Comments Add Comment

भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौं : परराष्ट्रमन्त्री

१६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको छ भने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ राजनीतिक नक्सा बनाएको छ । भारतले यो नक्सा स्वीकार्य नहुने बताएको छ र कूटनीतिक संवादबाट समस्या सामाधान गर्न आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताबाटै समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले भने, ‘अहिले औपचारिक वार्ताको ठोस मिति र मोडालिटी तय भइसकेको छैन । हामी निरन्तर टचमा छौं ।’

बैठकमा सांसदहरुले सीमा समस्या समाधानबारे के भइरहेको छ ? नेपालको भूमि फिर्ता आउँछ कि आउँदैन ? भारतले शर्त राखेको सुनिन्छ, के हो ? भन्ने जस्ता प्रश्न सोधेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भूमि फिर्ता गर्ने गरी अगाडि बढिरहेका बताएका छन् । उनले अघि भनेका छन्, ‘हामीले वार्ताको औपचारिक डेट -मिति)को प्रतिक्षा गरिरहेका छौं ।’

सैन्य समाधान खोजेको हो कि ?

समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सीमा समस्या समाधानका लागि कूटनीतिक समाधान खोजेको हो कि सैन्य भन्दै प्रश्न गरे ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद विजय सुब्बाले भारत र चीनको सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु ठेलमाठेल गर्ने गरेको सुनाउँदै नेपालले पनि भारतीय सुरक्षाकर्मीसँग ठेलमाठेल गर्नुपर्ने बताए । ‘सीमा समस्यालाई अन्र्तराष्ट्रियकरण गर्न हामी डराउने परेछौं । भारत र चीनको सीमामा ठेलमाठेल गरेको आइरहन्छ । हाम्रोले पनि ठेलमाठेल गर्दा हुन्छ । ठेलाठेल गरेपछि त अन्र्तराष्ट्रियकरण पनि हुन्छ’ सांसद सुब्बाले भनेका छन् ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले कुटनीतिक माध्यमबाटै समाधान चहिरहेको बताए । ‘सैन्य समाधान खोजेको हो कि कूटनीतिक भन्ने जस्त्ाा पब्लिक खपतका कुरा नगरौं । हामी कूटनीतिक वार्ताबाटै समाधान खोज्छौं’ ज्ञवालीले भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वार्तामा बस्ने नेपाली पदाधिकारीहरुलाई भारतीय समकक्षीसँग कुरा गर्दा हिन्दीमा नबोल्न सुझाव दिए । नेपालीहरुले हिन्दीमा बोल्दा पनि भारतले हेपेको भन्दै उनले भने, ‘भारतसँग अंग्रेजीमा कुरा गरौं । आउँदै भने सिकौं, दक्ष बनौं । नापीका कर्मचारीदेखि उच्च अधिकारीसम्मले हिन्दीमा नबोलौं ।’

बैठकमा अधिकाशंले भारतसँग झुकेर प्रस्तुत नहुन सुझाएका छन् ।

भारतसँग डराएको हो कि भन्ने आशंका व्यक्त गर्दै नेकपा सांसद लालबाबु पण्डितले भने, ‘वार्तामा बस्दा नेपाली पदाधिकारीहरु अलि डराए जस्तो भएको हो कि ? विभिन्न लाभमा लोभिने पर्ने र त्यसबाट मनौवैज्ञानिक असर परेको हो कि !’

छलफल चलिरहँदा नेकपाका सांसद झपट रावल बीचैमा बोले, ‘प्रधानमन्त्री छोडेर राजदूत हुने देश पर्‍यो के गर्ने ?’

रावलले सीमामा पर्खाल लगाउनुको विकल्प नरहेको बताए । ‘हाम्रा नागरिकहरु पारी जाँदा रोकतोक हुने, यताबाट आउँदा सहज भन्ने हुँदैन । अब सीमामा पर्खाल लगाउनुको विकल्प छैन ।’ उनले भने ।

सांसदहरुले दार्चुलाको टिंकरमा भन्सार कार्यालय स्थापना गर्न सरकारलाई सुझाव दिएका छन् । टिंकरमा विगतमा रहेको भन्सार कार्यालय तत्कालिन माओवादी सशस्त्र युद्ध सुरु भएपछि बन्द भएको थियो ।

त्यसलाइ पुर्नस्थापना गर्नुपर्ने कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले बताए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले टिंकरमा भन्सार कार्यालय स्थापना गर्न तयारीलाई अगाडि बढाउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment