Comments Add Comment

बिसे नगर्चीले परिकल्पना गरेको गणतन्त्र

दोस्रो पटकको नुवाकोट हमलामा पनि पराजय व्यहोरेपछि गोरखा राज्यमा ठूलोे आर्थिक सङ्कट आइलाग्छ । विपन्न पहाडी राज्यको सारा खरखजना र धनसम्पत्ति सिद्धिएको अनुमान हुन्छ । तर, महत्वाकांक्षी राजाको राज्य विस्तारको उत्कट अभिलाषा यतिमै सेलाउँदैन ।

आवश्यक परामर्श र अर्थ सङ्कलनका लागि चतुर महाराज प्रजाको घरदैलोमा पुग्छन् । यसै क्रममा टाठाबाठा ठानिएका दरबारीया दमाई बिसे नगर्चीको आगनमा राजा आइपुग्छन् । सैन्य सुदृढीकरणका लागि खरखजाना खरिद गर्न आफू वनारस जाने योजना बनाएको तर त्यसका लागि पैसा नभएको कुरा राजाले बिसेलाई सुनाउँछन् ।

महाराज पृथ्वीनारायणको समस्या सुनिसकेपछि बिसे घरभित्र जान्छन् । एकैछिनमा बाहिर आएर ‘लौ काशी जानलाई खर्च’ भन्दै उनले राजाको अगाडि एक रूपियाँ राखिदिन्छन् ।

सुरुमा त आफ्नो अपमान सम्झी राजा बिसेसँग रिसाउन खोज्छन् तर ‘मालिक ! राजा भएर रिस गर्ने होइन, विचार पो गर्नुपर्छ’ भन्दै बिसेले गोरखा राज्यमा कति घरधुरी छन् भनी राजालाई सोध्छन् । राजाले बाह्र हजार घरधुरी रहेको बताउँछन् र बिसेको कुरा बुझिहाल्छन् । त्यसपछि क्याबात् ! बिसे भन्दै अप्ठ्यारोमा आफूलाई उपयुक्त सल्लाह दिएकोमा पृथ्वीनारायण शाहले बिसे नगर्चीलाई स्याबासी दिन्छन् ।

माथिको ऐतिहासिक मिथकमा वर्णित घटनाको अढाई सय वर्षपछि गोरखाली राजाको दरबारमा अर्को एउटा भयानक हत्याकाण्ड मच्चियो । पृथ्वीनारायण शाहको एघारांै पुस्ताका राजा वीरेन्द्रको वंशनाश भयो ।

दाजुको वंश नै नाश भएपछि राजगद्दी पाएका राजा ज्ञानेन्द्रको मनमा आफ्ना पिताले जस्तै प्रत्यक्ष शासन गर्ने भूत सवार भयो । सिंहासनमा बसेको एक वर्षपछि नै उनले असोज १८ को घोषणामार्पmत् शासन सञ्चालनमा प्रत्यक्ष हस्तक्षेप गरे । त्यसको दुई वर्षपछि माघ–१९ को शाही घोषणाबाट उनले राज्यशक्तिको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर निरङ्कुश शासन सुरू गरे । सार्वभौमसत्ता जनताबाट खोसेर पुनः नारायणहिटी राजदरबारमै कैद हुन पुग्यो ।

राजाको निरङ्कुश शासनविरूद्घ सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिए । खोसिएको आफ्नो अधिकार फिर्ता गराउन नागरिक समाज जुर्मुरायो । सञ्चार जगतले लोकतन्त्रको पक्षमा आवाज बुलन्द बनाउँदै लग्यो । देशमा आन्दोलनको माहोल तात्दै गएको थियो ।

जनताको आन्दोलनमा कवि, लेखक, कलाकारहरूले पनि ऐक्यबद्धता जनाउन थालेका थिए । भोजपुरबाट कविता खोज्दै काठमाडौं आएका श्रवण मुकारूङ पनि आन्दोलनमा मिसिन थाले । निरङ्कुश राजतन्त्रविरूद्धको आन्दोलनमा सहभागी हुँदैगर्दा उनलाई ‘म कवि हुँ, मैले कविताबाट आन्दोलनमा बल पु¥याउनुपर्छ’ भन्ने लाग्न थाल्यो ।

आफ्ना रचनामा आवाजविहीनहरूको आवाज उठाउने कविले सीमान्तकृत समुदायको स्वर बुलन्द गर्न सकिने बलियो विम्बको खोजी गरे । विम्ब खोज्दै जाँदा दुई वर्षअगाडि आफ्नो ससुराली गाउँ गोरखा गएको सम्झिए । त्यसैक्रममा गोरखा दरबार घुमेको सम्झिए । गोेरखा दरबारसँग गाँँसिएका अनेकौं प्रसंगहरू सम्झिए र सम्झिए ‘बिसे नगर्ची’ । आन्दोलनको बीचबाट यसरी एउटा शक्तिशाली कविता जन्मियो ।

गणराज्यको नागरिक बन्न प्रत्येक व्यक्तिमा गणतान्त्रिक चेतना र लोकतान्त्रिक आचरण हुनु जरूरी छ ।

कविता सत्य र सौन्दर्यको उद्घाटन हो । कविताले समाजलाई दृष्टि दिन्छ, राजनीतिलाई दिशानिर्देश गर्छ । इतिहासको विपठन गरेर अन्यायमा परेका पात्रहरूलाई न्याय दिलाउन अग्रसर हुनु कविताको धर्म हो । नेपालको इतिहासमा बिसे नगर्चीको जुन धमिलो विम्ब थियो, त्यसकोे प्रशोधन गरेर ‘बिसे नगर्चीको बयान’ कविता लेखियो । बिसे नगर्चीको परम्परागत परिचयको विनिर्माण कविले यस कवितामा गरेका छन् ।

शासकहरूको पक्षबाट लेखिएको इतिहासमा गौण पात्रको भूमिकामा सीमित बिसेलाई कविले नायकत्व प्रदान गरे । बिसे नगर्चीको व्यक्तित्वलाई समकालीनसन्दर्भसँग जोडेर उसमा युगीन चेतना भरिदिए ।

त्यतिमात्र होइन, उत्पीडनविरूद्घ आवाज उठाउने प्रतिरोधी चेतनाका वाहक बिसे नगर्चीलाई बनाइदिए । अढाई सय वर्षअघिको महाराजको आज्ञा पालना गर्ने ‘बिस्या’ अहिले छैनन् । अब उनी आफ्नो पहिचान र प्रतिनिधित्वको दाबी गर्दै प्रभुत्ववादका विपक्षमा उभिन सक्ने ‘जनता’भए ।

नयाँ राजालाई बिसेले रावणको रूपमा देख्न थाले । शक्तिको केन्द्रमा रहेको राजसंस्थाकै कारण आफूहरू किनारीकृत हुनुपरेको महसुस गर्दै अहिलेका बिसेहरूले राजतन्त्रविरूद्ध विद्रोहको शङ्खघोष गरे ।

कविता मानिसले पाएको भाषाको सर्वोत्कृष्ट रूप हो । सामान्य वा रूढ अभिव्यक्ति कविता हुँदैन । अभिव्यक्तिको अनौंठो, आकर्षक र नवीन ढाँचा कविता हुने भएकाले शैलीको यसमा विशेष महŒव रहन्छ । ‘बिसे नगर्चीकोे बयान’ कवितामा यसको प्रमुख पात्रले आफ्नो कुरा आफ्नै लवजमा व्यक्त गरेकाले कवितात्मक अभिव्यक्ति स्वाभाविक र मार्मिक बनेको छ ।

प्रतीकात्मक संरचना र सम्बोधनात्मक शैलीमा संरचित यस कविताले बिसे नगर्चीलाई एउटा विद्रोही पात्रका रूपमा प्रस्तुत गरेको छ ।

यो कविता सर्वप्रथम ‘स्वतन्त्र रेडियो बचाउ अभियान’को कार्यक्रममा वाचित भयो । त्यस्तै पहिलो पटक साप्ताहिक म्यागजिन ‘नेपाल’मा प्रकाशित भयो । त्यसपछि विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट पटक–पटक प्रकाशित–प्रसारित भइरह्यो । अनेकौं कार्यक्रममा वाचन हुँदै गयो । विद्रोहकोे मूल मर्म बोकेको यस कविताले आन्दोलनकारीलाई प्रेरित गरिरह्यो ।

अङ्ग्रेजी स्वच्छन्दतावादी कवि पी.बी. सेलीले ‘तीव्रतम दुःखका कथा नै सबैभन्दा मीठो गीत हो’ भनेका छन् । अन्ततः ‘बिसे नगर्चीको बयान’ कविता सीमान्तकृत समुदायका लागि मुक्ति–गीत जत्तिकै प्रिय बन्यो ।

यससँगै जनआन्दोलनले सफलता प्राप्त ग¥यो र निरङ्कुश राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी भयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरी देश अब अगाडि बढ्यो है !’ पनि भन्न थालियो तर अहिलेका बिसे नगर्चीहरू फेरि पनि पछाडि नै छुटिरहे ।

बिसे नगर्चीहरूलाई जहाँको त्यहीँ छाडेर अगाडि बढेको यो गणतन्त्र साँच्चिकैको गणतन्त्र हो त ? गणतन्त्रको असली अनुहार यस्तै हुन्छ ? अनेकौं प्रश्नहरू उब्जिएका छन् । अब यी प्रश्नहरूको उत्तर खोज्ने बेला भएको छ ।

सामान्यतः राजतन्त्र विपरीतको राजनीतिक व्यवस्थालाई गणतन्त्र भनिन्छ । जहाँ जनताकै बीचबाट राष्ट्राध्यक्ष चुनिन्छन् । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट शासन व्यवस्था सञ्चालन हुन्छ । के यति मात्रै हो त लोकतान्त्रिक गणतन्त्र भनेको ?

लोकतन्त्र, गणतन्त्र आदि–इत्यादि शासन सञ्चालनका कोरा सिद्धान्त वा राजनीतिक पद्धतिमात्र हुन् ? राज्यको नजरमा हामी नागरिक केवल मतदाता र करदाता हौं ?

मेरो विचारमा यति मात्र गणतन्त्र होइन । वास्तविक गणतन्त्र ‘बिसे नगर्चीको बयान’ कविताले सङ्केत गरेको गणतन्त्र हो । खास लोकतन्त्र बिसे नगर्ची (कविताको पात्र) ले खोजेको जस्तो लोकतन्त्र हो । जसको लाठी उसको भैँसीभन्ने खालको यो व्यवस्था न लोकतन्त्र हो, न त गणतन्त्र नै !

राजतन्त्रलाई हामीले पुरातनवादी मान्यताको संरक्षण गर्ने शक्तिका रूपमा परिभाषित ग¥यौं । यो सामन्तवादको प्रतीक हो, यसको जरो उखेल्नुपर्छ भन्यौं र उखेलेर फाल्यौं पनि । तर, के हामी पुरातनवादी सोचाइबाट मुक्त हुनसक्यौं ? हामी किन मौका पाउने बित्तिकै सोझा–निमुखालाई हेप्न, होच्याउन र शक्तिशाली, सम्पन्नशालीका अगाडि नतमस्तक हुन्छौं ? यो हाम्रो बुर्जुवा चरित्र होेइन र ?

राजनीतिमा स्थापित हुन अरूभन्दा नेताकै छोराछोरीलाई सजिलो किन हुन्छ ? ठूला नेताको निधन हुँदा उनका श्रीमतीले किन ठूलै पद पाउँछन् । गणतान्त्रिक संस्कृति भनेको यही हो ? कथित उपल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण दलित युुवकलाई कुटीकुटी मार्ने बर्बर समाजका सदस्य भयौं हामी ।

पौराणिक राष्ट्रवादको पगरी गुथेका प्रगतिशील हौं, हामी । सामन्ती संस्कार बोकेका गणतन्त्रवादी पनि हामी नै हौं । त्यसैले शाहवंशको विस्थापनलाई मात्र गणतन्त्र मान्न सकिँदैन । बिसे नगर्ची सामन्ती संस्कार विरोधी चेतनाका संवाहक हुन् । उसले परिकल्पना गरेको गणराज्यको नागरिक बन्न प्रत्येक व्यक्तिमा गणतान्त्रिक चेतना र लोकतान्त्रिक आचरण हुनु जरूरी छ ।

संविधानतः देशमा गणतन्त्रात्मक व्यवस्था भए तापनि व्यवहारतः गणतन्त्र देखिँदैन । हाम्रो सोच, शैली र चिन्तनमा गणतन्त्र आउन बाँकी नै छ । राजाको ठाउँमा अहिले राष्ट्रपति छन् तर राष्ट्रपतिको ठाँटबाँँठ राजाको भन्दा कम छैन ।

देशमा अहिले तीन तहको सरकार छ । तीनै तहका सरकार सञ्चालकहरूको आफूलाई ठालु ठान्ने प्रवृत्तिले गणतन्त्र शब्दको खिल्ली उडाएको छ ।

कोरोना सङ्कटको सामना गरिरहेको वर्तमान सरकारले गणतान्त्रिक चरित्र देखाउन सकेको छैन । चीनको वुहानबाट विद्यार्थी ल्याउन सरकारले जहाजै पठायो । युरोप, अमेरिका, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीप्रति प्रधानमन्त्री, राष्ट्रपतिबाटै चिन्ता र चासो प्रकट भयो । नेपाल–भारतको सिमाना हप्तौंसम्म अलपत्र नेपालीप्रति भने सरकार निठुरी बन्यो ।

सबभन्दा गरिब नेपाली भारतमा मजदुरी गर्न जान्छन् । उनीहरू चुनावमा पार्टीलाई चन्दा दिन सक्दैनन् । ठूला नेता, मन्त्री र हाकिमहरूसँग उनीहरूको सम्बन्ध–सम्पर्क रहँदैन । त्यसैले उनीहरू सरकारको प्राथमिकतामा परेनन् ।

लामो बन्दाबन्दीका कारण कति मजदुरको चुलो निभ्यो । भोकले छटपटिँदै भरियाले सडकपेटीमै मृत्युवरण गरेको खबर पनि आयो । सरकारले यसमा दुःख व्यक्त गर्न आवश्यक ठानेन । अनि कसरी यो सरकारलाई गणतान्त्रिक सरकार भन्न सकिन्छ ?

सबाल्टर्न सिद्धान्तकी अध्येता गायत्री चक्रवर्ती स्पिभाकका अनुसार सबाल्टर्नहरूकोे वास्तविक इतिहास र अनुभवको प्रतिनिधित्व गैर–सबाल्टर्नहरूले गर्न सक्दैनन् । ‘बिसे नगर्चीको बयान’ कविताका रचनाकार नेपाली सीमान्तकृत समुदायबाट आएका व्यक्ति भएकाले होला सदियौँँदेखि दबाइएका आवाज,छोपिएका अनुहार र हेपिएका मानिसहरूको अधिकारको दाबी उनले यस कवितामा मार्मिक ढङ्गले गरेका छन् ।

राष्ट्र निर्माणमा सबै जाति र वर्गको उत्तिकै योगदान रहेको तर एउटा जाति र वर्गको मात्र जयगान गाइने गरेको कुराप्रति कवितामा आपत्ति जनाइएको छ । राज्यबाट सबैलाई समान अवसर र सम्मान प्राप्त हुुनुपर्छ भन्ने विचार बोकेको यस कविताले सबै खाले शोेषण र अन्यायको विरोध गरेको छ ।

हिन्दु वर्ण व्यवस्थाले सिर्जना गरेको जातीय विभाजन, जयस्थिति मल्लले कायम गरेको सामाजिक रीतिथिति तथा जङ्गबहादुरले जारी गरेको मुलुकी ऐनबाट लामो समयसम्म प्रताडित वर्ग–समुदायको मुक्तिको गीत बिसे नगर्चीले गाएका छन् । यो कुनै मङ्गलगान वा ऋतुगीत होइन । बरु भुईंमान्छेहरूको दर्दले भरिएको ‘ब्लुज’ हो ।

जबसम्म यो ‘ब्लुज’ देशकोे राष्ट्रिय धुन बन्न सक्दैन; तबसम्म जनउत्तरदायी सरकार र जनमुखी कार्यक्रमको प्रत्याभूति हुँदैन । उत्तरदायी सरकार र जनमुखी कार्यक्रम नभएसम्म देशमा गणतन्त्र आएको कसरी मान्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment