Comments Add Comment

बजेटमा साना व्यवसायीलाई राहत : आयकर र भन्सार महसुलमा भारी छुट

१५ जेठ, काठमाडौं । सरकारले साना उद्योगी र व्यवसायीलाई करका माध्यमबाट भारी छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा भारी छुटको घोषणा गरेका छन् ।

अब साना उद्योगीले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्दा लाग्ने आयकरमा ७५ प्रतिशतसम्म छुट पाउने भएका छन् । २० लाखदेखि ५० लाखसम्म वार्षिक कारोबार गर्ने साना व्यवसायीले आयकरमा ५० प्रतिशत र ५० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीले आयकरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

यसले नवप्रवर्द्धन तथा सानो लगानीबाट व्यवसाय थाल्ने स्वरोजगार व्यक्तिलाई ठूलो सहयोग पुग्ने सरकारको अपेक्षा छ। यस प्रयोजनका लागि आय विवरण भने २०७६/७७ लाई आधार मानिने भएको छ ।

बजेटले आयकर छुटको अवधिसमेत बढाइदिएको छ । लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष पुगेको र महिला उद्यमीबाट सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष पुर्‍याइएको घोषणा अर्थमन्त्री डा. खतिवडाले गरेका छन्।

सरकारले लघु बिमामा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ। २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र भुक्तानीसमेत विद्युतीय माध्यमबाट बुझाउन सक्ने भएका छन्।

घरेलु उद्यमीले आयात गर्ने सामग्रीमा भन्सार महसुल घट्यो

सरकारले लघु उद्यमीलाई आयकरसँगै भन्सार महसुलका माध्यमबाट समेत राहत दिएको छ। अब लघु, घरेलु तथा साना, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले आयात गर्ने मेसिनमा लाग्ने भन्सार महसुल घटाएको छ ।

यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, कृषि फार्म तथा कम्पनीले आयात गर्ने कृषि यन्त्र, उपकरण, धान, मकै गहुँ र तरकारीको बिउ पैठारी गर्दा लाग्ने भन्सार महसुल समेत सरकारले घटाइदिएको छ । सरकारले कृषि उपजको आयातमा भने कडाइ गरेको छ । प्राथमिक कृषि उपजको भन्सार महसुल बढाउने घोषणा बजेटले गरेको छ । आयातित वस्तुमा लाग्ने कृषि सुधार शुल्कसमेत बढाउने नीति सरकारले लिएको छ ।

हवाई, होटल र पर्यटन व्यवसायीलाई आयकरमा छुट

आगामी आर्थिक वर्षमा सरकारले कोरोनाबाट सबैभन्दा बढी प्रभावित होटल, एयरलाइन्स र पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत आयकरका माध्यमबाट छुट दिएको छ । हवाई, यातायात सेवा, होटल, ट्राभल, ट्रेकिङ व्यवसायीले चालु आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट पाउने भएका छन्।

यस्ता व्यवसायीले मूल्य अभिवृद्धि करको विवरण र कर दाखिला गर्ने अवधिमा समेत छुट पाएका छन् । अब चौमासिक अवधिमा यस्तो विवरण र कर दाखिला गर्न सक्ने भएका छन् ।

औषधि उद्योगले ल्याउने कच्चा पदार्थको आयातमा भ्याट छुट

सरकारले स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्न कच्चा पदार्थको आयातमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) मा छुट दिने भएको छ। आयुर्वेदिक औषधिको कच्चा पदार्थ आयातमा समेत भन्सार महसुल घट्ने भएको छ।

सेनिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने घरेलु उत्पादन इथानोल र पीपीईमा लाग्ने अन्तशुल्कमा समेत आगामी आर्थिक वर्षमा छुट हुने भएको छ ।

चुरोट, गुट्खा तथा पान मसला महँगो हुने

सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। त्यसकारण यसको अम्मलीहरूले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ। सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ ।

उद्योगहरूले ल्याउने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने गरी केही वस्तुमा भन्सार महसुल घटाउने निर्णय भएको समेत अर्थमन्त्रीले उल्लेख गरेका छन् । हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ । किनभने सरकारले यी वस्तुको भन्सार महसुल बढाएको छ ।

औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई आयकरमा छुट

आगामी आर्थिक वर्षमा औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई आयकरमा छुट दिने बजेटले घोषणा गरेको छ । यस्तो उद्योगले ५ वर्षसम्म आयकरमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

खानेपानी र सरसफाइ उपभोक्ता समूहले अब आयकर तिर्नु नपर्ने भएको छ । यसअघि आयकर निर्धारण भएको भए त्यसलाई समेत मिनाहा गरेको घोषणा सरकारले गरेको छ ।

गाउँपालिका स्तरमा सञ्चालनमा रहेका सबै सहकारीले समेत अब आयकर तिर्न नपर्ने भएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सञ्चालित कर लाग्ने कारोबार गरेका सहकारीले भने क्रमशः ५, ७ र १० प्रतिशत मात्र आयकर तिरे पुग्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment