Comments Add Comment

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : कति छ यथार्थ ?

विश्व कोरोना महामारीमा जुधिरहेको छ । यसको रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको पनि दुई महिना नाग्यो । समाजका हरेक तहतप्का यो कहरबाट प्रभावित भइरहको यो परिप्रेक्षमा सोमबार प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरी नागरिकलाई स्वास्थ्य, शिक्षा, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारको वैकल्पिक योजनाबारे जानकारी दिएका छन् ।

उनले विषम परिस्थितिमै पनि नागरिकका गतिविधिलाई अब ठप्प हुन नदिनेगरी योजना ल्याउने संकेत गरेका छन् । अबको समयमा राज्यले लिने सम्भावित कदमहरूबारे उनले चर्चा गरेका छन् । यो आलेखमा हामी प्रधानमन्त्रीको सम्बोधनले शिक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्नेछौं ।

कोरोना सधैंका लागि रोकिने तत्काल कुनै सम्भावना नदेखिएपछि विकल्पमा जानु बाध्यकारी नै भएको छ । बाल मस्तिष्कहरूलाई सिप सिक्ने अवसरबाट लामो समय विमुख गराउन सकिँदैन र हुँदैन पनि । तर, स्कुल नै जाने माहोल पनि सन्निकटमा देखिएको छैन । अब यो अवस्थामा हामीसँग विकल्पहरू साँघुरिएका छन् । एकातिर एस.ई.ई. परीक्षा, कक्षा ११ र १२ का परीक्षाहरू पनि अनिश्चयमै छन् । यसको पनि विकल्प खोज्नु अपरिहार्य भइसकेको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा एस.ई.ई. परीक्षाका बारेमा प्रष्ट कुरा उठाएका छन् । उनले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको स्वीकार गरेका छन् । विकल्पको बारेमा भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रवन्ध मिलाउने भनेका छन् । तर, एसईईका परीक्षार्थीको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिने कुरा प्रष्ट पारेका छन् । त्यसो भए अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग के-कस्ता विकल्प होलान् त ?

परीक्षा लिने अवस्था नरहेको भनेर प्रधानमन्त्रीले भनिसकेपछि अब परीक्षाको ‘नयाँ मोडल’बारे बहस अनावश्यक भयो । अबको विकल्प भनेको एस.ई.ई. र ११ कक्षाका दुवै परीक्षा नलिएरै पनि विद्यार्थीलाई कक्षा चढाउँदा हुन्छ । पूरै वर्ष पढेका छन् । सिक्नु पर्ने सिप सिकेका छन् । अन्य परीक्षा दिएका छन् । अरू, के योग्यता चाहियो र ? माथिल्लो कक्षामा रुचि र क्षमताअनुसारकै संकायमा भर्ना होलान् । त्यसैले यो वर्ष कक्षा दशका आफ्ना विद्यार्थीको मूल्याङ्कन विद्यालयलाई नै गर्न लगाई स्थानीय सरकारको शिक्षा विभागबाट अनुमोदन गराउँदा कसो होला ?

यस समय कक्षा दशको परीक्षालाई ‘फलामे ढोका’ हुन नदिने हाम्रो पूर्वयोजना लागु गर्ने अवसर पनि हो । यसपछि कक्षा दशमा कहिल्यै पनि फलामे ढोका नराख्ने थिति बसाल्ने बनाउन सकिन्छ । यसपालिबाट सुरु गरेर यस्ता ‘अनावश्यक’ परीक्षाको कर्मकाण्ड अन्त्य गरौं । उनीहरूको मुख्य मूल्याङ्कन कक्षा १२ मा पुगेर गर्दा पनि हुन्छ ।

प्रधानमन्त्रीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ‘भर्चुअल क्लास’को कुरा पनि उठाएका छन् । उनले भनेका छन्, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले भर्चुअल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउने छ ।’

शैक्षिक वर्ष खेर जान नदिने सरकारको कुरा सकारात्मक नै छ । तर, यसका लागि पठन/पाठन सञ्चालन कसरी गर्ने भन्ने कुरा हचुवाकै भरमा टुङ्गिने विषय हैन । के प्रधानमन्त्रीले भने झै अब भर्चुअल क्लास निर्विकल्प नै हो त ? अनि, सामुदायिक विद्यालयका कति प्रतिशत विद्यार्थी यस्तो क्लासको पहुँचमा होलान् ? प्रधानमन्त्रीले यसको लेखाजोखा गरेर बोलेझैं देखिँदैन । त्यसमाथि पनि प्रविधिको प्रयोग गरी गरिने कक्षा सञ्चालन कति प्रभावकारी होला ? भर्चुअल क्लासबाहेक अब हामीसँग अरू केही विकल्पै छैनन् त ?

कोरोनाको महामारीपछि राजधानीका केही नाम चलेका महँगा निजी विद्यालयले यस्तो भर्चुअल क्लासको अभ्यास गरेका छन् । उनीहरूले सबै शिक्षकलाई घरमै इन्टरनेट र ल्यापटप आदिको व्यवस्था मिलाइदिएपछि केहीदिन तालिमको पनि व्यवस्था गरे ।

यसरी पहिल्यैदेखि प्रविधिमा अभ्यस्त भएका शिक्षक र विद्यार्थी भए पनि ती स्कुलका अनुभव खासै राम्रा छैनन् । उनीहरूका अनुसार त्यस्ता कक्षा बढीमा एक चौथाइ मात्र उपयोगी देखिएका छन् । तर, हामी सामुदायिक विद्यालयको कुरा गर्दैछौं ।

दुरदराजका विद्यार्थी बारे पनि बहस गर्दैछौं । जीवनमै विद्युत् नदेखेका विद्यार्थीहरू कसरी भर्चुअल क्लासमा अपग्रेड होलान् ? प्रविधिमै पहुँच भएकाहरूका लागि पनि बच्चाको नाममा ‘डेडिकेटेड’ कम्प्युटर वा मोबाइल उपलब्ध होला ? भएछ भने पनि इन्टरनेटले थेग्ला ? यी र यस्ता धेरै प्रश्नहरू छन् । तत्काल सीमित विद्यार्थीबाहेक अन्यको हकमा यो पूरै असम्भव छ । टि.भी., रेडियोबाट कक्षा सञ्चालन गरी त्यो एकतर्फी मात्र हुन्छ । यस्तो कक्षा अहिले पनि चलेको छ । के दियो त यसले परिणाम ? समीक्षा गरौं ।

बरु हामीसँग पठनपाठनको परीभाषा नै बदल्न सकिने अवसर आएको छ । पढ्ने भनेको कक्षाकोठाको चार भत्ताभित्र मात्र हुन्छ भन्ने भ्रम हटाऔं । अध्ययन खेतबारी, गोठ, भान्सा, वातावरण जता पनि हुन्छ । अध्ययन भनेको जीवन जिउने कला सिक्ने हो । सिप सिक्न स्कुलभन्दाबाहिर झन् धेरै अवसर छ । कृषिमा डिग्री गरेकाले हलो जोत्न नजान्न पनि सक्छन् । तर, खेतमा हिलो टेकेकोले त्यो सिक्न पाउँछ ।

यस्तो कुरामा मध्यस्थ गर्न शिक्षकलाई कलस्टर बनाएर परिचालन गर्न पनि सकिन्छ । बरु, किताबी ज्ञान नै सिकाउन परे पनि यस्ता शिक्षक कलस्टर उपयोगी हुन सक्छ । विद्यालय वा कतै कार्यपत्र तयार गरी विद्यार्थीलाई यस्ता कलस्टर शिक्षकले बाँड्न सक्छन् । अनि विद्यार्थीले गरेको काम पनि यिनैबाट परीक्षण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment