Comments Add Comment

जहाँ मन बस्छ, त्यही घर

घरसँग हाम्रो भावनात्मक नाता जोडिनुपर्छ । यसका लागि कंक्रिट, काठ वा ढुंगा-माटोको संरचना ठड्याएर मात्र पुग्दैन । त्यहाँ हाम्रो शरीरले सहज अनुभव गर्नुपर्छ, मन रमाउनुपर्छ।

यसैगरी व्यापारिक भवन होस् वा कर्पोरेट हाउस, त्यसले उपभोक्ता, सेवाग्राही र आगन्तुकलाई लोभ्याउनुपर्छ ।

यही मान्यताअनुसार इन्टेरियर डिजाइन अर्थात् आन्तरिक सज्जाको अवधारणा विकास भएको पाइन्छ।

यद्यपि आन्तरिक सज्जा (इन्टेरियर डिजाइन)लाई अहिले त्यति आयमिक रुपमा बुझिएको छैन, जति यसका अवयवहरू फैलिएका छन् । आन्तरिक सज्जा भनेको भित्री सजावट, लिपपोत, फर्निसिङ, लाइटिङ, कलरिङ आदिलाई बुझिन्छ । जबकि आन्तरिक सज्जा केवल भित्री रंगरोगन र सजावट मात्र होइन । यो कला र विज्ञानको यस्तो संयोजन हो । जसले घरको सौन्दर्य मात्र नभएर सहजता र स्वास्थ्यलाई पनि समेट्छ ।

कसरी गरिन्छ आन्तरिक सज्जा ?

कुनै पनि घरको आन्तरिक सज्जा कसरी गरिन्छ त ? कुनै एउटा ढाँचाभित्र रहेर गरिने सजावटको काम नै आन्तरिक सज्जा हो । तर, यतिले मात्र यसको परिभाषा पूरा हुँदैन । आन्तरिक सज्जा भनेको यस्तो कलात्मक व्यवस्थापन हो, जसले घरलाई सहज र सुन्दर बनाउँछ ।

आन्तरिक सज्जाभित्र घरको रंगरोगनदेखि फर्निचर व्यवस्थापनसम्म पर्छ। झ्यालढोकाको पर्दादेखि प्रकाश व्यवस्थापनसम्म पर्छ ।

कुनैपनि घर चाहे त्यो निजी आवासका लागि होस् वा सामुदायिक आवासको वा त व्यापारिक भवन नै। सुरुमा त्यसको संरचनागत ढाँचा अध्ययन गरिन्छ । कसरी बनाइएको छ ? त्यहीअनुसार आन्तरिक सज्जा कस्तो गर्ने भन्ने प्रारम्भिक खाका बन्छ । यद्यपि कुनै पनि भवन, घर, कोठाको बनावट हेरेर मात्र आन्तरिक सज्जा कस्तो गर्ने भन्ने तय हुँदैन ।

घर-परिवारको आवश्यकता

घरको आन्तरिक सज्जा कस्तो बनाउनेभन्दा पनि घर र उनको परिवारको आवश्यक्ता के भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जस्तो घरमूली कुनै कम्पनीमा काम गर्छन् । उनी बिहान चाँडै कार्यालय निस्कन्छन् र राति अबेर फर्किन्छन् । मान्छेहरूसँग सम्पर्कमा रहिरनुपर्छ । घरमै पनि कार्यालयका कतिपय काम गर्नुपर्छ। ल्यापटप चलाउनुपर्ने हुन्छ ।

अब उनको पेशा वा व्यवसायअनुसार घरको आन्तरिक सज्जा उपयुक्त किसिमको हुनुपर्छ । जस्तो कि, आफ्नो फाइलहरू व्यवस्थित गर्न सकियोस् । खोजेको बेला सहजै भेट्न सकियोस् । बेड रुम वा अरू कुनै ठाउँमा बसेर ल्यापटपमा काम गर्न पाइयोस् ।

खासमा आन्तरिक सज्जा भनेको सजावट मात्र होइन, घरमा बस्ने व्यक्तिलाई सहज र आकर्षित बनाउने विधि पनि हो ।

मान्छेको पेसा-व्यवसाय फरक हुन्छ । त्यहीअनुसार उनीहरूको प्रवृत्ति एवं स्वभाव हुन्छ । घरको आन्तरिक सज्जा तयार गरिरहँदा उनीहरूको मनोविज्ञान एवं प्रवृत्ति बुझ्नुपर्छ ।

घरमा साना बालबालिका बस्न सक्छन् । बुढाबुढी बस्न सक्छन् । उनीहरू सबैका लागि अनुकूल सजावट कसरी गर्न सकिन्छ ? फर्निचर कसरी राख्दा सहज हुन्छ ? कस्तो रंगले उनीहरूलाई खुसी र आनन्दित तुल्याउँछ ? यी सबै कुरा बुझेर मात्र आन्तरिक सज्जाको खाका बनाउनुपर्छ ।

घरभित्र जे-जति कोठा हुन्छन्, ती सबैको फरक र आफ्नै किसिमको विशेषता हुन्छ।  ती कोठालाई हामीले भिन्न कामका लागि प्रयोग गर्छौं । साथसाथै ती कोठामा बिताउने समय पनि फरक हुन्छ । यसर्थ सबै कोठालाई एकै ढाँचाबाट सजाउन मिल्दैन ।

वास्तु विज्ञान र आन्तरिक सज्जा

घरको आन्तरिक सज्जामा पनि वास्तु विज्ञानको महत्व रहन्छ । वास्तु भनेको आफैँमा विज्ञान हो । यसले घरको संरचना, सजावट, फैलावट, दिशा आदि सबै कुरालाई त्यसरी नै व्यवस्थित गर्छ, जसरी हामीलाई अनेक किसिमको लाभ मिल्छ ।

आन्तरिक सज्जा र मनोविज्ञान

आन्तरिक सज्जाको महत्व किन छ ? किन मान्छेले घर निर्माणसँगै आन्तरिक सज्जाका लागि ध्यान दिन्छन् ? किनभने घर, कोठा, कार्यालय कुनै पनि स्थानको आन्तरिक सज्जासँग हाम्रो मनोविज्ञानको सम्बन्ध रहन्छ । यति चिटिक्क परेको, रहरलाग्दो, सजिलो किसिमको आन्तरिक सज्जा छ भने हाम्रो मन यसै फुरुंग हुन्छ ।

तर, यता पनि ठोक्किने, उता लड्ने, हिँडडुल गर्दा जतन गरेर हिँड्नुपर्ने, दिक्कलाग्दो खालको आन्तरिक सज्जा छ भने हामी त्यहाँ बस्न सक्दैनौं। हामीलाई भित्रभित्रै त्यसले तनाव दिइरहेको हुन्छ । जस्तो तपाईंको बेड रुपमा एउटा कुर्सी सजाउनुभएको छ, जुन भद्दा देखिन्छ । कोठालाई साँघुरो बनाएको छ । हिँडडुल गर्दा त्यसमा ठोक्किने पनि हुन्छ । तपाईंलाई उक्त कोठामा बस्दा मानसिक तनाव भइरहेको हुन्छ । तर, तपाईंले ठम्याउन सक्नुहुन्न कि कुर्सीको कारण यस्तो भइरहेको छ ।

जस्तो तपाईं कालो रंग पोतिएको कोठामा बस्नुहोस् । त्यहाँ बस्दा तपाईं कस्तो अनुभूत गर्नुहुन्छ ? कति समय त्यहाँ बस्न सक्नुहुन्छ ? पक्कै पनि तपाईंलाई बस्न मन लाग्दैन । किन मन लाग्दैन ? किनभने त्यो कोठाको आन्तरिक सज्जाले तपाईंलाई बाधा गरिरहेको छ ।

वास्तवमा आन्तरिक सज्जासँग हाम्रो मानसिकता वा भावना पनि जोडिएको छ । त्यसैले घर, कोठा, कार्यालय, व्यावसायिक भवन आदिको आन्तरिक सज्जा तयार गरिरहँदा त्यसबाट हामी कति आनन्दित हुन्छौं भन्ने कुरा पनि ध्यान दिनु आवश्यक छ

कस्तो फोटो सजाउने ?

घरको आन्तरिक सज्जा अन्तर्गत फोटो राख्ने पनि चलन छ। तर, राम्रो देखाउनका लागि भित्तामा टाँगिएको वा कतै राखिएको फोटो भद्दा पनि देखिन सक्छ । जथाभावी वा जस्तोसुकै आकारको फोटो त्यति सुहाउँदैन ।

फोटो कस्तो राख्ने भन्ने कुरा महत्वपूर्ण छ।

घरको भित्तामा तपाईंले जस्तोसुकै फोटो राख्न उपयुक्त हुँदैन । फोटो अर्थपूर्ण र सुहाउँदो पनि हुनुपर्छ । मलाई के लाग्छ भने तपाईंले घरमा सजाउने फोटो भनेको आफ्नो फेमेली ट्रि अर्थात वंशको हो । हजुरबा-हजुरआमादेखि नातिनातिनीसम्मका पुस्ताको फोटो सजाउनु उपयुक्त हुन्छ ।

यस्तो फोटो हेरेर हामी रोमाञ्चित हुन्छौं । हामीलाई आफ्नो पूर्खाहरू कस्ता थिए, पुस्तान्तरणसँगै हामी कसरी हुर्कियौं भन्ने कुराको बोध हुन्छ ।

त्यसैगरी आफ्नै मुलुकका प्राकृतिक दृश्यहरु, ऐतिहासिक महत्वका दृश्यहरु भएका फोटो सजाउन सक्छौं । यसले हाम्रा बालबालिकालाई आफ्नो देश कस्तो छ भन्ने कौतुहलता जगाइदिन्छ ।

(इन्टेरियर डिजाइनर अर्चना शाहसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment