका नागरिकलाई परीक्षण गरेरमात्र ल्याउनुपर्ने आवाज प्रदेश सरकारहरुले उठाएका थिए । आन्तरिक मामिलामन्त्री चुमानले पनि नाकामै परीक्षण गरेर ल्याउने व्यवस्था मिलाउन संघीय सरकारलाई आग्रह गरेका थिए ।

मन्त्री चुमानले संघ सरकारले नै एक्सन नलिई नाकामै परीक्षण गरी ल्याउन प्रदेशले नसकेको बताए । ‘सकेसम्म पीसीआर, नसके र्‍यापिड टेस्ट गरेर भए पनि नाकामा अलपत्र परेकाहरुलाई ल्याउनुपर्छ भन्ने हाम्रो भनाइ थियो । प्रदेश ५ सँग यो विषयमा छलफल गरी काम पनि अगाडि बढाएका थियौं,’ कानुनमन्त्री चुमानले भने, ‘तर, प्रदेशको पहलले मात्र नाकामै परीक्षण गरेर ल्याउन सकेनौं ।’

प्रदेश ५ सरकारले पनि नाकामा परीक्षण गरेर पोजेटिभ देखिए अस्पताल पठाउने र नेगेटिभ देखिए यता पठाइदिने भनेको तर ठूलो संख्या भएकाले त्यो सम्भव नभएको चुमानले जानकारी दिए ।

‘अब नाकाबाट जुन गाडीमा आउँछन्, त्यसैमा सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राख्ने र पीसीआर टेस्ट गर्ने भनेका छौं,’ चुमानले भने, ‘सुरक्षित हिसाबमा ल्याउने र सतर्कता अपनाउनेबाहेक अर्को विकल्प भएन ।’

नाकाबाट ल्याएर पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणको दर बढे पनि नआत्तिन उनले आग्रह गरे । ‘परीक्षण गर्दा संक्रमितको संख्या पनि बढ्न सक्छ । तर, फैलिन नदिन सरकारले काम गरिरहेकाले आत्तिनु पर्दैन, सतर्क बने पुग्छ,’ चुमानले भने ।

परीक्षण बढाउछौं चिन्ताले नगल्नू !

भारतका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याउने क्रम बढेसँगै पीसीआर परीक्षण बढाउनुपर्ने सरोकारवालाले आवाज उठाइरहेका छन् । प्रदेश भित्रने संख्याको अनुपातमा पीसीआर परीक्षण नहुँदा जोखिम बढेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा भने कोरोना संक्रमण परीक्षण गर्न पीसीआर परीक्षणलाई तीब्र पारेको बताउँछन् । ‘प्रत्येक जिल्लामा स्वाब लिने पर्याप्त जनशक्ति तयार पारेका छौं । किट पनि पर्याप्त छ, आत्तिनु पर्दैन’ उनले भने ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म २२ सय ३६ जनाको कोरोना परीक्षणका लागि स्वाब लिइएको छ । तर, पछिल्लो केही दिनयतामात्र २ हजारभन्दा बढी संख्यामा भारतबाट मानिसहरु आएका छन् । ती सबैको स्वाब लिएर परीक्षण गर्नुपर्ने सरकारलाई चुनौती छ । तर सबैको परीक्षण गर्न पुग्ने किट रहेको शर्मा बताउँछन् । ‘हामीसँग अहिले सबैको परीक्षण गर्न पुग्ने किट, पीपीई र जनशक्ति छ’ उनले भने ।

प्रदेश प्रयोगशालाकी प्रमुख सपना सुवेदीका अनुसार बुधबारमात्र डेढ सय जनाको परीक्षण गरिएको छ । ‘सबैको नतिजा आउन बाँकी छ । तर, कोरोनोको पीसीआर परीक्षण दर धेरै बढेको छ,’ सुवेदीले भनिन्, ‘कम्तीमा १ हजार ५ सय जनाको पीसीआर परीक्षण गर्न सकिने किट हामीसँग छ ।’

प्रदेशमा व्यक्तिगत सुरक्षा सामग्री पनि पर्याप्त रहेको प्रदेश आपूर्ति प्रमुख खीमबहादुर खड्काले जानकारी दिए । ‘संघीय सरकारबाट प्राप्त पीपीई अझै ४ सय वटा मौज्दात छ । ३ हजार ३ सय प्रदेश सरकारले नै खरिद गरेको छ,’ खड्काले भने, ‘पीपीईका सम्बन्धमा आत्तिनुपर्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment