Comments Add Comment

सरकारले पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाउने

१६ जेठ, काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् ।

यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्नेछ । भन्सार महशुल बृद्धिसँगै सरकारले अब निगमसँग वाषिर्क २० अर्ब रुपैयाँ राजश्व बापत रकम लैजाने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘गत वर्षको पेट्रोलियम पदार्थको वाषिर्क खपत २० लाख किलोलिटरलाई आधार मान्दा सरकारी खातामा सो बराबर वा केही बढी राजस्व जाने देखिन्छ’ कार्यकारी निर्देशक पौडेलले भने । पेट्रोलियम पदार्थमा बढेको भन्सार शुल्कले सीमापारिको मूल्य अन्तरको खाडललाई भने केही हदसम्म चिरेको पौडेलको भनाइ थियो ।

घट्यो हवाई इन्धनको मूल्य

सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

‘विहीबार रातीदेखि नै लागू हुनेगरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, पेट्रोल र मटीतेलको मूल्य यथावत राखिएको छ,’ निगमका प्रवक्ता विनितमणी उपध्ययले भने ।

घटेको मूल्यअनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कामय भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८६८ डलर कायम भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको विहीबार घोषणा गरेका थिए । उनका अनुसार यो सहुलियत दिँदा सरकारले सबा अर्व रकम गुमाउँछ ।

तत्काल इन्धनको मूल्य बढ्दैन

डिजेल, पेट्रोल र पटितेलको भन्सार शुल्कमा वृद्धि गरिएपछि इन्धनको मूल्य बढ्न सक्ने आकलन गरिएको छ । सामान्य उपभोक्ताको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने इन्धनमा बढाइएको करले मूल्य वृद्धि हुने उपभोक्ता अधिकारकर्मी माधवप्रसाद तिमिल्सिना बताउँछन् ।

‘आज नबढे पनि भोलिका दिनमा यसले समग्र बजारमा महंगी बढाउँछ, सरकारले करका लागि जनताको ढाड सेक्ने काम गर्‍यो,’ तिमिल्सिनाले भने । यता नेपाल आयल निगमले भने तत्काल इन्धनको मूल्य नबढ्ने दावी गरेको छ । कालान्तरमा उपभोक्तामा करको असर पर्ने भएपनि तत्काल इन्धनको मूल्यवृद्धि नहुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment