Comments Add Comment

आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ बस्न पाएका छन् ।

यद्यपि बालबच्चासँग कति समय बिताइयो भन्ने कुराले त्यती अर्थ राख्दैन, जति कस्तो समय बिताइयो भन्ने कुराले राख्छ । बालबच्चासँग लामो समय विताउँदैमा त्यसलाई महत्वपूर्ण मान्न सकिदैन । बरु, अभिभावकले आफ्ना बालबच्चासँग कसरी समय बिताए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

त्यसो त यतिबेला बालबच्चाले आफ्ना आमाबुवासँग रहेर पनि धेरै कुरा सिकिरहेका छन् । आमाबुवाको काम, व्यवहार, बोली आदि सबै कुरालाई बालबच्चाले अनुसरण गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अभिभावकले ख्याल राख्नुपर्ने कुरा चाहि के हो भने, उनीहरुले यदि खराब व्यवहर गरिरहेका छन् भने त्यसको प्रत्यक्ष असर बालबच्चामा पर्छ । जस्तो कि दम्पतीबीच रुखो बोलीबचन, झगडा, मनमुटाव आदिको असर बालबच्चामा पर्छ । आमाबुवाले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् भन्ने कुरा बालबच्चाले नियालिरहेका हुन्छन् । त्यसैले बालबच्चासँग मात्र होइन, घरका अरु सदस्यसँग पनि आमाबुवाले सन्तुलित व्यवहार गर्न आवश्यक छ ।

बालबच्चालाई उचित संस्कार सिकाउन, राम्रो बानी व्यवहारमा अभ्यस्त गराउनका लागि दम्पतीले पनि आपसमा त्यस्तै व्यवहार गर्न आवश्यक छ ।

एकअर्कामा सम्मानजनक व्यवहार

यदि दम्पतीले एकअर्कामा सम्मानजनक व्यवहार गर्छन्, सुमधुर सम्बन्ध स्थापित गर्छ भने बच्चालाई यसले राम्रो प्रभाव पार्छ । उसले पनि बुवा आमालाई सम्मानजनक व्यवहार गर्न सिक्छन् । तर, दम्पतीले एकअर्कालाई दोषरोपण गर्ने, गाली गर्ने, होच्याउने व्यवहार गर्छ भने बच्चामा पनि नराम्रो बोली व्यवहार विकास हुन्छ ।

कसरी पैसाको उपयोग गर्नुहुन्छ ?

आम्दानी भन्दा खर्च बढी गर्ने, फजुल खर्च गर्ने बानी छ भने बच्चामा बचत गर्नुपर्छ भन्ने भावना विकास हुँदैन । कसरी मितव्यायिता अपनाउने, कसरी बचत गर्ने भन्ने भन्ने कुरा सिक्दैनन् वा बुझ्दैनन् । त्यसैले घरको मासिक बजेट तयार गर्ने, प्राथमिकताको आधारमा खर्च शिर्षक राख्ने जस्ता वानी गर्नुपर्छ, जसबाट बच्चाले सहि ठाउँमा कसरी खर्च गर्ने, कसरी बचत गर्ने भन्ने कुरा सिक्छन् ।

अरुप्रति कस्तो व्यवहार गर्नुहुन्छ ?

जब घरमा कोहि पाहुना आउँछन्, उनीहरुप्रति हामीले कस्तो व्यवहार गर्छौ, त्यो बच्चाले सिक्छन् । यदि अरुलाई सम्मानपूर्वक व्यवहार गर्छौ भने बच्चाले त्यस्तै सिक्छन् । अरुलाई होच्याउने, दुब्र्यवहार गर्ने बानी छ भने बच्चाले पनि अरुप्रति राम्रो व्यवहार गर्न सक्दैनन् ।

आत्मासम्मान सिकाउनुपर्छ, अहंकार होइन

आफ्नो बच्चालाई कहिले पनि आफ्नो पद, पैसा आदिको अभिमान देखाउनु हुँदैन । अरुलाई सानो, गरिब भनेर घृणा गर्ने । आफुलाई विशिष्ठ ठान्ने जस्तो व्यवहारबाट पनि बच्चाले राम्रो कुरा सिक्दैन । यसले उसमा अहंकार पैदा हुन्छ ।

स्पष्ट र सन्तुलित

कुनैपनि कुरामा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्न सक्नुपर्छ । आफ्नो अनुकुलता अनुसार बोली र व्यवहार बदल्ने नगरौं, यसबाट बच्चामा खराब प्रवृत्तिको विकास हुनसक्छ । किनभने तपाई जस्तो गर्नुहुन्छ, बच्चाले त्यस्तै सिक्ने हो ।

अनुशासित जीवनशैली

घरमा खाने, सुत्ने, उठ्ने कुनै टुंगो छैन । ढिलो घर आउने, जुनसुकै बेला भोज आयोजना गर्ने जस्ता बानी छ भने त्यस्तो अनुशासनहिन जीवनशैलीको बच्चामा पनि गहिरो प्रभाव पर्छ । सहि समयमा सुत्ने, सहि समयमा उठ्ने, सहि समयमा खाने जस्ता नियमित तालिका बनाएर त्यसैलाई घर परिवारले पच्छ्याउने हो भने बच्चामा यस्तै बानीको विकास हुन्छ । उसले जीवनभर स्वस्थ्य जीवनशैली अनुशरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment